भक्तपुर ,महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले नेपालमा उत्पादनमुलक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सरकारले अनुकूल नीतिगत व्यवस्था र वातावरण बनाएको बताउनुभएको छ ।
अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा मङ्गलबार प्रवासी नेपाली म्याग्देली सङ्घ मोना अन्तरराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन तथा पाँचौँ साधारणसभाको उद्घाटन गर्दै उहाँले लगानी भित्र्याउन आग्रह गर्नुभएको हो ।
मन्त्री थापाले पूर्वाधार तयार र लगानीको सुरक्षा गर्न सरकार सक्षम भएको बताउँदै भन्नुभयो, “स्थिर सरकार भएकाले नेपालमा लगानीको वातावरण बनेको छ । विदेशमा आर्जेको सीप, पूँजी र प्रविधिलाई स्वदेशमा भित्र्याएर राष्ट्र निर्माणमा योगदान गर्नुहोस ।”
जिल्लाको जलविद्युत्, पर्यटन, व्यावसायिक कृषि र पशुपालन क्षेत्रमा लगानी गर्न प्रशस्त सम्भावना भएको उहाँले बताउनुभयो । सरकारले स्वदेशमै रोजगारी सिर्जना गरेर कामको खोजीमा विदेशिनुपर्ने बाध्यता हटाउन प्रधानमन्त्री रोजगारलाई निरन्तरता दिएको र वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन खोजेको उहाँले बताउनुभयो ।
यसैगरी समस्यामा परेका महिला तथा बालबालिकाको सहयोगका लागि रु एक करोडको कोष स्थापना गर्न अभियान चलाइएको छ । साथै ग्रामीण क्षेत्रका ४५ सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । प्रवासी म्याग्देलीको अगुवाइमा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणसमेत शुरु गरिएको छ ।