समाचार

नाम चलेका व्यक्तित्वहरु वडामै पराजित

दमक/ नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा झापाका १२ जना पत्रकार सभापतिसहित विभिन्न पदमा निर्वाचित भएका छन् । काँग्रेसको वडा समितिको यही भदौ १९ र २० गते भएको महाधिवेशनबाट झापाली पत्रकार र एक जना मानव अधिकारकर्मीले पार्टीको जिम्मेवारी लिएका हुन् ।
नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका निर्वतमान अध्यक्ष तथा नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष कृष्ण हुमागाँई काँग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । उनी अर्जुनधारा नगरपालिका वडा नम्वर –४ बाट क्षेत्रीय प्रतिनिधिका रुपमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी झापाका सभापति तथा नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय सदस्य लोकराज ढकाल मेचीनगर –१४ बाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् । त्यस्तै पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य रञ्जित परियार अर्जुनधारा –६ बाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् भने मानवअधिकार कर्मी समेत रहेका प्रेस युनियनका सदस्य विष्णु खरेल कनकाई –९ बाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् ।
यसैगरी, नेपाल प्रेस युनियनकी झापा अध्यक्ष इन्दू पूर्वेली विर्तामोड –५ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी छन् भने नेपाल प्रेस युनियन झापाका सचिव डिल्लीराम घोर्साई कनकाई नगरपालिका –३ को क्षेत्रीय प्रतिनिधिका रुपमा चयन भएका छन् । त्यस्तै प्रेस युनियनका सदस्यसमेत रहेका कनकाई नगरपालिकाका मनोज बस्नेत कनकाई नगरपालिका –१ को सभापति बनेका छन्  ।
पत्रकार विष्णु रिमाल मेची नगरपालिका –१२ बाट क्षेत्रीय प्रतिनिधिमा चयन हुँदा विर्तामोड नगरपालिका –४ मा उपसभापतिमा राम पौडेल चयन भएका छन् । त्यस्तै गौरीगञ्ज –१ बाट क्षेत्रीय प्रतिनिधिका रुपमा पत्रकार आत्मराम राजवंशी निर्वाचित भएका छन् । अर्जुनधारा –८ बाट क्षेत्रीय प्रतिनिधिमा पत्रकार कुमार भट्टराई चयन भएका छन् । विर्तामोड –७ को वडा सचिवका रुपमा खेमराज बराल चयन भए भने पत्रकार शेखर सेढाई कमल गाउँपालिकामा भएको निर्वाचनमा सहभागी भएका थिए तर उनी त्यहाँ पराजित  बनेका छन् । त्यस्तै पत्रकार राजेन्द्र गौतम गौरादह –९ को वडामै पराजित बने । उनी उक्त वडाको क्षेत्रीय प्रतिनिधिका रुपमा चुनावी मैदानमा थिए । त्यस्तै पत्रकार नगेन्द्रमणी न्यौपाने दमक–१० बाट क्षेत्रीय प्रतिनिधिमा पराजित हुन पुगेका छन् ।
नाम चलेका नेता वडामै पराजित
नेपाली काँग्रेसको १४ आंै महाधिवेशन अन्तर्गत वडामा सम्पन्न निर्वाचनमा नाम चलेका व्यक्ति नै पराजित बनेका छन् ।
वडामै पराजित हुनेहरु पाँच वर्षसम्म काँग्रेसको कुनै पनि तहमा जिम्मेवारीमा बस्न नपाउने विधानतः व्यवस्था रहेको छ । झापाको विर्तामोडका विभिन्न वडामा उम्मेदवार बनेका काँग्रेस नेताहरु मध्ये पहिलो संसदीय निर्वाचनमा झापा क्षेत्र नम्बर –२ बाट समानुपातिक सांसद बनेका अमृतलाल राजवंशी वडामै पराजित बने । उनले क्षेत्रीय प्रतिनिधिका रुपमा उम्मेदवारी दिएका थिए ।
त्यस्तै विर्तामोडका पूर्वसभापति कपिलमणि शिवाकोटी, काँग्रेस नेता कृष्ण सिटौलाका सहोदर भाइ हरि सिटौला, व्यवसायी राजेन्द्र थापा, विर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष कुमार भट्टराई, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, जिल्ला सदस्य समेत रहेका चन्द्र गिरी वडामै पराजीत भएका छन् । यस्तै दमक १ बाट काँग्रेस महाधिवेशन प्रतिनिधि घनेन्द्रराज योङया, तरुण दलका क्षेत्रीय सभापति समेत रहेका दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ पराजित भएका छन् ।

Author

You may also like