काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगन थापा पक्राउ पर्न सक्ने चर्चाबीच आज पदाधिकारी बैठक बोलाएको छ । दिउँसो ३ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र सरकारका पछिल्ला गतिविधिबारे छलफल हुने पार्टीका सहमहामन्त्री रामहरि खतिवडाले जानकारी दिएका छन् ।
सभापति थापालाई पक्राउ गर्ने चर्चा चलिरहेका बेला कांग्रेसले पदाधिकारी बैठक आह्वान गरेको हो । सहमहामन्त्री खतिवडाले सभापति पक्राउ गर्ने कुनै आधार नरहेको दाबी गर्दै कांग्रेसको आवाज कमजोर बनाउन सरकारले पक्राउको अफवाह फैलाएको आरोप लगाएका छन् ।
‘सभापति पक्राउको आधार छैन, कांग्रेसको आवाजलाई कमजोर बनाउन सरकारले पक्राउको अफवाह फैलाएको हो, बैठकमा समसामयिक विषयमा छलफल हुनेछ,’ खतिवडाले भने । उनका अनुसार कांग्रेसले सरकारका विवादित कदमबारे यसअघि नै ६ बुँदे धारणा सार्वजनिक गरिसकेको छ । आजको बैठकमा ती विषयसँगै पछिल्लो राजनीतिक परिस्थितिबारे थप छलफल हुनेछ ।
यसैबीच नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । काठमाडौँबाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोन सम्पर्क गरी ब्युरोमा उपस्थित हुन भनिएको हो । शिवाकोटीले आफू साइबर ब्युरोमा जाने बताएका छन् ।
सरकारले प्रहरीमार्फत आफूलाई तर्साउन खोजेको आरोप लगाउँदै उनले आफू कुनै पनि भय र भ्रमबाट विचलित नहुने बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफू काठमाडौँबाहिर रहेको र फर्किंदै गरेको जानकारी दिएका थिए ।
‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदैछु,’ उनले लेखेका छन् । उनले आफूलाई प्रहरीले खोज्नुपर्ने अवस्था नरहेको भन्दै काठमाडौँ फर्किएपछि साइबर ब्युरोमा उपस्थित हुने बताएका छन् ।
साइबर ब्युरोले पत्रकार रोशन खड्काको उजुरीका आधारमा शिवाकोटीलाई बोलाएको ब्युरो स्रोतले जनाएको छ । शिवाकोटीले पछिल्लो समय सामाजिक सञ्जालमार्फत सरकारका गतिविधिमाथि निरन्तर प्रश्न उठाउँदै आएका थिए । उनले सरकारले विधि र विधान मिचेर काम गरिरहेको तथा नेपाली कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको आरोप लगाउँदै आएका छन् ।
पत्रकार खड्कासँग सम्बन्धित विषयमा पनि शिवाकोटीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए । उनले खड्काका भनाइलाई लिएर प्रश्न उठाउँदै प्रतिपक्षले जिम्मेवार ढंगले उठाएका प्रश्नको सरकारले जिम्मेवार जवाफ दिनुपर्ने बताएका थिए ।
त्यसैगरी, बिचौलियाको आरोपमा प्रहरी हिरासतमा रहेका भनिएका इनम सापकोटाले प्रहरीलाई दिएको भनिएको बयानको अडियो रेकर्डबारे पनि शिवाकोटीले टिप्पणी गरेका थिए । उक्त विषयमा उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका थिए ।
एकातिर पार्टी सभापति गगन थापाको सम्भावित पक्राउबारे चर्चा र अर्कोतिर सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोको बोलावटले कांग्रेसभित्र राजनीतिक तनाव बढाएको देखिन्छ । आज बस्ने पदाधिकारी बैठकमा यी दुवै विषयले प्राथमिकता पाउने सम्भावना छ । कांग्रेसले सरकारका गतिविधिविरुद्ध आगामी दिनमा कस्तो राजनीतिक रणनीति अपनाउँछ भन्ने विषयलाई पनि बैठकले दिशा दिने अपेक्षा गरिएको छ ।