मान्छे चेतना र विवेकले गर्दा सधैं आफुलाई परिस्कृत गर्दै जान्छभन्दा जडसूत्रवादीहरूलाई मन पर्दैन । तिनले मान्छे जुन चेतनामा जन्मिन्छ, त्यही चेतनामा बूढो भएर मर्नु पर्छ भन्छन् । एकजना मित्रले अस्ति मात्रै प्याच्च बोले, धनञ्जय को हो ? ऊ के हो ? उसलाई के भनेर पहिचान गर्ने ? ऊ कहिले त्यही कुरा सकारात्मक देख्छ, कहिले त्यही कुरा नकारात्मक । ऊ आफैलाई भुवा बनाएर उडेको छ । उसका विचारहरू क्लिष्ट छन् । उसका ‘हो’ हरू क्षणभंगु छन् छिनमै ‘होइनहरू’ मा परिणत हुन्छन् । हो भन्ने कुरा र होइन भन्ने कुरा यसरी छिनछिनमा परिवर्तन हुन्छन् ? एक पटकको हो सधैलाई हो हुनु पर्ने होइन र ?
कति वाइयात प्रश्नहरु !
मैले सुनिरहें र यी मेरा विद्धान पाठकको यो विषयलाई र लेखेरै प्रशंशा गर्न ठीक लागेर आज यो बिषय उठान गर्दैछु ।
मलाई लाग्यो, ती मित्रले मेरो विनिर्माण हरपल भइरहेको देखे । हरपल ध्वस्त भइरहेको देखे । हरपल अनिश्चयतातर्फ उन्मुख देखे । हरपल रूप विहिन, क्लिष्ट र रस विहीन एउटा अवयवमा टाँसिएको देखे । तिनले हिजो मलाई देखे र दृष्टिकोण बनाउँदैछन्, सायद भोलि त्यो आजको म रहने छैन । अर्कै म प्रकट हुनेछ । उनले अर्कै देख्नेछन् ।
जीवन, जगत, भोगाइ, अनुभव, अनुभूति, ज्ञान र अन्तर्दृष्टि सबै अस्थिर छन् । सबै अस्थाई छन् । सबै विविधताले भरिएका छन् । सबै विविधताले रंगिएका छन् । यहाँ विषयको विविधता छ । भोगाइको विविधता छ । धर्म, संस्कृति, जीवन र शैलीको विविधता छ । जीवन देखेको ढोङ्ग पिट्नु भनेको माथि लारूम्बाको डाँडामा पुग्दा आकाश छुन सकिन्छ भन्नु हो । क्षितिजमा आकाश जोडिएको छ भन्नु हो । मधेसको धानको भात खाने मान्छेले हिमालको फापरको रोटी खानेले पनि यस्तै स्वाद र अनुभूति लिन्छ भन्नु जस्तै हो । पिठ्यूँमा ढाकर बोक्ने र ठेलामा सामान बोक्ने दुवै मजदुर हुन् तर दुवैको एउटै अनुभव कदापी हुँदैन । एउटै अनुभूति कदापी हुदैन । एउटै ज्ञान कदापी हुँदैन । तिनले जीवनलाई हेर्ने दृष्टिकोण फरक फरक हुन्छ ।
यी विविधताले आज हामीलाई क्लिष्ट बनाइदिएको छ । बुझ्न नसकिने बनाइदिएको छ । म सझ्न्छु म आफै हरपल विनिर्माण भई रहेको हुन्छु । रूपविहीन, अर्थ विहीन । टुक्रिएको र आकार गुमाएको, निराकर । सधै त्यो ‘म’ यो ‘म’ मा आइपुग्दा टुक्राटुक्रा हुन्छ । त्यो म को अस्थित्व सकिएको हँुदोरहेछ । एकाविहानैको ‘म’ दिउँसो भइसक्दा टुटिसक्छ र दिउँसोको ‘म’ बेलुका हुँदा फुटिसक्छ । पत्रीकामा लेख्न बस्दा त्यो ‘म’ झनै छरपष्ट हुन्छ । नेपाली राजनीतिक छरपष्ट रूप र रंग हराएका अवयवहरू जस्तै बन्न पुग्छ त्यो म । ऊ विश्लेषण गर्न खोज्छ तर विषयनै धुजा धुजा छन्, सबै भत्किएर विनिर्माण भएका । अनि ती विषय लेख्न थाल्दा त्यो म पनि लेख्न थाल्नु अघिको म पुरै विघटन हुन पुग्छ र हेर्न थाल्छ तिनीहरूलाई । त्यो म राजनीतिक र समाजमा साहित्यको÷कलाको चक्षुले हेर्दा कस्तो देखिएला भनेर हेर्न थाल्छ । उसले शिर्ष नेताका विनिर्माणहरू देख्छ, अनि त्यसमा समाहित भएर भावुक बन्दै लेख्छ । स्वकीयता, आत्मपरकताले आफूलाई पटक पटक निर्माण गर्र्दै ध्वस्त पार्दै गर्छन् । ‘म’ विहानै उठ्दा वेलुकाको ‘म’ विनिर्माण भइसकेको हुन्छ । अनि विहानको बेलुका । जब म विद्यार्थीसँग उत्तरआधुनिताको बहस गर्दै हुन्छु, त्यो बेला बाँकी सबै म सकिएर विषय र दृष्टिको छरपष्टताको पक्षपाती हुन्छ । विद्यार्थीका विचारका आयाम पढेर आनन्द लाग्छ । अनि म कहिले अधिकारकर्मी हुन्छु । त्यसवेला ऊ न्याय र समानताको रंगमा भावुक हुन्छ । मानवताको सुशेली हालेर उ चिच्याइरहन्छ । जब त्यो ‘म’ घरमा पुग्छ साँझमा, दिनभरिको ‘म’ ध्वस्त हुन्छ । त्यो म माया र प्रेमको, श्रीमानको, बाबुको, छोराको, दाजुको, भाइको, भिनाजुको, ज्वाइँको, साहुको, जेठानको, सोल्टीको, देवरको, जेठाजुको, काकाको, बडाबाको, हजुरबाको, फुपाजुको भूमिकामा उत्रिन्छ । विगतको र दिनभरिको म विनिर्माण हुन्छ । यो म त्यो म भन्दा व्यावहारिक, कचिंगलपूर्ण, कठीन र जिम्मेवारीपूर्ण हुन्छ । यो म ले यी सबैेको चित्त काटिने, मन नदुखाउने तर्पm ध्यान दिनुपर्ने हुन्छ । यो म औपचारिक, सामाजिक र संस्कृत हुँदोरहेछ ।
अनि फेरी त्यो म साहित्य पढन लेख्न तम्सिन्छ । त्यसबेला उसका सबै आग्रहहरू विनिर्माण हुन्छन् । ऊ त नयाँ रंग देख्न थाल्छ रंग विहीनतामा । अर्थात् त्यो म सादा दृष्यमा रंग देखेको फूई लगाउन थाल्छ र भन्छ । त्यसले जीवनको प्रत्येक अवयवलाई रंगीन पाराले भाषामा उतार्ने भाषिक शिल्पकार बन्छ त्यो म । त्यो म रमाउन थाल्छ जीवन र जगतलाई रंगाउन पाउँदा । देख्न पाउँदा । प्रक्षेपण गर्न पाउँदा । त्यो म ले ज्याक लकानले जस्तै भाषामा शब्दमा जीवनको अर्थ खोजिरहन्छ । त्यहाँ भएका विम्बहरूलाई व्याख्या गर्छ । त्यो म भाषाले बोकेको निसृत विषय र भावलाई च्याप्प समातेर बस्छ । अनि अनिष्चयताको विचारमा र अर्थमा रूमलिन्छ । अनि म मानवतावादी बन्छ ।
त्यो म फेरि राजनीतिको आकासमा पोतिन पुग्छ । आज दरिद्रिको सिकार हुनुको पछाडि जनता राजनीतिमा पोतिनु हो । जनता काम नगरेर राजनैतिक गतिविधि र बहसमा केन्द्रित छन् । अनि त्यो म पनि त्यही रंगमा नराम्रोसंग पोतिएर एउट रंगको हिमायती र बाँकी सबै रंगलाई नराम्रो देख्ने एक आँखे म हुन पुग्छ । त्यो म ले एउटा रंगको प्रशंशा गर्छ र बाँकीको रंग खुइल्याउने प्रयास गर्छ । अर्थात् एउटा दललाई सधैं म्वाई खाने र अर्को दललाई संधै धारेहात लाउँछ । मैले इन्द्रेणीमा एउटामात्र रंग हुनुपर्छ भनेपछि यो प्रकृतिको सुन्दरता कहाँ पुग्छ ? एउटा रंगलाई मात्र स्वीकारेर बाँकीलाई प्रकृतिले निषेध गरेको भए यो दुनिया कति कुरूप हुन्थ्यो होला ? इन्द्रेणी शब्दको अर्थ कति कुरूप र अपूर्ण हुन्थ्यो होला ?
त्यो म कहिले कहीँ त्यही एउटा मात्र विचार र रंगको प्रशंशा गर्न पुगेर प्रकृति विरोधी कित्तामा पुग्छ । त्यो म पद, पैसा, शक्तिको सपनामा स्वार्थी, स्वाभिचारी, आततायी, षड्यन्त्रकारी, भ्रष्ट र अनैतिकताको किल्लामा विजय उत्सव मनाउन पुग्छ । त्यो म पहिलेका सबैखाले म लाई ध्वस्त पारेर त्यहाँ भोज खाइरहेको हुन्छ । त्यो म लाई कुनै आत्मग्लानी , हिनाताबोध वा असहज महसुस हुँदैन । त्यो र्निढुक्क छ, सन्तुष्ट छ त्यहाँ ।
त्यो राजनीतिको ‘म’ निमेषमै विनिर्माण हुन्छ र समाज, राष्ट्र र लोकतन्त्रको लागि केहि गर्न भौतिकरूपमा नसके पनि भावनाले लेखेर भएपनि केही गरौं भन्ने भावना बोकेर स्तम्भकारको रूपमा प्रकट हुन्छ । त्यो विगतका सबै म हरूको विघटन गराएर राष्ट्रप्रतिको र नागरिकको दायित्वमा नयाँ म जन्मिन्छ । यो म ले सबै रंगहरूलाई सम्मान गर्दै ती रंगमा भएका त्रुटी र कमजोरीहरूलाई औल्याउन थाल्छ । यो म त्यो म भन्दा स्वतन्त्र र निष्पक्ष हुन्छ र उसले कालोलाई सेतो देख्ने पूर्ण मूर्खता प्रदर्शन पनि गर्दैन । यसले थुप्रै परिभाषाहरू, बाटाहरू दृष्टिकोणहरू, चुलीहरू, मैदानहरू, घामछायाहरू, उकाली र ओरालीहरू देखिसकेको छ । र ती विविधतालाई एउटै रंगमा गिजोल्नु हुदैन भन्छ । ती रंगहरू सिधा पनि हुँदैनन् । सूत्रात्मक पनि हुँदैनन् । सायद यही भएर वी.पी. कोइरालाले आफूलाई सर्जकको रूपमा अराजकतावादी भने । त्यो भनेको एकतत्ववादको विरोधी कुरा थियो । त्यो बहुरंगको समानको कुरा थियो । तिनले बुझेका थिए जीवन जुन छरपष्ट हुन्छ र त्यो सूत्रात्मक हुँदैन । त्यो अनेकौ अवयवमा चिराचिरा परेको हुन्छ । आज विचाहरू पनि विनिर्माण भइरहेका छन । अन्तत जीवनको सार भनेको भत्किनु र विनिर्माण हुनु रहेछ । छरपष्ट हुनु रहेछ, सूत्रात्मक बन्नबाट टाढा जानु रहेछ ।
कम्युनिष्टहरूमा पनि हिजो एउटा दर्शनको एउटा रंगमा जीवन आहुती गरेकाहरूलाई आज त्यो छरपष्ट जिन्दगीको जस्केलामा ल्याएर छाड्दै खुशीसाथ मुस्कुराउँदै विनिर्माण गर्ने कम्युनिष्ट नेताहरूलाई यो भन्दा अघिल्लो विचारमा नायक भनिएको प्रति ती मेरा मित्रलाई कुण्ठा पलाएको हुनसक्छ । तर त्यो लेख पूर्णरूपमा पुनरूक्ति गरेर पनि त्यसको अर्थ नबुझ्नु नै सूत्रविहीन जीवनको लोकतान्त्रिक बाटो हो । अनगिन्ती रंगहरूमा रमाउने स्वतन्त्रता हुन्छ । हिजोको म ले जे देखेको थिएन आजकोे म ले देख्यो । हुनसक्छ प्रचण्डको आजको म ले जे देखिरहेको छ भोलि यो म विनिर्माण भएर अर्को म बनिने छ । त्यसवेला मात्र यो मुलुकले निकास पाउने छ । हिजोका एमाले म हरूले गरेका सबै कामहरूलाई आजका एमाले म हरूले गल्ती भयो भनेर सच्याउँदै छन् । अनि यसको अर्थ लाग्नेछ र मेरा मित्रको पनि चित्त बुझ्ने छ । यति कुरा पनि नबुझी मान्छे बाँच्नु पर्दा साँच्चै पीडा हँुदो रहेछ । मेरो अहिलेको म अब केही क्षणलाई मुक्त भएको छ । तर पनि मेरो परिचय मेरा असंख्य म हरूले बारम्बार भत्काइरहन्छन् । त्यसैमा खुशी लाग्छ, किनकी म कहिल्यै त्यही म नहुने रहेछ ।