बिमल लामिछाने
झापा । पूर्वी पहाडका जमिनहरुमा पनि पछिल्लो समय विषादी र रासायनिक मल प्रयोग नगरी सागसब्जी र अन्नबाली उत्पादन हुन छाडेको भन्दै तराइ बसाइँ सर्नेहरु बढ्दै गएका छन् । खेतीकिसानी उसै पनि आकर्षक पेशा होइन । त्यसमाथि पढेलेखेका युवा पुस्ताको विदेशगमन, तराई र शहरी क्षेत्रतिरको बसाइँसराइ तथा घट्दो उब्जनीका कारण गाउँका खेतबारी झाडीमा परिणत भइरहेका छन् । एक दशकअघिको तुलनामा नेपालमा बाँझो जग्गा दोब्बरले बढेको नयाँ सर्वेक्षणले देखाएको छ ।
उत्पादन हुने श्रेत्र र मेसिनले काम गर्ने सरल विधि खोज्ने वा कम परिश्रममा नै खान पाइने ठाउँ खोजेर पहाड छोडेर तराइका जिल्लामा बसाई सराइ गर्ने बढेपछि पहाडी जिल्लामा जमिन बाँझिन थालेको छ । पछिल्लो एक दशकमा देशभर बाँझो जग्गा दोब्बरले बढेको छ भने मध्यपहाडमा खेतीपाती गर्न छाड्ने क्रम अन्यत्रको तुलनामा धेरै रहेको एक अध्ययनले देखाएको छ ।
राष्ट्रिय कृषि गणना, २०७८ का अनुसार देशमा ६० हजार ५४२ हेक्टर जग्गा अस्थायी बाँझो छ । यो एक दशकअघिको तुलनामा झन्डै दोब्बर हो । कृषि गणना, २०६८ ले देशमा ३१ हजार ४४ हेक्टर जग्गा अस्थायी बाँझो भएको देखाएको थियो । कम्तीमा एक वर्षदेखि पाँच वर्षसम्म खेतीपाती नभएमा बाँझो भनी परिभाषा गर्ने गरिएको इलाम फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल बताउँछन् ।
कृषि गणनाका अनुसार देशको २२ लाख १८ हजार हेक्टर जमीन खेतीपातीका लागि किसान परिवारले भोग गरिरहेका छन् । यसको २.७ प्रतिशत बाँझो देखिएको हो कृषिज्ञानकेन्द्र झापाले जनाएको छ । सबैभन्दा धेरै मध्यपहाड र उच्च हिमाली क्षेत्रका जिल्लामा बाँझो जग्गा देखिएको कृषिज्ञानकेन्द्र झापाका कार्यालय प्रमुख सागर विष्ट बताउँछन् । पहाड छोडेर तराई र शहरी क्षेत्रमा झर्ने क्रमले पहाडी गाउँमा खेतबारी बाँझो भइरहेको कृषि गणनामा देखिएको छ । त्यसमाथि पछिल्ला वर्षमा युवा पुस्ता विदेशिने क्रम बढ्दा पनि काम गर्ने मान्छेको अभाव छ । उनले भने ।
अझ बाँदर आतंकले मध्यपहाडका किसान हैरानी खेपिरहेका छन् । अन्नपात भित्रिने समयमा खेतबारीबाटै बाँदरले खाइदिन थालेपछि कैयौं किसान परिवारले बाली नै नलगाएर छोडेको खेतबारी पनि बढ्दो छ । यी कारणले गर्दा खेतबारी बाँझो हुने क्रम बढेको अनुमान छ । यद्यपि पहाडको तराईका जिल्लामा भने बाँझो जग्गाजमीनको परिमाण न्यून छ । उब्जाउ राम्रो हुने तथा शहरी र नगरोन्मुख क्षेत्रमा भने कृषि भूमि नै नासिने क्रम बढेको कृषि गणनाले देखाएको छ । कृषि गणना, २०७८ ले देशभरका २२ लाख १८ हजार हेक्टर जग्गा कृषिकर्मका लागि प्रयोग भएको देखाएको थियो । यो एक दशकअघिका तुलनामा करीब १२.४ प्रतिशत थोरै हो ।
२०६८ सालको कृषि गणनाले देशको २५ लाख २६ हजार हेक्टर जग्गा कृषिकर्मका लागि प्रयोग भएको देखाएको थियो । खेतबारीको उपयोग नगरी बाँझै छाड्ने तथा खेतीपाती हुने जग्गा टुक्र्याएर आवासका लागि प्लटिङ गर्ने क्रम बढेपछि कृषिजग्गा घटेको अनुमान छ । राष्ट्रिय तथ्यांक कार्यालयका सहायक प्रमुख तथ्यांकशास्त्री हेमराज रेग्मी घर, बाटोघाटो निर्माण आदि कारणले कृषिजग्गा घटेको बताउँछन् ।
पछिल्ला वर्षमा देशका शहरी र नगरोन्मुख क्षेत्रमा जग्गा प्लटिङ गरी घडेरी बिक्री गर्ने व्यवसाय फस्टाउँदै गएको छ । जसले गर्दा खेतबारीमा तीव्र गतिमा घर ठडिइरहेका छन् । गणनाले तराइका खेतको क्षेत्रफल एक दशकमा एक लाख ५४ हजार हेक्टरले घटेर १४ लाख ३० हजार हेक्टर रहेको रेग्मीले बताए ।
धान सहितका अन्नबाली लगाउने क्षेत्रफल पनि घटिरहेको गणनाले देखाएको छ । एक दशकको अवधिमा धान बाली लगाउने खेतको क्षेत्रफल दुई लाख ४० हजार हेक्टरले घटेको पाइएको छ । कृषि गणनाका अनुसार देशमा किसान परिवारको संख्या ४१ लाख ३० हजार छ । एक दशकअघि किसान परिवारको संख्या ३८ लाख ३१ हजार थियो ।
कृषि बालीमा देखिने रोग, कीराको समस्या, जलवायु परिवर्तनको कारणले सुक्खा खडेरी तथा अतिवृष्टि, माटोमा प्राङ्गारिक पदार्थ घट्दै जानु तथा कृषि उत्पादनको लागत बढ्नु पनि चुनौतीका रूपमा छन् । धान, मकै, गहुँ बाहेक अन्य कृषि उपजमा न्यूनतम समर्थन मूल्य निर्धारण नहुनु जस्ता समस्या पनि छन् । सरकारले किसानका समस्या सुनुवाई नहुँदा बर्षेनी आन्दोलनको रुप लिने गरेको छ ।