दमक/ रातभर घरघरमा फेरि लगाएर हिंड्ने समुदाय (जोगी)हरु पनि ठगीमा पर्ने गरेको खुलासा भएको छ । दमक–७, सयपत्रि टोलका अर्जुन जोगीले यस्तो खुलासा गरेका हुन । उनले जोगीको पेशामा समेत ठगी हुने गरेको बताए । जोगीहरू रातभरि फेरि फुक्ने परम्परा निर्वाह गर्दै आएका छन्, तर एउटाले राती फेरी लगायो बिहानै अन्य व्यक्तिहरू जोगिको भेषमा आएर दान संकलन गरेर लाने गरेको खुलासा उनले गरे ।
जिल्लाका घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरि लगाइहेका छन् । उनीहरुले फेरि लगाएमा घरको रक्षा हुने र भूत÷प्रेत नआउने जनविश्वास यहाँ रहिआएको छ । वर्षको दुई पटक उधौली र उभौलीअर्थात् कात्तिक र चैतमा जोगीले घरघरमा डुलेर रातभर मन्त्र जप्दै फेरि (बराँठको सिङ) बजाएर फेरि लगाउने चलन छ । फेरी लगाएर मन्त्र जाप गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने जिल्लावासीमा जनविश्वास छ ।
परम्परागत पेशा बचाउन जोगिहरुलाई निकै मुस्किल परेको दुखेसो पनि उनले पोखे । उनले भने– लागु औषध दूव्र्यसनीले राती जोगीहरूको झोला खोसेर खोतल्ने गरेको सुनाए । उनीहरुले झोलामा रहेका विभिन्न सामग्री खोस्ने, फालिदिने गरेको अनुभव पनि उनले सुनाए ।
विशेष गरेर जोगीहरुको मुख्य फेरि लगाउने महिनाका रुपमा कार्तिक र चैतलाई लिने गर्दछन् । यी दुई महिना जोगीहरूको लागि विशेष महिना रहेको पनि उनले बताए । सांस्कृतिक, धार्मिक तथा परम्परागत रुपमा पनि यी दुई महिना आम नागरिकका लागि जोगीलाई दान दिएमा पुण्य प्राप्ति हुने, दुःख, कष्ट हरण हुने विश्वास पनि रहिआएको छ । यी महिना उधौली र उभौलीको रूपमा चिनिन्छन्, जसमा जोगीहरूले विशेष नियम अनुसार फेरि फुक्ने परम्परा निर्वाह गर्छन् । मध्यरातमा घरको चारै सुरमा चारपटक र मुख्य ढोका वा मूल खम्बामा एकपटक गरी जम्मा पाँचपटक फेरि फुक्ने चलन रहेको अर्जुन जोगीले बताए ।
जोगीहरूले बोक्ने झोला (झोली)को पनि छुट्टै विशेषता रहेको छ । हरेक झोली नौ ग्रहसँग सम्बन्धित मानिन्छन । ती झोलीहरूमा चामल, दाल, नुन, तेल, मसला, बेसार, तरकारीजस्ता दैनिक आवश्यक खाद्य सामग्री दिनुपर्ने परम्परा परिमार्जन हुँदै नगदमा परिणत भएको उनले सुनाए ।
समाजमा अहिले जोगीहरूप्रति धारणा परिवर्तन हुँदै गएको देखिन्छ । पहिलेका जोगिहरूलाई मानिसहरूले श्रद्धा, सम्मान र विश्वासका साथ दान दिने गर्थे, तर आजभोली कतिपयले ‘काम गर्न सक्ने उमेर छ, किन मागेर खाने?’ भनेर होच्याउने गरेको दुखेसो पनि उनले गरे ।
हरेक वर्ष चण्डीपूर्णिमाका दिन जोगीहरू भैरुङ्गको पूजामा विशेष रूपमा सहभागी हुन्छन् । एउटै भैरुङ्ग मान्ने जोगीहरू एकै स्थानमा भेला भएर पूजाआजा गर्ने परम्परा रहेकोछ ।
पहिला जोगीहरू मागेरै जिविका चलाउँथे, त्यसैले घरजग्गा हुँदैनथ्यो, नपढे पनि समस्या थिएन । तर अहिलेको समयमा मागेर जीवन चलाउन कठिन बन्दै गएको अर्जुन जोगिले बताए । जोगिहरूले बजाउने “वराँठ” र भैरुङ्गको पनि छुट्टै विशेषता रहेको उनले उल्लेख गरे ।
जोगीहरू प्रत्येक वर्ष जाने गरेका घरहरुमा मात्र फेरि फुक्ने गरेको परम्परा रहिआएको छ । तर, अहिलेको समयमा जोगीहरूको जीवनयापन कठिन बन्दै गएकाले यो परम्परा संरक्षणका लागि पनि समाजले चासो दिनुपर्ने देखिन्छ । लोपोन्मुख अवस्थामा रहेका जोगीहरुको परम्परा सांस्कृतिक पेशाको संरक्षण र सम्बद्र्धनमा उत्तिकै ध्यान पु¥याउनु जरुरी देखिन्छ ।