शिवसताक्षी/ शिवसताक्षी–७ झापास्थित बाल सेवा आधारभुत विद्यालयले सञ्चालनमा ल्याएको स्कुल बस खरिद अभियानका लागि हालसम्म २५ लाख रुपैयाँ संकलन भईसकेको छ ।
पूर्व शिक्षिका समेत रहेका निर्मला बाँस्कोटा ढुंगाना दम्पत्तीले एक लाख बढी सहयोग गरेपछि २५ लाख पुगेको विद्यालयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीले बताए । हालसालै अमेरिका बस्दै आएकी निर्मला सहित उनका श्रीमान युवराज ढुंगानाले अभियानमा सघाउँ पुर्याउन १ लाख १५ हजार १ सय ११ रुपैया सहयोग गरेको कार्कीले जानकारी दिए । उक्त सहयोग रकमको चेक बुधबार विद्यालयमा पुगेर दाता परिवारका कुमार बाँस्कोटाले हस्तान्तरण गरे ।
रकम हस्तान्तरण कार्यक्रममा विद्याालय व्यवस्थापन समिति, पिटिए तथा शिक्षकहरुको सहभागिता थियो ।
ढुंगाना परिवारले उपलव्ध गराएको सहयोगले स्कूल बस नियमित सञ्चालनमा सघाँउ पुग्ने विद्यालयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीले बताए । उनका अनुसार स्कूल बस खरिदका लागि हालसम्म करिब २५ लाख बढी रकम संकलन भईसकेको र अझै रकम संकलन गर्ने कार्य भईरहेको बताए ।
विद्यालय ब्यबस्थापन समितिका सदस्य प्रेम रोक्काले स्कूल बस खरिद अभियानमा विद्यालयका संस्थापक अध्यक्ष जितेन्द्रराज चेम्जोङ्ग परिवारले १ लाख ११ हजार १ सय ११ रुपैया, झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एलपी सावाँले ६५ हजार ५ सय २५ रुपैयाँ, लिलाराज आङ्देम्बे परिवारबाट ६२ हजार ६ सय १५, पूर्व बिद्यार्थी सुनिल सम्बाहाम्फेले ५४ हजार ५ सय रुपैया, समाजसेवी चापेता शेर्माले ५१ हजार १ सय ५१ रुपैया, पूर्व शिक्षक बलबहादुर राइले ५१ हजार रुपैया र विद्यलयका शिक्षकहरुबाट एक महिनाको खाईपाई आएको तलब उपलव्ध गराईसकेका छन् ।
त्यसैगरी दक्षिण कोरियामा कार्यरत पूर्व बिद्यार्थीहरुबाट २ लाख ४३ हजार, साउदी अरब बस्दैआएका रोशन भट्टराईको पहलमा १ लाख बढि रकम प्राप्त भएको समेत बिद्यालयले जनाएको छ । यसैगरी, स्थानीय शिक्षाप्रेमी, अभिभावक, ब्यबसायीहरु लगायतबाट गरि हालसम्म २५ लाख बढि आर्थिक सहयोग जुटिसकेको विद्यालयका सहायक प्रधानाध्यापक बमबहादुर बुढाथोकीले बताए । शिवसताक्षी नगरकै आधारभूत तह अन्तरगत नमुना बिद्यालयको रुपमा छनौट सो विद्यालयले विद्यार्थी ओसार्न स्कूल बस खरिद गरि दुई महिनादेखि सञ्चालनमा ल्याएको छ । स्कुल बस सञ्चालनमा आएसंगै बिद्यार्थीहरुलाई विद्यालय आउतजाउतमा सुविधा पुगेको छ । २०३० सालमा स्थापना भएको सो विद्यालयमा हाल अङ्ग्रेजी माध्यमबाट पठन पाठन भइरहेको छ भने कक्षा १ र २ मा नगरपालिकाको अनुदानमा ऐच्छिक विषयका रुपमा लिम्बू भाषाको पठनपाठन हुदैआएको विद्यालयका अध्यक्ष गोविन ल्यावगुनले बताए ।