:– बाबुराम क्षेत्री –:

दमक । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल तातो बन्दै गएको छ । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र (बालेन) शाह र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीचको प्रतिस्पर्धा जित–हारभन्दा बढी पार्टी गतिविधिले निर्वाचन प्रक्रिया नै अवरुद्ध बनाउने गतिविधि हुन थालेपछि चिन्ता व्यक्त गर्न थालिएको छ ।
गएराति दाङमा एमालेको राष्ट्रिय झण्डा डढाउने र विवादित नाराबाजी गर्ने घटनाले निर्वाचन प्रचारलाई थप तातो बनाएको छ । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाललगायत एमालेसम्बद्ध अन्य विभिन्न संगठनहरुले विज्ञप्तिमार्फत उक्त उच्छृंखल गतिविधिको कडा निन्दा गरेको छ । “यस्ता अराजक कार्य दोहोरिए देशव्यापी प्रतिवादमा उत्रिन बाध्य हुने उनीहरुको चेतावनी छ ।
यद्यपि शुक्रबार दाङबाट खटिएको जिल्ला प्रहरी कार्यालयको टोलीले एकजनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ कालाखोला बस्ने ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरेको हो । घटनासम्बन्धी थप अनुसन्धानसहित अन्य संलग्नको खोजी भईरहेका प्रहरीले जनाएको छ ।
बिहीबार रास्वपा सभापति लामिछानेको स्वागतका लागि आयोजित कार्यक्रमको भीडमा केही अपरिचित व्यक्तिहरूले नेकपा (एमाले) को चुनाव चिह्न अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
उता, रास्वपाले भने घटनामा आफ्नो दलको संलग्नता रहेको भए कारवाही हुने बताएको छ । सभापति रवि लामिछानेले सामाजिक सञ्जाल मार्फत घुसपैठको आशंका रहेको पनि दावी गरेका छन् । पार्टीभित्रकै कोही अराजक व्यक्ति संलग्नता भए कारवाही हुन्छ तर दलको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । आजै रास्वपाले तय गरेका केही स्थानका चुनावी सभाहरु स्थगित गरेको छ । तर ति सभाहरु एमालेसँग जोडिएको घटनाले नभई विशेष कारणवश स्थगित भएको रास्वपा सचिवालयले जनाएको छ ।
त्यसै पनि भिड्ले गर्दा वालेनले स्वतन्त्र रुपमा काम गर्ने वातारण नपाएको गुनासो पोखिएका समाचारहरु आइरहेका छन् । समाचार स्रोतले दिएको जानकारी अनुसार उनले मतदातासँग खुल्ला रुपमा दोहोरो वातचित गर्न पनि भिडको कारणले नसकिरहेको बताइएको छ । केही दिन अगाडि दमकमा रहँदा क्यान्सर पीडित वृद्धदेखि छोराको विदेशमा हत्या भएकी आमासम्मलाई भेटेका बालेन पछिल्ला दिनमा भीड र हुलमुलबाट नै हैरान देखिन्छन् । उनी जहाँ पुग्छन्, समर्थकको भीड, फोटोसेसन र नाराजुलूसले सामान्य संवाद असम्भव बनाउँछ स्रोत भन्छ ।
गत माघ ५ गते जनकपुरमा उनले १० मिनेटको भाषण मात्रै गरे । त्यसपछि धनगढीमा चार मिनेटमै भाषण टुंग्याए । कारण – भिड यति बाक्लो कि मञ्चसम्म पुग्नै मुस्किल । धनगढीको सभामा झण्डा तानातान, अराजक नाराबाजी र चर्का धक्कामुक्कीका दृश्य सार्वजनिक भए । उनका निकटस्थहरूका अनुसार, “उहाँ आफ्नै फ्यानबाट किचेर मार्लान् जस्तो महसुस गर्नुभएको छ ।”
त्यसैले बालेनले अहिले आकस्मिक र गोप्य भेटघाटको बाटो समातेका छन् । गत मंगलबार उनले झापाको चिया बगान क्षेत्रका सुकुमबासी बस्तीमा बिना प्रचार पुगेर स्थानीयसँग छलफल गरे । त्यो कार्यक्रममा पोस्टर थिएन, नाराबाजी थिएन । उनले भूमिहीन, शिक्षा, स्वास्थ्य र सडकका समस्या सुने । सचिवालयका एक सदस्यले भने, “भिडभाडले काम हुन दिँदैन, त्यसैले अब सुटुक्क भेटघाटमा ध्यान गएको स्रोतको दावी छ ।”
बुधबार उनी विराटनगरमा पनि बिना जानकारी पुगे र ‘पर्पलहेज’ होटलमा चार घण्टा बस्दै बेलुकीमात्र काठमाडौं फर्किए । समर्थकहरूलाई पत्तो नै लागेन ।
अब झापा–५ मा चुनावी प्रतिस्पर्धा मात्र होइन, भीड र अराजकताको दबाब पनि बढ्दै गएको छ । एमाले र रास्वपाबीच आरोप–प्रत्यारोप बढ्दै गएको छ । एकातिर झण्डा जलाउने घटना, अर्कोतिर भीडको दिग्दारी – यी सबैले चुनावी वातावरणलाई तातो मात्र होइन, अस्थिर पनि बनाइरहेको छ । राजनीतिक विश्लेषकहरूको भनाइमा, “भिडको शक्ति र अराजकता बीचको सिमाना धमिलो बन्दै गएको छ । निर्वाचनले जनताको मन जित्ने होइन, भिड सम्हाल्ने परीक्षा पनि दिइरहेको छ ।”

Author

You may also like