समाचार स्थानीय

आदिवासी जनजाति सांस्कृतिक महोत्सवको आज उद्घाटन

दमक । नेपाल आदिवासी जनजाति महासंघ दमकद्वारा आयोजना गरिएको आदिवासी जनजाति साँस्कृतिक महोत्सव–०८१ को आज उद्घाटन हुँदैछ ।

उद्घाटन कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानकी उपाध्यक्ष रेसम गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित रहनेछिन् । सो अवसरमा विभिन्न संघसंस्था तथा स्थानीय सरकारका प्रतिनिधिहरूको पनि विशेष उपस्थिति रहनेछ ।

दमक नगरपालिका–७ स्थित सयपत्री टोलको रतुवा खोला किनारमा आयोजना गरिएको महोत्सवले आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति तथा परम्परालाई प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ दमकका अध्यक्ष अम्बर बहादुर कुमालका अनुसार यो महोत्सव दमक नगरमा बसोबास गर्ने विभिन्न आदिवासी जनजातिहरूको संस्कृति, परम्परा, तथा मौलिक परिकारहरूको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो । स्थानीय तहको सहयोग रहँदै आएको भए पनि केन्द्र सरकारबाट आदिवासी जनजाति समुदायको विषयमा अपेक्षित सहयोग प्राप्त नभएको उनको भनाइ छ ।

यस महोत्सवमा विभिन्न १५ जातीय समुदायका कला, संस्कार, परम्परा, भेषभूषा, तथा परिकारहरू प्रदर्शन गरिनेछ । कार्यक्रम अवधिभर विभिन्न सांस्कृतिक झाँकी, नृत्य, गीत, तथा मौलिक परिकार प्रदर्शनी राखिनेछ । विशेष गरी, दमक क्षेत्रमा रहेका आदिवासी जनजातिहरूका समुदायहरूलाई एकजुट गर्दै उनीहरूको मौलिक संस्कृति तथा परम्परालाई उजागर गर्ने अवसर प्रदान गर्ने उद्देश्य राखिएको छ ।

आवद्ध नगरस्तरीय जातीय संस्थाहरुमा तमु ह्युल छोज, किराँत याक्थुङ चुम्लुङ, नेपाल सुनुवार सेवा समाज, नेपाल राजवंशी सेवा समाज, नेपाल उराउ सेवा जाती विकास केन्द्र, नेपाल माझी उत्थान संघ, नेवाः देव दबु, नेपाल तामाङ घेदुङ, नेपाल भुजेल सेवा समाज, किराँत राई यायोख्या, नेपाल सन्थाल सेवा समाज, थारु कल्याणकारी समाज, नेपाल कुमाल सेवा समाज रहेका छन् । 

Author

You may also like