दमक । जेन जी आन्दोलनको आगोले ध्वस्त भएको दमक नगरपालिका उठ्ने क्रममा रहेको छ । सो नगरपालिकाले दमक नगरपालिकाबाट सामान्य सेवा दिँदै अन्य आवश्यक संरचना तयार गर्ने क्रममा अगाडि बढेको नगरप्रमुख राम थापाले बताए । थापाका अनुसार नगरप्रतिको पहिलो दायित्व र जिम्मेवारी भनेको चाडपर्वको मुखमा शान्ति सुरक्षा र अमनचयनको रहेको र त्यसलाई कसरी सक्रिय गराउन सकिन्छ भन्नेमा नै नगरपालिका लागिरहेको छ । बुधबार सोही क्रममा दमक नगरपालिकाको तर्फबाट २ वटा मोटरसाइकल खरिद गरेर र अनि दमक खानेपानीबाट एक थान पिकअप गाडी इलाका प्रहरी कार्यालय दमकलाई हस्तान्तरण गरिसकेको छ । अब भने शान्ति सुरक्षामा हिंड्न सुरक्षाकर्मीलाई सहज हुने र नगरको शान्ति सुरक्षा, अमनचयनले गति लिने अपेक्षा रहेको छ ।
उनले धेरै जनाको सहयोग र साथबाट इलाका प्रहरी कार्यालय पुनस्र्थापना भएको छ । इलाका प्रहरी कार्यालय दमक सोमबार विधिवत् रूपमा अर्गानिक कृषि बजार दमक ८ मा अस्थायी रूपमा व्यवस्थापन भएको गरिएको छ । दमकका विभिन्न संघसंस्था, समाजसेवी, व्यवसायीले आवश्यक सामग्री उपलब्ध गराएपछि त्यो सम्भव भएको हो । त्यसमा दमक नगरपालिका, उद्योग वाणिज्य संघ, नयाँ सब्जी बजार व्यवस्थापन समिति, मुकेश अग्रवाल, सोम चम्लागांई, नुतन एग्रो इन्डष्ट्रिज, होलसेल ब्यवसायी संघ, कनकाई ग्यास उद्योग, भाडा वर्तन व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, रमा मार्केटिङ, राजीव पूर्वेले आदिले कार्यालय सञ्चालनको लागि आवश्यक सामग्रीहरु उपलब्ध गराएका छन् ।
यसैगरी, ट्राफिक प्रहरी कार्यालय पुनस्र्थापनाका निम्ति दमक ५ का भेषराज भट्टराई र होमनाथ घिमिरेबाट खाट, ब्रेन्च, टेवल, टि टेवल, यातायात व्यवसायी संघबाट पानीको मोटर, लायन्स क्लब अफ डाइनामिकले दराज, वडा नं. ८ का मोहम्मद सारजिनले निशुल्क प्लम्बिङ गरिदिएका छन् ।
स्थानीय सामाजिक व्यक्तित्व, संघसंस्थाहरुको साथ, सहयोगबाट स्थापित ट्राफिक प्रहरीले उच्च मनोबलका साथ शान्ति, सुरक्षामा खटिन नगरप्रमुख थापाले आग्रह गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । अब इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा दमक नगरको शान्ति सुव्यवस्था ठिक लिकमा आउने अपेक्षा नगरपालिकाले लिएको उपमेयर रेगिना भट्टराई प्रसाईले बताईन । समाजको सुरक्षा चुनौति रहेको कारणले पनि इलाका प्रहरी र ट्राफिक व्यवस्थापन चाँडै गरिएको उनले सुनाईन ।
नगरपालिकामा अझै पनि मुचुल्का उठाउने आगलागी भएको भवन प्रयोगमा ल्याउन हुने नहुने भन्ने विषय निस्कर्षमा पुगिनसकेको अवस्थामा कहिँ कतै आगोको क्षतिबाट बचेका स्थानहरुमा व्यवस्थापन गरेर नगरबासीलाई सेवाको काम अगाडि बढाउने प्रयत्न भईरहेको सामाजिक विकाश शाखा प्रमुख केशव प्रसाद प्रसाईले बताए । धेरै कुरा बेहाल रहेको भए पनि हालका लागि जनतासँगको समन्वय बढाउन सामान्य सिफारिसका काम भईरहेको र अरु कामहरु पनि अब छिट्टै गर्ने गरी तयारी भईरहको उनले सुनाए ।
इन्जिनियरिङ एसोशिएसनको मुचुल्काको आधारमा कार्यालय व्यवस्थापन गर्न मिल्ने भवनमा कर्मचारीहरुको तर्फबाट रंगरोगन गर्ने काम भइरहेको छ । साथै आधारभूत सामाग्रीहरुको व्यवस्थाका लागि दमक नगरपालिका अन्तर्गतका सबै सहकारीहरु, वित्तीय संस्थाहरु, सामाजिक संघसंस्थाहरु, दाताहरु तथा सम्पूर्ण राष्ट्रप्रेमी नागरिकहरुलाई सहयोग तथा सहकार्यका लागि नगरपालिकाले अनुरोध गरिएको कार्यकारी प्रमुख गणेशराज कार्कीले बताए ।
कार्कीका अनुसार सो कार्यमा सहजीकरणका लागि दमक नगरपालिकाका नगर प्रमुख श्री राम कुमार थापाको संयोजकत्वमा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईं, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य श्री गोकुल श्रेष्ठ, दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवी प्रसाद गुरागाईं, रेडक्रस सोसाइटी दमकका अध्यक्ष प्रकाश बुढाथोकी, डिएसपी रामप्रसाद तिमल्सिना रहेको ६ सदस्यीय समिति गठन भई सिद्धार्थ बैंक, दमक शाखामा दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईं तथा रेडक्रस सोसाइटी दमकका अध्यक्ष प्रकाश बुढाथोकीको संयुक्त दस्तखतमा सञ्चालन हुने गरी बैंक खाता खोल्ने प्रक्रिया अन्तिम चरणमा रहेको व्यहोरा अनुरोध गर्दै जिन्सी तथा अन्यसहयोग सामग्रीहरु उपलब्ध गराउने कार्यको सहजीकरण गर्नका लागि दमक नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख श्री केशव प्रसाद प्रसाईं र इलाका प्रहरी कार्यालय, दमकका प्र.ना.नि. श्री पुष्प बराइलीलाई स्थानीय समन्वयकर्ता तोकिएको छ ।
साथै दमक नगरपालिकाले ल्याएका सफल कार्यक्रम पुनः बिग्रन गएको भन्दै दमक तरकारी बजारका विषयमा गरेको निर्णय कार्यान्वयन तथा बजारमा एकातर्फी पार्किङको सफल अभ्यास समेत यतिखेर अव्यवस्थित बनेको कारणले त्यसका लागि नगरपालिकाले गरेको निर्णय पुनः कार्यान्वयन गराउँदै व्यवस्थापनमा नगरपालिका लागेको छ ।