देश–समाज विचार/वहस स्थानीय

के नेपाल दंगा फसादमुक्त राष्ट्र बन्न सक्छ ?

सगरमाथा हिमालयको काखमा अवस्थित र भगवान पशुपतिनाथको कृडा भूमि रहेको नेपाल सनातन हिन्दू धर्मावलम्बीहरूको मूल पहिचान भूमिको रूपमा रहँदै आएको छ ।
नेपालमा राजतन्त्रको उन्मूलन पश्चात् नेपाललाई गणतन्त्र र धर्मनिरपेक्ष राष्ट्र घोषणा गरे पछि नेपालका मुस्लिम धर्मावलम्बीहरू र इसाई धर्मावलम्बीहरू पनि राष्ट्रको मूलधारमा समाहित भइसकेको अनुभूति गरिएको थियो भने उनीहरूले आआफ्ना सबै धार्मिक र सामाजिक अधिकारहरूको संरक्षण र पालना गर्न बहुसंख्यक समाजसँग समान अधिकारका साथ घुलमिल गर्ने अवसर पनि प्राप्त गर्ने अपेक्षा गरिएको थियो ।
तर नेपालमा अहिले उत्पन्न भएका साम्प्रदायिक तनावका घटनाहरुले विश्वलाई नै चिन्तित तुल्याइरहेको अवस्था छ । एकातिर देशको शासन व्यवस्था अस्थिर छ र कमजोर राजनैतिक नेतृत्वहरूले देशमा राजनैतिक स्थिरता प्रदान गर्न लगातार असफल भइरहेको छ । नेपालमा देशको कुनै पनि निर्वाचित सरकारले आफ्नो पुरै कार्यकालसम्म शासनसत्ता लाई निरन्तरता दिएर स्थिर सरकार बनाउने परम्परा सम्म बसाल्न सकेका छैनन् ।
यस्तो अवस्थामा नेपालमा हालसालै भएको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको विजय र दुई तिहाईको बहुमतबाट बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारका अगाडि नयाँ नयाँ किसिमका विवादहरू र समस्याहरू सृजना हुँदै गइरहेको देखिन्छ । यस्ता समस्याहरू विस्फोटक रूपमा देश र जनताको अगाडि आउन थालेका छन् र सरकारलाई कमजोर बनाउन तथा असफल राष्ट्र बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अनेकौं किसिमका बाघचाल खेलहरु प्रारम्भ भइरहेको देखिन्छ ।
यस्ता समस्या हरूमध्ये केही समस्याहरू पूर्व सरकारहरूबाट सिर्जित समस्याको रुपमा रहेको छ भने कतिपय समस्याहरू इस्लामिक राष्ट्रहरूबाट सिर्जित अन्तर्राष्ट्रिय समस्याको रुपमा पनि विकराल रूप धारण गर्दै अगाडि बढिरहेको छ । यस्ता समस्याहरूलाई विश्वको बदलिदो राजनीतिक भूगोल र सिर्जित घटनाक्रमहरूको सन्दर्भमा बुझ्नु जरुरी छ । नेपाल भारत बीचको अन्तर्राष्ट्रिय सिमानासँग जोडिएको नेपालको पूर्व मेचीदेखि महाकालीसम्म जोडिएको मधेश तराईको अधिकांश भूभाग अहिले सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, क्षेत्रीय, र जातीय रूपले निरन्तर रूपमा भूराजनीतिक र जनसांख्यिक सङ्क्रमण र अतिक्रमणको सिकार बन्न थालेको छ । मधेशमा कहिले पहाडिया र रैथाने मधेसी समुदायहरू बीचको जातीय द्वन्द्व त कहिले हिन्दू समुदाय र मुसलमान समुदाय बीचको साम्प्रदायिक झैझगडा दंगा फसादको रूपमा परिणत भएपछि सृजना भएको असंवेदनशील अवस्थाले मुलुकलाई कयौँ पटक रगताम्य बनाइसकेको छ र अहिले फेरि पनि देश अप्रत्यासित रूपमा एउटा गम्भीर मोडमा आइसकेको अवस्था छ ।
देशभित्रको जनजीवन रीतिथिति व्यवहार र प्रचलनहरूमा अतिवादी विचारहरूको स्वीकारोक्ति र प्रभाव निरन्तर रूपमा बढ्न थालेको छ । मानिसहरूको बोलीवचन र व्यवहारमा हठधर्मिता कट्टरता र धार्मिक उन्मादका लक्षणहरू देखा पर्न थालेका छन् । आगोको एउटा झिल्कोले जंगल सखाप पारे जस्तै साम्प्रदायिक विचारधाराले सदियौंदेखि समाजमा स्थापित सामाजिक सद्भाव र धार्मिक सहिष्णुता तथा मूल्य मान्यता र परम्परालाई समाजको कमजोरी र नकारात्मक अर्थमा लिन थालिएको छ । अहिले नेपाली समाज मनोवैज्ञानिक रुपमै बिथोलिँदै गइरहेको अवस्था छ । जनता जनता बीचको सद्भाव बिथोलिँदै छ । नेपालमा पनि भारत जस्तै अरबतिरको मरुभूमिबाट आयातित संस्कृति र विचारले नेपालका मूलधारका नागरिकहरूको जनजीवनलाई दिनप्रतिदिन असहज बनाउँदै लगिरहेको छ । संचार माध्यमहरूमा फैल्याइएको भ्रामक समाचारहरूले मानिसका मनोविज्ञान र विचारहरूलाई समेत प्रभावित पार्न थालेको छ । बंगालादेशमा सत्ता परिवर्तन सँगै सुरु भएको हिंसात्मक आन्दोलन र बंगालादेशी हिन्दुहरूप्रति भएको अमानवीय व्यवहार, दमन र जघन्य हिंसाका घटनाहरूले अहिलेसम्म पनि विश्वभरिकै सभ्य समाजलाई चिन्तित तुल्याइरहेको अवस्था छ । बंगालादेशले चिकेन नेकको नामले चिनिने भारत पश्चिम बंगालका नौवटा जिल्ला लाई रोहिंगिया शरणार्थी मुसलमानहरूलाई घुसपैठ गराउने क्षेत्र बनाउने र भारत पश्चिम बङ्गालको सिलिगुडीसम्म मुस्लिमहरूको बर्चस्व स्थापित गर्ने योजनाले भारतलाई चिन्तित तुल्याइरहेको कुराहरूको आलोकमा नेपालमा अहिले चर्किँदै गएको धार्मिक द्वन्दको सन्दर्भमा नेपाल पनि संवेदनशील हुनु अति जरुरी भइसकेको छ ।
पाकिस्तानी र बांगलादेशी अतिवादी इस्लामिक समूहहरूको हर्कत र प्रवेश भारत बिहारको किशनगञ्, अररिया, पूर्णिया र अन्य मुस्लिम बहुल क्षेत्रहरूमा निर्वाध रुपमा भइरहेकोले उक्त समूहहरू भारत र नेपाल बीचको खुला सिमानाको प्रयोग गरेर नेपालभित्र पनि आफ्नो जनसांख्यिक बनोटमा उल्लेखनीय परिवर्तन गराउन लगातार घुसपैठ गरिरहेको खबरहरू लगातार समाचार हरूमा प्रायजसो आइरहन्छ ।
भारतका बंगाल, बिहार, उत्तरप्रदेश र उत्तराखण्डका सिमानाहरूसँग जोडिएको नेपाली भूभाग र बस्तीहरूमा मुस्लिमहरूको कुनै आबादी नै नहुँदा र शून्य उपस्थिति हुँदा पनि त्यहाँ ठूलाठूला मस्जिदहरू र मदरसाहरू निर्माण गरिएका छन् र गरिँदैछन् । कट्टर इस्लामिक मुलुकहरूबाट त्यस्ता संस्थाहरूको आर्थिक सहयोगको लागि निरन्तर रुपमा विदेशी मुद्राहरू नेपालमा भित्रिरहेका छन् ।
उनीहरूले सञ्चालन गरेका मदरसाहरूमा धर्मान्धता र धार्मिक कट्टरताको पाठ पढाइन्छ र सिकाइन्छ । अन्धविश्वास सिकाउने र गैर इस्लामिक व्यक्तिहरूलाई काफिर(शत्रु) भन्ने मुल्ला मौलवी र आम मुस्लिमहरूको लागि राज्यले राज्यकोषबाट हरेक वर्ष हज गर्नको लागि मक्का मदिनाको निःशुल्क यात्रा गर्न खर्चको व्यवस्था मिलाइदिने कार्य गर्ने गरेको छ । यस्ता खाले संस्कृति र विचारको पृष्ठपोषण गर्ने संस्था र समाजले आफ्नो भूमिकाबारे पुनर्विचार गर्नु जरुरी छ ।
आज भोलि कोशी प्रदेशको सुनसरी जिल्लामा अवस्थित कप्तानगञ्ज सँगै सम्पूर्ण मधेस क्षेत्र जलिरहेको छ । सनातन हिन्दू धर्मावलम्बीहरू सडकमा आइसकेका छन् । त्यहाँका सनातन हिन्दु धर्मावलम्बीहरूले सनातन कालदेखि चल्दै आइरहेको आफ्नो सनातन परम्पराहरू र धार्मिक र सामाजिक प्रचलनहरूलाई समेत खुल्ला हृदयले मनाउन सकिरहेका छैनन् ।
सामान्य जस्तो लाग्ने धार्मिक झडप हुँदा प्रहरी प्रशासनले अन्धाधुन्ध गोली चलाउनु परिरहेको अवस्था सिर्जना भएको देखिन्छ । शिवलाई जल चढाउन हिँडेका मानिसले छातीमा गोली थाप्नु परिरहेको छ र जीवन गुमाउनु परिरहेको घटनाहरू घटेका छन् । हिंसालाई थामथुम पार्न सेनाको परिचालन समेत गरिँदा पनि झगडाको बिउलाई कसरी निमिट्यान्न पार्ने भन्ने सन्दर्भमा कसैले पनि विचार पु¥याउन सकिरहेका छैनन् ।
कुनै पनि समस्यालाई अपराधीकरण हुनुबाट रोक्नु प्रहरी प्रशासनको र सुरक्षा निकायहरू तथा नागरिक समाजको जिम्मेवारी पनि हो । हिन्दू समाज एउटा खुला र उदारवादी समाज हो। हिन्दू समाजभित्र अनेकौं विचार र संस्कृतिको मिश्रण छ र यसले सबै विचारधारालाई आदर र सम्मान दिएर आत्मसात पनि गरेको छ । नेपालका मुसलमानहरूको बस्ने देश र जन्मभूमि पनि नेपाल नै हो । उनीहरू पनि उदारवादी र सहिष्णु भएर नै बहुधार्मिक समाजसँग घुलमिल गरेर बस्न पाइराखेका छन् । नेपालका मुस्लिमहरूले पनि कट्टरता सिकाउने व्यक्ति र समूहहरूबाट आफूलाई अलग राख्नु जरुरी छ । त्यस्तो भएमा देशलाई थप चुनौती र समस्या बेहोर्नु पर्दैन। हिन्दु, ईसाई बौद्ध किरात लगायत सबै विचार र दर्शनले राष्ट्रलाई पहिलो स्थान दिएर आफ्नो भूमिका निर्धारण गर्नुपर्दछ र सर्व धर्म समभावको भावनालाई आत्मसात गर्नु पर्दछ ।
मुसलमान आमा र बाबु भएका सन्त कवीर भगवान रामका उपासक थिए। उनी रामानन्द सम्प्रदायका वैष्णव थिए । उनी हिन्दू र मुसलमान समाजमा रहेका रूढीवादी परम्पराहरूको खुलेरै खण्डन गरेका थिए । सन्त कवीर जस्तै रसखान पनि मुसलमान नै थिए, उनी भगवानन कृष्णका उपासक थिए । रसखानले गाएका भजनहरू अहिले पनि मथुरा र वृन्दावनमा भक्तहरूले गाइरहेका भेटिन्छन् । साईबाबा पनि इस्लाम धर्मावलम्बी परिवारमै जन्मिएका थिए, लाखौं करोडौं हिन्दुहरूको आस्था र विश्वास साईं बाबाप्रति अझै जीवित छ । साईं बाबालाई सनातन धर्मप्रति असीम श्रद्धा र विश्वास थियो । अवधी भाषाका कवि अब्दुल रहीम खानखानाका उपदेशमूलक कविताहरू पढेर आज पनि करोडौं हिन्दु मानिसहरूले प्रेरणा प्राप्त गरेका छन् तथा हिन्दु र मुसलमान समाज मिलेर बस्नुपर्ने कुरामा जोड दिइरहेका छन् ।
नेपाल एउटा धर्मनिरपेक्ष राष्ट्रको गरिमा र आदर्श बोकेको राष्ट्र हो। धर्म निरपेक्षता भनेको धार्मिक प्रचलनहरूमा पनि उदार र सहिष्णु भएर एकअर्काको भावनालाई सम्मान दिनु हो । तसर्थ देशको संवेदनशील धार्मिक सामाजिक मुद्दा हरूमा सबै धर्म जाति सम्प्रदाय र विचारका मानिसहरूले विवेकशील भएर होस विचार पु¥याउनु जरुरी छ ।

Author

You may also like