समाचार स्थानीय

मिक्लाजुङ गाउँपालिका-७ मा व्युटिपार्लर तालिम उद्घाटन

मिक्लाजुङ गाउँपालिका ७ नं. वडा कार्यालय मधुमल्ला, मोरङ द्वारा आर्थिक वर्ष २०८१/०८२ को लक्षित कार्यक्रम अन्तर्गत व्युटिपार्लर तालिम कार्यक्रमको उद्घाटन समारोह सम्पन्न भएको छ। सो कार्यक्रम बुधबारका दिन एक भव्य समारोहका बीच उद्घाटन गरिएको हो।

यस तालिम कार्यक्रम चन्द्र सुर्य सिप विकास संस्था, दमक, झापा संगको सहकार्यमा सञ्चालन गरिएको हो। कार्यक्रमको आयोजना मिक्लाजुङ गाउँपालिका ७ नं. वडा कार्यालय, मधुमल्लाले गरेको हो। तालिम एक महिनासम्म सञ्चालन हुनेछ, जसअन्तर्गत ९८ जनालाई व्युटिपार्लर सम्बन्धी व्यावसायिक सीप प्रदान गरिने छ। उक्त संस्थाका अध्यक्ष विष्णु प्रसाद अधिकारीले प्रशिक्षणका बारेमा जानकारी दिँदै यस प्रकारका तालिमहरूले महिला सशक्तिकरण तथा आत्मनिर्भर बनाउने लक्ष्य राखेको बताए।

उक्त उद्घाटन कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबि कुमार राईको प्रमुख आतिथ्य रहेको थियो। वडा कार्यालयका वडा अध्यक्ष शुशिलराज चौहानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। उद्घाटन समारोहलाई थप गरिमामय बनाउन वडा सदस्य पवित्रा विश्वकर्मा, शिक्षा शाखा प्रमुख काशीनाथ खनाल, समाजसेवीहरू तथा स्थानीय व्यक्तित्वहरू उपस्थित थिए। कार्यक्रममा प्रमुख अतिथिले तालिमको आवश्यकता, महत्व तथा यसबाट प्रशिक्षार्थीहरूले पाउने फाइदाका बारेमा प्रकाश पार्नुभयो।

कार्यक्रम सञ्चालन वडा सचिव हरि प्रसाद कोइरालाले गर्नुभएको थियो। उहाँले तालिमको व्यवस्थापन, प्रशिक्षकको दक्षता तथा सहभागीहरूका लागि तालिमबाट आउने अवसरहरूबारे विस्तृत जानकारी गराउनुभयो। तालिमबाट महिला तथा इच्छुक व्यक्तिहरूले सौन्दर्य सेवा क्षेत्रमा नयाँ अवसरहरू प्राप्त गर्न सक्नेछन्।

मिक्लाजुङ गाउँपालिकाले यस प्रकारका व्यावसायिक तालिमहरू सञ्चालन गर्दै आइरहेको छ। यस तालिमबाट महिला सशक्तिकरण, आत्मनिर्भरता तथा स्थानीय स्तरमा रोजगारी सृजनाको बाटो खोल्ने विश्वास व्यक्त गरिएको छ। सहभागीहरूले तालिम पश्चात स्वरोजगार बन्ने अवसर पाउने तथा सीपलाई व्यवसायमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ।

तालिम अवधिभर प्रशिक्षार्थीहरूलाई सौन्दर्य सेवाका विभिन्न पक्षहरू, ग्राहक सेवा, सौन्दर्य प्रसाधनको प्रयोग, हेयर कट, मेकअप, फेसियल, नेल आर्ट लगायतका सीप प्रदान गरिने छ। प्रशिक्षार्थीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिने छ, जसले गर्दा उनीहरूलाई भविष्यमा रोजगारीको अवसर प्राप्त गर्न सहज हुनेछ।

उक्त तालिम कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न वडा कार्यालय तथा चन्द्र सुर्य सिप विकास संस्थाका प्रतिनिधिहरूले आवश्यक व्यवस्थापन तथा समन्वय गरेका थिए। प्रशिक्षार्थीहरू अत्यन्त उत्साहित देखिएका छन् भने स्थानीय समुदायले पनि यस्तो तालिमलाई सकारात्मक रूपमा लिएको छ।

तालिम समापन पछि सफल प्रशिक्षार्थीहरूलाई आर्थिक रूपमा सहयोग तथा उपकरण प्रदान गर्ने विषयमा समेत विचार भइरहेको वडा कार्यालयका अध्यक्ष शुशिलराज चौहानले जानकारी गराउनु भयो।

Author

You may also like