दमक / जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको इलाका प्रहरी कार्यालय दमकलाई समुदायबाट भवन पुननिर्माणका लागि सहयोग जुट्ने क्रम निरन्तर चलिरहेको छ । सोही क्रममा होटल व्यवसायी संघ दमकले आर्थिक तथा सामग्री सहयोग मंगलबार हस्तान्तरण गरेको छ ।
संघका अध्यक्ष योगराज दंगालको अध्यक्षतामा र दमक नगरप्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा इलाका प्रहरी कार्यालय दमकको प्राङ्गणमा आयोजित एक औपचारिक कार्यक्रममा झ्याल–ढोका जडानका लागि रु १ लाख ५५ हजार बराबरको सहयोग हस्तान्तरण गरिएको हो ।
त्यसैगरी संघका कार्यसमिति सदस्य नन्दप्रसाद चौलागाईंले थुनुवाहरूलाई हेर्नका लागि ३२ इन्चको लिड टेलिभिजन पनि हस्तान्तरण गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख थापाले इलाका प्रहरी कार्यालय दमकको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै सहयोगी हातहरूप्रति आभार व्यक्त गरे । उनले सामुदायिक सहकार्यबाट प्रहरी कार्यालयको पुनर्निर्माण छिट्टै सम्पन्न हुने विश्वास पनि व्यक्त गरे ।
कार्यक्रममा दमक नगरपालिका वडा नं. ७ का अध्यक्ष भिम पौडेल, इलाका प्रहरी कार्यालयका प्रमुख राम तिम्सिना, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, वरिष्ठ उपाध्यक्ष राजु खड्का, होटल व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष राजन दंगाल लगायत होटल व्यवसायी संघ दमकका पदाधिकारी तथा सदस्यहरूको कार्यक्रममा उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन होटल व्यवसायी संघ दमकका सचिव तथा केन्द्रीय महासचिव भूपेन्द्र न्यौपानेले गरेका थिए । इलाका प्रहरी कार्यालय दमकको पुनर्निर्माण कार्य हाल धमाधम जारी रहेको संघले जनाएको छ ।