समाचार

पार्टी प्रवेशको प्रसंग

जनताको पक्षमा राज्य सञ्चालनमा असक्षम कर्म गरेका दलहरुबाट वाक्कदिक्क भएका जनतालाई फेरी भोट बैंकको रुपमा ग्रहण गर्दै तानातान सुरु भएको छ । ३ दशक बढीको लोकतान्त्रिक अभ्यासबाट पनि जनता सन्तुष्ट हुन नसकेको र निराशा बढी देखिएको अवस्थामा निर्वाचन आउन ३ वर्ष बाँकी रहँदै आफुलाई अब्बल सावित गर्न दलहरुले कार्यकर्ताहरु पार्टीमा तान्ने प्रवृत्ति यतिखेर ह्वात्तै बढेको छ । दलहरुको स्थापनाकालका नेताहरुले गरिदिएको काम, ल्याएको भिजन र बनाइदिएको उद्देश्य र लक्ष्यबाट ब्याज मात्र असुल गरिरहेका आजका दल र तिनका नेताहरुका विकृतजन्य राज्य सञ्चालनका गतिविधिले जनतालाई असहज बनाएको पक्कै छ । तर पनि एउटाबाट आफ्नो स्थिति मजबुत नभएपछि अर्कोले गर्लाकी भन्ने झिनो आसाको त्यान्द्रो समातेर अन्य पार्टीमा जोरजवरजस्ती जानु उनीहरुको रहर नभएर बाध्यता भएको छ ।
दल तथा तिनका नेताहरुले राजनीतिक प्रतिष्ठालाई नैतिक सदाचारितासँग नभई आर्थिक सामथ्र्यसँग जोड्ने जनमत एकदम ठुलो संख्यामा रहेका कारण पनि भ्रष्टाचार बढेको र हरेक दलका राम्रो भनिएका नेताहरु भ्रष्टाचारकै दलदलमा फसेर नेपाली जनता र राज्य प्रति गरेको बैमानकै कारणले पनि अत्याधिक मात्रामा जनतामा निराशा छाएको छ । भ्रष्टाचार नगर्ने र शुन्य सहनशिलता कायम गर्दै राज्यमा सुशासन कायम गर्ने राजनीतिक नेतृत्वमा न साहस, न इच्छाशक्ति, न प्रतिबद्धता र नत इमानदारिता नै देखियो । पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिताको नामोनिशान मेटाएको अवस्थामा गरिने राजनीतिक गतिविधिले खासै उत्साह थप्न सक्दैन । राजनीतिभित्रको विकृतजन्य मखुण्डो लगाएरै भए पनि राजनीतिक दलका नेताहरु जिल्ला जिल्लामा सक्रिय भएको देखिन्छ । त्यो उनीहरु अन्य दलमा लागेका नेता तथा कार्यकर्तामा आफ्नो पार्टीमा तान्दै गर्दा त्यसको प्रतिफलको कुनै आँकलन नगरी सख्यात्मक रुपमा धेरै भन्दा धेरै पार्टी प्रवेश गराउने होडबाजी दलहरुमा चलेको छ ।
राज्यमा जनतासँग प्रत्यक्ष जोडिएका सवाल र समस्याहरु धेरै छन् । कानुन निर्माण गर्नुपर्ने धेरै छन् । जनताका समस्या, विकास निर्माणका कामहरुलाई प्रभावित तुल्याउने गरी ३ वर्ष पछाडि आउने अवधिक निर्वाचनको पछि लाग्नुले राजनीतिक दलहरुको जनताप्रतिको चासो र चिन्ता त्यति नभएको पनि पुष्टि गर्दछ । जनतालाई भोट बैंकको रुपमा ग्रहण गर्न सक्ने राजनीतिक दलहरुको सोच र चिन्तन नै गलत छ । यद्यपि राजनीतिक दलहरु राजनीतिक कर्मप्रतिको धर्म निर्वाह गर्दै जनतालाई दलमा आवद्धता गराउने अभियानमा जुटेका छन् । पार्टी प्रवेशकै सन्दर्भमा झापामा मात्रै केही दिन यता सैयौको संख्यामा एक पछि अर्को पार्टी सक्रिय भएर पार्टी प्रवेश गराउने अभियानमा जुटेका देखिन्छन् ।
यसैसन्दर्भमा बुधबार राष्टिूय प्रजातन्त्र पार्टीले विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी दलका नेता तथा कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र जनता समाजवादी पार्टी परित्याग गरेर पाँच सयबढी नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेको जिल्ला अध्यक्ष केशव ओझाले बताए । केही अगाडि दुर्गा प्रसाई नेतृत्वको राष्टू, राष्टिूयता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बिर्तामोडमा अन्य दलदका ४४ जनालाई भित्र्यायो । नेकपा एमाले झापाले जिल्ला पार्टी कार्यालयको सभाहलमा कार्यक्रम गरी नेकपा एकीकृत समाजवादीनिकट्का नेता तथा कार्यकर्ता ३६ जनालाई पार्टी प्रवेश गरायो ।
पार्टी प्रवेश गराउँदा उनीहरु अप्ठ्यारोमा पारेर, उनीहरुको परिस्थितिलाई क्यास गरेर वा अन्य विभिन्न बाध्यतात्मक परिस्थितिजन्य स्थितिलाई अवसर बनाएर पार्टी प्रवेश गराउनु भन्दा उनीहरुका जीवनलाई सहज बनाउने कार्यक्रम, लक्ष्य र उद्देश्यअुनसार काम गरेर दलहरुले त्यो अुनसारको नीति र लक्ष्य लिएर खुशी बनाए भने आउ भन्नै नपर्ने र जनता स्वयं लालची बनेर दलमा भित्रन सक्ने वातावरण बनाउन दलहरु लाग्नु पर्ने देखिन्छ । जसले गर्दा दलप्रतिको वितृष्णा हटाओस् । दलप्रति गुमेको विश्वास फर्कियोस् । त्यस्ता गतिविधि, आचारण, विधि अपनाउन जरुरी देखिन्छ ।

Author

You may also like