देश–समाज राष्ट्रिय लेख स्थानीय

शिक्षा क्षेत्रमा देखिएका अन्योलता

महान व्यक्ति ओशोले भनेका थिए कि – “गुरु त्यो हो जसले कसैको आत्मालाई ब्यूँझाउन सक्छ र उसभित्र नफूलेको फूल फूलाइदिन सक्छ ।” अर्का महान ब्यक्ति रविन्द्रनाथ टैगोरले पनि भनेका थिए – “आफ्नो बच्चालाई आफूले सिकेको ज्ञान मात्र दिन नखोज । उ तिमीभन्दा फरक समयमा जन्मिएको छ ।” यस्ता आदर्श वाक्यहरु धेरै विद्वत व्यक्तित्वहरुले भनेका छन । हुन पनि हो , वास्तवमा शिक्षक (गुरु) भनेका उज्ज्वल नक्षत्रहरु हुन । जसको विवेकले देश बनाउने विद्वत वर्गहरु उत्पादन गर्दछन । यही भएर शिक्षक भनेका मैन बत्तीका शिखा हुन, जो आफू जलेर भएपनि अरुलाई प्रकाश छर्दछन । “सामाजिक स्थानान्तरणको लागि अर्थात परिवर्तनको लागि शिक्षा एउटा महत्वपूर्ण पक्ष पनि हो । “नयाँ नेपाल र नयाँ संसार” को नयाँ मान्छे बनाउन शिक्षक हरदिन हररात लागि परिरहन्छ किनकि उ एउटा बफादार कर्मठ सिपाही हो जो उज्यालोले अँध्यारोलाई जनजनमा प्रकाश भरिदिन्छ ।
बिहान सखारै उठेर नित्यकर्म गरिसकेपछि उसले ज्ञान ज्योति फैलाउन दश कर्म छोडेर लीन हुँदै विद्यालय पुग्छ र स–साना बालबालिकाहरुलाइ नैतिक शिक्षाको पाठ पढाउछ, त्यसमा बुझ्ने थोरै हुन्छन भने नबुझ्नेहरु धेरै हुन्छन तापनि सबैलाई बराबर शिक्षा दिने गर्दछन भने उनीहरूनै समाजभित्रका दर्पण हुन । शिक्षा भनेको अधिसंरचना र संस्कृतिको चेतना विकास गर्ने एउटा मार्ग हो । सिकेर, पढेर, सुनेर वा अन्य कुनैपनि प्रकारले ग्रहण गरिने सैद्धान्तिक तथा व्यवहारिक बिषयको बोध वा ज्ञान पनि शिक्षा नै हो । शिक्षाको उद्देश्य व्यक्ति र समाज दुबैलाई माथि लैजाने हो । अहिले शिक्षा क्षेत्रमा १) दूरदृष्टिको अभाव २) नीतिगत अस्पष्टता ३) फितलो अनुगमन प्रणाली ४) समन्वयको अभाव ५) चरम राजनीतिक हस्तक्षेप ६) कमजोर प्रशासनिक अवस्था ७) कमजोर परीक्षा प्रणाली ८) अब्यबहारिक पाठ्यक्रम ९) शिक्षामा दोहोरो नीति १०) शिक्षकमा विविधता ११) शैक्षिक व्यवस्थापनमा अन्यौलता यस्ता धेरै चुनौतीहरु छन । यस्ता चुनौती हुँदाहुँदै पनि आज दलीय सिण्डिकेटमा लागेर अनेकन संघसंगठनका नेताहरु यत्रतत्र छरिएर राजनीति गरिरहेका छन किन ? शिक्षकहरुले पढाउने हो कि दलको झण्डा बोक्ने हो ?
शासकहरुले शिक्षकमाथि राजनीतिको झोला बोकाएर/भिराएर चुनावीताका जनताका घरमा गोप्यरुपमा चिट बाँढ्न लगाएर चुनाव जिताउने को हुन ? तिनै शिक्षक नेता हुन ? कि होइनन र ? हुन भने शिक्षकलाई यति प्रतिशत उति प्रतिशत फेल भएका शिक्षक हुन भनेर भनिरहँदा अझै दलको झोला बोक्ने हामी शिक्षक कतिसम्म लाज लजाएर हिँड्नुपर्ने हो ? उनीहरूकै गुलामी गर्नुपर्ने हो किन ? आज मुलूक विचार र सिद्धान्तका पोका बोकेर संचालित छ तर यथास्थिति र स्वार्थको यथार्थमा किन विक्षिप्त छ, गमेर कसैले हेर्न सक्या छ ? खोई को बोल्ने ? कसले उत्तर दिने ? कसैसँग यसको सवाल जवाफ दिने उत्तर छ ? अनि हामीलाई किन हाम्रा शीर्ष नेताहरूले गालीगलौज गर्दैनन र ? भनिन्छ– “एउटा असल शिक्षकले बालकलाई पाना –पाना पढ्न सक्नुपर्छ । “राज्य संचालनमा सबै नीतिको पनि नीति हो राजनीति । हामीलाई छक्कापञ्जा र एक्का थिरेलको पासा पल्टाएर राजनीति अभिष्ट पु¥र्याएर लुटखसौटमा लागेर ऐश आराम गर्ने बनाउने हामी बर्दीधारी शिक्षकहरु आफ्नो जायज मागप्रति जुट्ने कि नजुट्ने ? कतिञ्जेल दलको झोला भिर्ने ? वास्तवमा स्वच्छ र निस्वार्थ दूरदर्शी राजनीतिले देश र जनताको भाग्य र भविष्य सुनिश्चित गर्छ ।
शिक्षा र राजनीति परस्पर अन्तर सम्बन्धित विषय हुन । राजनीतिक सारथीहरुले बनाएका नीतिका आधारमै अन्य क्षेत्र जस्तै शिक्षा क्षेत्र पनि चलेको हुन्छ । यो जानेर पनि नजानेको खेल आज नेतृत्व वर्गले खेलिरहेका छन । यो दोष विगतका प्रधानमन्त्रीदेखि लिएर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्मका नेताहरूले बर्दीधारी शिक्षकहरुको जायज मागलाई सम्बोधन नगरेकै हुन । यसमा दुईमतै छैन किनकि दलको भाट हामी भयौ हामीलाई बजारमा बिक्री हुने खेलौना हाम्रै नेताहरूले बनाए योसम्म हामीले थाहै पाउन सकिरहेका छैनौ किन ? सम्मानित शिक्षकलाई दलको झोला बोक्ने बोकाउने कुकर्म नगर । यी प्रश्नहरुको जवाफ खोज्ने हो भने निष्कर्ष निस्कन्छ– दल सम्बद्ध शिक्षक संघसंगठनको भेला प्रधानमन्त्री र शिक्षकहरुको नैतिक पतनको भेला हो भन्न सकिन्छ । त्यही बेलामा बजेको ताली वास्तवमा ताली होइन बर्दीधारी नैतिकतालाई चडकन पनि हो । अनि किन बर्तमान प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा नानाथरीका कमेन्ट गर्नु? हिजो सरुवा र बढुवाका निम्ति राजनीतिक पार्टी परिवर्तन गरेर ललीपप खान जानेहरुले उत्तर खोज्ने कहाँ ? अनि किन राजनीतिलाई तोड्मोड् गर्नु ?
यो सब बन्द गरेर अब सम्पूर्ण शिक्षक संघसंगठन एकजुट हुनेबेला आयो, अनेकन दलीय सिन्डिकेट लागेका शिक्षक नेताहरूले दलहरुलाइ पछि राखि सबै गोलबद्ध बनौ ।
शिक्षा मानव समुदायको परिवर्तन, चेतना, विकास र अग्रगमनको आधार हो । शिक्षा प्रणाली सही बन्न सकेको खण्डमा मात्र राष्ट्र चाँडै प्रगति, उन्नति, विकास र परिवर्तनको सोपानमा चढ्न सक्छ । तर , वर्तमान अवस्थामा हाम्रो देशको शैक्षिक प्रणाली यसको हितबिपरित अव्यवस्थित अवस्थामा तथा निजीकरण, व्यापारीकरणले पूर्ण रुपमा धरासायी अवस्थामा पुगेको छ त्यो त शैक्षिक क्षेत्र नै ध्वस्त बनाउने माफियाहरुको सञ्जालबाटै थाहा पाउन सकिन्छ । यहाँ शिक्षामा आमुल परिवर्तन गर्ने नाममा बढेमानको सभा, सेमिनार, तालिमको आयोजना गर्ने अनि त्यही पुरानो राज्यसत्ताकै फेरो समातेर काठमाण्डौ केन्द्रित ठुलठुला कार्यक्रम गरेर राज्यको ढुकुटी झ्वाम पारेर दोहन गरेर राज्यलाई आर्थिक भार थोपर्ने कारणले गर्दा आज शिक्षामा बग्रेल्ती समस्यै—समस्या जेलिएको छ । अहिले हाम्रो देशको शिक्षा प्रणाली सामन्तवादको जगमा टेकेको सामन्तवाद र पूजीवादको खिचडीमा आधारित चलेको अवस्था छ । वर्तमान शिक्षाको लक्ष्य, उद्देश्य र नीति स्तुतिवादी भएकोले यो समयसम्म आइपुग्दापनि शिक्षा क्षेत्रमा विस्तार र विविधीकरण भने हुनै सकेन । शिक्षा जनसाधारणको पहुँचबाट निक्कै टाढा —टाढा रहन पुग्यो ।
यतिबेला ब्यापक रूपमा शिक्षामा भएको ब्यापारीकरण र नीजिकरणले गर्दा श्रमजीवी जनताका छोराछोरीहरु शिक्षाबाट दिनानुदिन टाढिदैछन । बर्तमान शिक्षा प्रणालीले ज्ञान आर्जन गर्नु, देश र जनताको सेवा गर्नु भन्दापनि समाजमा आफै रकमी बनेर सोझा जनता र अभिभावकहरुलाइ ठगेर ऐश, आरामसङ्ग जिउनुपर्छ भन्ने कुरामात्र सिकायो । अन्तरिम संविधान २०६३ मा “शिक्षा मौलिक अधिकार “हो भनिएको छ तर राज्य शिक्षाको दायित्वबाट क्रमशः पन्छिदै मात्र गएको छ । अहिले पनि हाम्रो देशमा जनसंख्याको आधा भाग निरक्षर र अर्धनिरक्षर छ । अहिले नेपालमा अशिक्षित भन्दापनि शिक्षित जनशक्ति विदेश पलायन हुने गरेको तथ्यांक दिनप्रतिदिन बढिरहेको छ ।
टाठाबाठा भनाउँदाहरु औठाछाप मन्त्रीहरुको लहै(लहैमा लागेर शिक्षा विभागमा आफ्नो जनशक्तिलाई प्रदर्शन गर्न लगाइरहेका छन । शैक्षिक क्षेत्रमा मापदण्ड पुगेका शिक्षा मन्त्रीहरुको आवाज सुन्दैन, सरकार । शिक्षा क्षेत्रभित्रका शैक्षिक माफियाहरुको बोलवाला छ, अहिले । अब दलहरुले यो बुझे हुन्छ कि– “शिक्षकलाई कमजोर नठान्नु, सिर्जना र प्रलय शिक्षकहरुको काखमा खेल्छन भन्ने हेक्का रहोस् । सम्पूर्ण शिक्षक अब चक, डष्टरसहित दलीय सिण्डिकेटको मोर्चाबन्दी त्यागी विद्यार्थीहरुको सुनौलो भाग्य र भविष्य उज्ज्वल बनाउनका निम्ति एकजुट होऔ ।

Author

You may also like