झापा/ प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चारमहिना (चौमासिक)मा ७ प्रतिशत मात्रै पुँजीगत अर्थात विकास खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका अनुसार पहिलो चौमासिकमा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको हो । पुँजीगततर्फ १० अर्ब २८ करोड चार लाख विनियोजन भएकामा कार्तिक मसान्तसम्म ७५ करोड ४८ लाख खर्च भएको प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीले बताए ।
चालुतर्फ विनियोजित १५ अर्ब ८८ करोड ३८ लाख ९२ हजार मध्ये २९ दशमलव २२ अर्थात् चार अर्ब ६४ करोड १७ लाख खर्च भएको उनले जानकारी दिए । समग्रमा चालु आर्थिक वर्ष २०८१/०८२ को कार्तिक मसान्तसम्म जम्मा २० दशमलव ६३ प्रतिशत अर्थात् पाँच अर्ब ३९ करोड ६५ लाख ६१ हजार खर्च भएको प्रमुख कोष नियन्त्रक भण्डारीले बताए । उनका अनुसार समयमै बजेट निकासा हुँदा पनि जिल्लास्थित संघीय कार्यालय तथा स्थानीय तहले अपेक्षित पुँजीगत बजेट खर्च गर्न सकेनन् । यो आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकमा जिल्लाभर ६ अर्ब एक करोड ९८ लाख ८६ हजार राजश्व संकलन भएको छ । यस अवधिमा सबैभन्दा धेरै मेची भन्सार कार्यालय काँकरभिट्टाले चार अर्ब ६२ करोड ८४ लाख राजश्व संकलन गरेको छ ।