दमक/पूर्वी नेपालको भापामा बढेको अत्याधिक गर्मीका कारण अस्तव्यस्त बनेको जनजीवन मंगलबार साँझदेखि सामान्य बनेको छ । मंगलबार बेलुकादेखि परेको वर्षाले एकहप्तादेखि बढेको अत्याधिक गर्मीबाट प्रताडित भएका दमकलगायत पूर्वी नेपालका बासिन्दालाई ठूलो राहत मिलेकोमा हर्षित भएका छन् ।
नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण पानी परेको हो । दमकसहित आसपासमा १.६ मिलिमिटर पानी परेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु तथा न्यून चापीय प्रणालीको प्रभावका कारण कोशी प्रदेशका विभिन्न भूभागमा मेघगर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
अत्याधिक गर्मीका कारण मानिस मात्र नभएर बोटविरुवा, वन्यजन्तु, चराचुरुङ्गीलाई समेत ठूलो राहत मिलेको छ ।
कृर्षिकर्मका लागि पनि पानीको आवश्यता रहेको कृषकहरु बताउँछन् । धानको बाला आउने बेला भएको हुनाले पनि पानीको आवश्यकता थियो । त्यसलाई समेत राम्रो भएकोमा कृषक खुशी देखिन्छन् । कृषकका अनुसार तोरी, मुला, रायो लगायतका सागबलीलाई भने पानीले क्षति पु¥याउने उनीहरुको भनाई छ ।