दमक/ नेपाली काँग्रेस दमकको यही भदौ २७ गते हुन गइरहेको नगर अधिवेशनको निर्वाचनमा सभापतिका प्रत्यासी प्रकाश प्रसाईको समूहले पदाधिकारीमा प्यानल उम्मेदवारी घोषणा गरेको छ ।
आफ्ना समूहलाई नजकिएको नगर निर्वाचनमा विजयी गराउने उद्घोषसहित प्रसाई नेतृत्वको समूहले उपसभापतिद्वयमा युवराज (सागर) खनाल र मीना कोइराला , सचिवद्वयमा नवराज ढकाल दिनेश अग्रवाल, सहसचिवमा नवराज न्यौपाने र मणि लिम्बूलाई उठाएको छ । काँग्रेस नेता कृष्ण प्रसाद सिटौला समूह निकट मानिने सो समूहबाट प्रसाईले औपचारिक रुपमा प्यानल सार्वजनिक गर्ने तयारीमा गरेका छन् । उम्मेदवार प्रसाई पार्टीका वर्तमान नगर सचिव तथा दमक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत हुन् ।
यसैगरी नेविसंघका पूर्वजिल्ला सभापति समेत सभापतिका प्रत्यासी पर्शुराम रिजालले पनि आप्mनो समूहबाट प्यानल उम्मेदवारी घोषणा गरेका छन् ।
सो समूहबाट उपसभापति द्वयमा प्रेम भट्टराई, सचिवमा रामचन्द्र अधिकारी ,सहसचिवमा विजय राई र रमुना चापागाईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी पार्टी सभापति रोशन विष्टले आफूसहित सचिवमा दिपेश दाहाललाई सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । सिटौला समूहबाट अलग भएका विष्टले कुनै समूह विना आफू सभापतिमा पुनः उम्मेदवारी दिने तयारीमा लागेका छन् । नगर निर्वाचनमा पार्टीको वडाबाट निर्वाचित वडा सभापतिसहित क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्न पाउने छन् ।