नेपाली चलचित्रले पछिल्ला वर्षहरूमा मनोरञ्जनसँगै सामाजिक यथार्थलाई पनि सशक्त रूपमा प्रस्तुत गर्न थालेका छन् । यही क्रममा प्रदर्शनमा आएको ’गौथली’ चलचित्रले नेपाली समाजमा अझै विद्यमान छाउपडी प्रथा, बालविवाह, अशिक्षा, लैंगिक विभेद र पारिवारिक सम्बन्धका संवेदनशील पक्षलाई मार्मिक ढंगले चित्रण गरेको छ ।
’गौथली’ केवल एउटा चराको नाम होइन, यो स्वतन्त्रता, ममता, संघर्ष र आशाको प्रतीक पनि हो । सानो र निमुखो भए पनि आफ्नो मधुर स्वरले सबैको मन जित्ने गौथली चराजस्तै चलचित्रकी नायिका पनि अनेक दुःख र सामाजिक बन्धनबीच आफ्नो अस्तित्व जोगाउन संघर्षरत देखिन्छिन् । यही प्रतीकात्मक अर्थलाई आधार बनाएर वरिष्ठ चिकित्सक डा. भोला रिजाल ले कथा लेखेका हुन् भने उनका छोरा डा. कपिल रिजाल ले निर्देशन गरेका छन् ।
साउन १ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सिम्रन खड्का, अरुण क्षेत्री लगायतका कलाकारको प्रभावशाली अभिनय रहेको छ । चलचित्रले सुरुदेखि अन्त्यसम्म दर्शकलाई भावनात्मक रूपमा बाँधेर राख्न सफल हुन्छ ।
चलचित्रको मुख्य केन्द्रमा नेपाली समाजमा अझै पनि विद्यमान छाउपडी प्रथा छ । विशेषगरी सुदूरपश्चिम र कर्णालीका धेरै जिल्लामा महिलाहरूले महिनावारी वा सुत्केरी अवस्थामा छाउगोठमा बस्नुपर्ने बाध्यता आज पनि पूर्ण रूपमा अन्त्य हुन सकेको छैन । लोकतान्त्रिक व्यवस्था आए पनि यस्तो अमानवीय परम्पराको अन्त्य गर्न राज्य र समाज दुवै प्रभावकारी रूपमा सफल हुन नसकेको यथार्थ चलचित्रले प्रश्नका रूपमा उठाएको छ ।
चलचित्रकी मुख्य पात्र गौथली बनेकी सिम्रन खड्का ले एक साहसी नेपाली महिलाको पीडा, संघर्ष र आत्मविश्वासलाई अत्यन्त जीवन्त रूपमा प्रस्तुत गरेकी छन् । कक्षा ८ मै विवाह गर्न बाध्य भएकी, पढाइ अधुरै छोड्नुपरेकी र अटिजम भएका श्रीमान्को जिम्मेवारी वहन गर्नुपर्ने परिस्थितिमा पनि उनले हार मान्दिनन् । सासुको दुव्र्यवहार, सामाजिक विभेद र परम्परागत कुरीतिबीच उनले देखाएको धैर्य र साहसले दर्शकलाई भावुक बनाउँछ।
अर्कोतर्फ, अटिजम भएका युवकको भूमिकामा अरुण क्षेत्री को अभिनय चलचित्रको अर्को बलियो पक्ष हो । उनले शारीरिक हाउभाउ, मनोविज्ञान र भावनात्मक अवस्थालाई अत्यन्त स्वाभाविक रूपमा प्रस्तुत गरेका छन् । उनको अभिनयले विशेष आवश्यकता भएका व्यक्तिप्रति समाजले राख्ने दृष्टिकोणमाथि पनि सोच्न बाध्य बनाउँछ ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ ले गाउँका प्रधानाध्यापकको भूमिकामा शिक्षा नै समाज परिवर्तनको मुख्य आधार हो भन्ने सन्देश दिएका छन् । बालविवाहका कारण पढाइ छोड्न बाध्य भएकी गौथलीलाई पुनः विद्यालय फर्काएर एसएलसी उत्तीर्ण गराउने उनको भूमिका प्रेरणादायी छ । चलचित्रले “नारी शिक्षा आजको आवश्यकता“ भन्ने सन्देशलाई प्रभावकारी रूपमा स्थापित गरेको छ ।
चलचित्रको संगीत पनि उत्तिकै सशक्त छ । थानेश्वर गौतम को स्वरमा रहेको “आँखाभरि आँसु पारि रातो घुम्टो ओढी…“ बोलको गीतले चेलीको बिदाइसँग जोडिएको नेपाली समाजको भावनालाई अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरेको छ । यो गीत सुन्ने अधिकांश दर्शक भावुक बन्न पुग्छन् ।
यद्यपि चलचित्रको अन्त्य अत्यन्त कारुणिक मोडबाट अघि बढ्छ, अन्ततः यसले आशा, प्रेम र सकारात्मक सन्देशसहित सुखान्त अन्त्य पाउँछ । यही कारणले ’गौथली’ केवल दुःखको कथा होइन, संघर्षपछि सम्भावित उज्यालो भविष्यको कथा पनि हो ।