बजारमा पाइने अखाद्य बस्तुका कारण विरामी हुने क्रम बढ्दै गएको छ । बजारमा पाइने अनेक थरी अखाद्य बस्तु र बासी खानेकुराले कतिपय विद्यालयका क्यान्टिनहरुमा खाजा खाने विद्यार्थी विरामी पर्न थालेका पाइएको छ ।
पछिल्लो समय दमकका व्यापारीले समेत जथाभाबी म्याद नाघेका अखाद्य वस्तु विक्रीवितरण गर्ने गरेका छन् । त्यही म्याद नाघेका अखाद्य बस्तु म्याद नाघेको ट्याङजुस जस्ता खानेकुरा खादा बालबालिका बिरामी परेका कारण अस्पतालमा समेत विरामीको चाप बढ्दै गएको छ ।
स्थानीय तहलाई बजार अनुगमन गर्ने र अखाद्य बस्तु नियमन गर्ने अधिकार भए पनि यस्ता विषयमा जनप्रतिनिधिले त्यति चासो दिने गरेको पाइँदैन । जसले गर्दा सहजै रूपमा नागरिकको भान्सामा अखाद्य वस्तु पुग्ने गरेको छ ।
पछिल्लो समय विद्यालय क्षेत्रका चमेना गृहमा मात्र नभएर सबैभन्दा बढी मिसावट खाद्यान्न, दाल, मसलामा देखिने गरेको छ । यसमा स साना ढुंगा, बालुवा, काठको धुलो आदि मिसाइन्छ । यसले गर्दा आहार तन्त्रको रोगग्रस्त हुनुका साथै दात र आन्द्रा प्रभावित हुने तर्क डाक्टरहरुले दिँदै आएका छन् । यस्तै, चना र रहरको दालमा खेसारी लगायतका दाल मिसावटयुक्त हुन्छ ।
सर्सियुँको तेलमा भने सबैभन्दा बढी अन्य तेलको मिसावट गरिन्छ । यसले आहारतन्त्र प्रभावित हुनुका साथै अनियन्त्रित ज्वरो आउने, बान्ता हुने जस्ता समस्या हुन सक्छ । यस्तै सर्सियुँ तेल र रिफाइन्ड तेल बनाउनमा घटिया ब्रान्ड आयल र पाम आयल सँगै थुप्रै रसायन हालिन्छ, जसले मिसावटी तेलसमेत सर्सियुँ तेलजस्तै देखिन थाल्छ । बेसन र बेसारमा पहेंलो रंग मेटानिल मिसाइन्छ । यसले प्रजनन्तन्त्र प्रभावित हुनुको साथै पाचनतन्त्र, कलेजो र मृगौलासमेतमा प्रभाव पार्छ ।
यसको साथै साना कक्षाका बालबालिकामा, कम तौल, रक्त अल्पता जस्ता समस्या पोषणयुक्त खानाको कमीले हुने गरेको छ । ग्रामीण क्षेत्रका बालबालिकाको पोषण तथा स्वास्थ्य स्थिति अझ कमजोर रहेको देखिन्छ भने संक्रमण रोगका कारण धेरै संख्यामा बालबालिकाहरु विद्यालयमा नियमित र निरन्तर हुन सक्दैनन् ।
विद्यालयमा सफा पिउने पानी, स्वास्थ्य सुविधा अभावले पनि अधिकांश बालबालिकाका लागि विद्यालय आकर्षण स्थल बन्न सकेको छैन । सरकारले लागु गरेको विद्यालयमा पोषणयुक्त खाजा व्यवस्थाले बालबालिकाको आकर्षण स्थल बन्ने गरेपनि स्वस्थ र बासी तथा सडेगलेका खानेकुराको लुकीछिपी प्रयोगले दिनहुँ जसो विद्यार्थी विरामी हुने गरेको पाइएको छ । चमेना गृहहरुमा चेकजाँच तथा अनुगमन र नियमन गरी पोषण स्थितिमा सुधार गर्नुका साथै विद्यालयमा निरन्तरता र सिकाइ स्तर सुधार र प्रभावकारी बनाउन आवश्यक देखिन्छ ।
स्थानीय सरकार, सचेत नागरिक, अभिभावक र स्वास्थ्य क्षेत्र समेतको ध्यानाकर्षण हुन सकेमात्रै विद्यार्थी र आम बालबालिकाले विरामी भएर तड्पिनबाट जोगाउन सकिन्छ । यसमा सबै पक्षको अहम् भूमिका रहन जरुरी छ ।