देश–समाज राष्ट्रिय समाचार स्थानीय

स्थानीयदेखि राष्ट्रिय स्तरका विभिन्न घटनासहितका सारसंक्षेप समाचार

कांग्रेसद्वारा पार्टी सदस्यता दिएकै भोलिपल्ट खारेज


दमक/ नेपाली कांग्रेसले शुक्रबार मात्रै पार्टी प्रवेश गरेका देवेन्द्र यादवको पार्टी सदस्यता खारेज गरेको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त भएको खुलेपछि सदस्यता खारेज गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । शुक्रबार सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा पार्टीले यादवलाई पार्टीमा स्वागत गरेका थिए ।
मुख्यसचिव पौडेलले भने, ‘तर, बुझिदैं गर्दा निज व्यक्ति उपर फौजदारी कानूनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ । साथै, कानूनी कारबाहीको प्रक्रिया सन्दर्भमा गृह प्रशासनको समेत ध्यानाकर्षण गराइएको छ ।’यादव लामो समयदेखि प्रहरीको फरार सुचीमा रहेका छन् । उनको मुद्दा भने महोत्तरी जिल्ला अदालतमा मुल्तवीमा छ ।

नेकपा एसका नेताहरुलाई जिम्मेवारी
दमक/नेकपा एकीकृत समाजवादीमा वामदेव गौतमलाई पार्टीको समग्र केन्द्रीय विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिइएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न सातौ सचिवाल बैठकले नेता गौतमलाई अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालपछिको वरियतामा राख्दै पार्टीको सबै विभागको संयोजन गर्ने जिम्मेवारी दिएको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका छन् ।
राष्ट्रिय एकता अभियानबाट एकीकृत समाजवादीमा साउन २ गते समाहित भएका नेताहरूलाई जिम्मेवारी दिईएको प्रमुख ज्वालाले जानकारी दिए । ज्वालाका अनुसार डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिट्ब्यूरो सदस्यको जिम्मेवारी दिइएको छ ।
त्यस्तै केन्द्रीय सदस्यमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई रहेका छन् ।

घाग्रा खोलामा डुबेर बालिकाको मृत्यु
बाह्रदशी/ झापाको बाह्रदशीस्थित घाग्रा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । शुक्रवार दिउँसो अन्दाजी ३ बजे गौरीशंकर मावि डाँगीबारीमा कक्षा १० मा अध्ययनरत बाह्रदशी ५ कालिदास टोल बस्ने दिलकुमारी राजवंशीकी छोरी १५ वर्षीया झरना राजवंशीको डुबेर मृत्यु भएको हो ।
उनी स्कुलबाट ७–८ जना साथीहरुसंग घाग्रा खोलामा पौडी खेल्न गएकी थिइन् । पानीको बहाब बढी भएको घुमाउने दहमा परी उनी डुबेकी थिइन् । सोही स्थानबाट अन्दाजी ३० मिटर दक्षिणमा झाडीमा अड्केको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

माथिबाट झरेको ढुङ्गा लागेर चालकको मृत्यु
इटहरी÷ बराहक्षेत्र दर्शन गरेर मोटरसाइकलमा फर्कदै गरेका चालकको माथिबाट झरेको ढुङ्गा लागेर मृत्यु भएको छ । शुक्रवार दिउँसो ४ः२५ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित बराहक्षेत्र मन्दिर दर्शन गरी स.१० प ७९२१ नम्बरको मोटरसाइकलमा फर्कदै गर्दा सडक माथिबाट झरेको ढुङ्गाले टाउकोमा लागेर मोटरसाइकल चालक सप्तरी बोधेबर्साइन २ बस्ने २८ वर्षीय जीवन शाहको घटनास्थलमा नै मृत्यु भएको हो ।
मोटरसाइकलमा पछाडी सवार सप्तरी खडक नगरपालिका वडा नं. ११ बनौली बस्ने ३० वर्षीय अरबिन्दकुमार शाह सकुशल रहेका छन् । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

पुलबाट लडेर खोलामा पसेकी बालिकाको मृत्यु
ताप्लेजुङ÷ जिल्लाको फुङलिङ नगरपालिकास्थित एक फड्के पुलबाट लडेर खोलामा पसेकी बालिकाको मृत्यु भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुका साढे दुई वर्षीया बालिकाको फड्के पुलबाट लडेर मृत्यु भएको हो ।
फुरुम्बुका वडाध्यक्ष सन्तोष नुगो लिम्बूका अनुसार आमा शान्ता लिम्बूले छोरीलाई बोकेर माइती जाने क्रममा पुलबाट चिप्लिएर दुवै जना खोलामा पसेका थिए । चिप्लिएर खोलामा पसेका शान्तालाई ससुरा टंक बहादुर लिम्बूलाई उद्धार गरेका थिए ।
त्यस्तै बालिकालाई भने खोलाले बगाएर करिब दुई सय मिटर तल पु¥याएको थियो । ढुङ्गामा अल्झिएको बालिकाको उद्धार गर्नुअघि नै निधन भइसकेको बताइएको छ ।

हात्तीको आक्रमणबाट घाईते महिलाको मृत्यु
दमक/ जंगली हात्तीको आक्रमणबाट घाइते भएकी दमककी ४७ वर्षीया सुनिता राईको उपचारका क्रममा मृत्यु भएको छ । दमक–१ बरगाछीनजिक गत साउन ११ गते बिहान मर्निङ वाकमा जाँदै गर्दा जंगली हात्तीको आक्रमणमा परी घाइते भएकी राईको उपचारका क्रममा शुक्रवार बिहान २ ः १३ बजे विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो । उनको टाउको, दाहिने आँखी भौ, दुबै खुट्टा, बाँया हात र शरीरको बिभिन्नमा भागमा चोट लागेको थियो ।
साउन ११ गते बिहान करिब सवा ४ बजे सुनिता र उनकी बहिनी ४२ वर्षीया कविता राईलाई हात्तीले आक्रमण गरेको थियो। दमक अस्पतालमा सामान्य उपचारपश्चात् दुवैलाई थप उपचारका लागि विराटनगर लगिएको थियो । कविता राई साउन २५ गते डिस्चार्ज भएकी थिइन् । मृतक सुनिता पाँचथर मिक्लाजुङ गाउँपालिका १ घर भई हाल दमक १ मा होटल व्यवसाय सञ्चालन गर्दै आएकी थिइन् ।

मुस्लिम आयोगले बुझायो प्रतिवेदन
दमक/ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८१÷०८२ मा गरेका कामसहितको वार्षिक प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले प्रतिवेदन पेस गरेका छन् । त्यस अवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएकाले सबैको सम्मान गरिनुपर्ने बताए ।

गुण्डा नाइके चक्रेमिलन धरौटीमा रिहा
भक्तपुर/ भक्तपुर जिल्ला अदालतले गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलनलाई १ लाख १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । कुटपिट र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। दुई दिन अघि काठमाडौं जिल्ला अदालतबाट ३० हजार धरौटीमा छुटेका चक्रे मिलनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।

उच्चका ८८ र जिल्लाका १२२ न्यायाधीशको सरुवा
काठमाडौं । न्याय परिषद्ले उल्लेख्य संख्यामा उच्च तथा जिल्ला अदालतका न्यायाधीश सरुवा गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले उच्च अदालतका ८८ र जिल्ला अदालतका १२२ जना न्यायाधीश सरुवाका लागि सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिए । परिषद् आफ्ताव अलामलाई सफाइ दिएपछि छानबिनमा तानिएका निलम्बित न्यायाधीश खुशीप्रसाद थारु र अर्जुन महर्जनको पनि सरुवा गरेको छ । परिषद्ले विशेष अदालतमा न्यायाधीशको नयाँ सेट नै पठाउन सरकारलाई परामर्श दिएको छ ।

ठक्करबाट महिलाको मृत्यु
पथरी/ मोरङको पथरी बजारमा बिहिवार साँझ नम्बर नखुलेको मिनि ट्रकले ठक्कर दिँदा ४० वर्षीया एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको पथरीस्थित गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि भएको उक्त दु,र्घट,ना भएको थियो । दुर्घटनामा परि उपचारका लागी लैजाने क्रममा ती महिलाको मृ,त्यु भएको हो । मृत्यु हुने महिलाको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिए । दुर्घटना गराई फरार भएको ट्रक भाउन्नेमा दुर्घटनामा परेको अवस्थामा प्रहरीले फेला पारेको छ ।

Author

You may also like