दमकमा आयोजित कार्यक्रममा सामाजिक अभियन्ता तथा अधिकारकर्मीहरुले महिलामाथि हुँदै आएका विविध खालका हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । नेपालको सन्दर्भमा पहिले घरेलु हिंसा र पारिवारिक विभेद सहँदै आएका महिलाहरु अहिले पछिल्लो समयमा आएर फरक खालको हिंसा सहन बाध्य भइरहेको उनीहरुले बताएका छन् । स्वरुप फेरिएका यस्ता हिंसाहरुबाट पनि महिलाहरुलाई मुक्त बनाउनुपर्ने तर्फ पुरुषहरुले पनि सोच्नुपर्ने उनीहरुको माग छ । अहिले राज्यबाट विभेद हुँदा महिलाहरुले राजनीतिक हिंसा र विभेदको मार खेप्नुपरिरहेको आयोजित कार्यक्रममा महिला अकिारीहरुले बताएका हुन् । यसका लागि राज्यका सबै संयन्त्रहरुमा समान अधिकार र हिस्सा प्राप्त हुनुपर्ने र त्यसका लागि राजनीतिक नेतृत्व साथै राज्य संचालकहरुले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको तर्फ इंगित गरेका छन् ।
‘हामीमाथि अहिले राजनीतिक हिंसा र विभेद भइरहेको छ, पहिले घरपरिवारमा हिंसा हुन्थ्यो, अहिले राज्यबाटै संविधानमै हिंसाको अवशेष देखिएको छ । यो हट्नुपर्छ, राज्य र सरकारका संयन्त्रहरुमा महिलाहरुलाई समान अधिकार र पहुँच स्थापित दिलाइनुपर्छ ।’ महिला अधिकारकर्मी भूमिका कोइरालाले भनिन्– यहीँ दमक नगरपालिकामा हेरौं न एक जना पनि महिला वडाध्यक्ष छैनन् । १० वटै वडामा पुरुष वडाध्यक्ष मात्र छन् । यो पनि एक किसिमको विभेद र हिंसा हो । यस्तो अवस्था अन्यधेरै नगरपालिका र गाउँपालिकाहरुमा छ । अपवादमा केही पालिकाका वडामा महिला वडाध्यक्ष होलान् तर समग्रमा हेर्दा अवस्था लाजमर्दो छ । स्थानीय तहका अधिकांश वडामा पुरुषहरु मात्र वडाध्यक्ष रहेका छन् । महिलाहरुलाई पछाडि पारिएको छ, हिंसा र विभेद भनेको यही हो ।’
अर्कातर्फ सरकारी र गैरसरकारी कार्यालयहरुले गर्ने अधिकांश औपचारिक यसलाई हटाउन अब फेरि महिलाहरु एकपटक जागरुक र आन्दोलित हुन जरुरी छ । अन्तर्राष्ट्रिय जगतमै मनाइने महिला हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन सोमबार विहान दमक नगरपालिकाको प्राङ्गणमा भएको अभियान शुभारम्भ कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले मानव जातिविरुद्ध हुने कुनै पनि खालको विभेदहरु बोली र भाषणमा मात्र होइन, व्यवहारमा हटाउन सबैले आफूबाटै परिवर्तनको थालनी गर्नुपर्ने कुरामा जोड दिए ।
त्यसक्रममा दमक नगरपालिका प्रमुख राम कुमार थापाले भने– मानव मानवबीचमा विभेद र हिंसा हुनु हुँदैन । हिंसा गर्नु भनेको अपराध गर्नु हो । अपराध गर्ने व्यक्ति कानुनी रुपमा दण्ड सजायको भागीदार बन्नुपर्छ । यस्तो हुन कोही पनि चाहँदैन, त्यसैले विभेद र हिंसा न त महिलामाथि न त पुरुष, कसैमाथि पनि हुनुहुँदैन । यस कुरामा हामी समस्त मानव जाति सचेत र संवेदनशील भएका आफ्ना कर्महरु गर्ने कुरामा विशेष ध्यान पुर्याउनुपर्छ ।’ दमक नगर प्रमुख थापाले नगरपालिका महिला हिंसा अन्त्यका लागि प्रतिवद्ध र क्रियाशील रहेको प्रष्ट पारे । नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाईले चुल्हो चौकोमा सीमित रहेका महिलाहरु जागरुक भएर सामाजिक काममा अग्रसर भइरहेको अवस्थामा महिलामाथि कु्नै पनि प्रकारका हिंसाहरु हुन नदिन सबै सचेत नागरिकहरु सजग र सतर्क हुनुपर्ने बताइन् । दमक नगरपालिकाले हिंसालाई न्यूनीकरण गर्दै समय सन्दर्भमा हिंसामा परेकाहरुलाई उद्दार, राहत र संरक्षणका लागि सेफ हाउस समेत संचालनमा रहेको जानकारी गराइन् ।
१६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियानकी संयोजक समेत रहेकी दमक नगर कार्यपालिका सदस्य शारदा सापकोटा भट्टराईले यो अवधिमा अन्तरक्रिया, सचेतना, स्वास्थ्य शिविर लगायतका विविध कार्यक्रमहरु गरिने बताइन् । २१ सौं शताब्दीको अहिलेको समयमा महिलामाथि हिंसा हुने कुरा दुःखको भएको भन्दै वक्ताहरुले हिंसाको जड पत्ता लगाइ त्यसलाई निमिट्यान्न पार्नुपर्नेमा जोड दिएका थिए ।
त्यस अवसरमा महिला अधिकारकर्मीहरु रिता थापा, चन्द्रा खड्का भट्टराई र लिला ढुंगेल दाहालले पनि अभियानको सफलताको शुभकामना दिँदै अन्तर्राष्ट्रिय स्तरमै यस्तो अभियान वर्षेनी संचालन हुँदा त्यसबाट पनि लैङ्गिक हिंसा न्यूनीकरणमा सहयोग पुग्ने बताएका थिए । कार्यक्रम संचालन दमक नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरिता भण्डारीले गरेकी थिइन् । सो कार्यक्रम हुनुभन्दा अगाडि दमकको डाँफे मुनाल चौकबाट शुरु भइ अभियानको शुभारम्भ र्याली फर्निचर लाइन, शंखधर साख्वा चौक हुँदै नगरपालिका हातामा प्रवेश गरी सभामा परिणत भइ समापन भएको थियो । र्यालीमा म हिंसा गर्दिन, हिंसा सहनु हुँदैन जस्ता नारा लगाउँदै प्लेकार्ड बोकेका सामाजिक अभियन्ता, , जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, नर्सिङ्ग लगायतका विद्यार्थी, सुरक्षाकर्मी, स्काउट्सहरु सहभागी रहेका थिए ।