सम्पादकीय

युवालाई विदेशिनबाट रोकौं

पछिल्लो समय युवाशक्ती विदेशिने क्रम बढ्दो छ । देशमा रोजगारीका अवसर नहुँदा युवावर्ग विदेशिने क्रम बढ्नु चिन्ताजनक विषय बनेको छ । यो विषयमा अब स्वयम् युवा वर्गले पनि सोच्नुपर्ने बेला आएको छ । रोजगारी बृद्धिका लागि साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार व्रिmयाशील रहेको अभिव्यक्तिले युवा जनशक्तिलाई ढाडस् दिइरहेको अनुभुति हुन्छ ।
हुन त नेपालको संविधानले युवालाई समेटेर उत्पादनमूलक कार्यमा रोजगारी दिन बाटो खुल्ला राखेको छ । संविधानमा राज्यले अवलम्बन गर्ने नीतिमा राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको पूर्ण उपयोगको वातावरण सिर्जना गर्ने उल्लेख गरिएको भएपनि सो अनुसार काम हुन सकेको देखिँदैन ।
जनसंख्या बृद्धिदर न्यून हुनु पनि भविष्यप्रतिको चिन्ताको विषय भएकाले घरजम गर्ने उमेरका युवा विदेसिने क्रम रोक्न उद्यमशीलतामा जोड दिने नीति तय गरिएको सरकारका प्रमुखहरुले बेला बेलामा भन्ने गरेका छन् । यस्ता अभिव्यक्तिले केही गरौँ भन्ने चाहना बोकेका युवामा आशा जगाउने काम गरेको छ, तर ब्यवहारमा सरकारले भूमिका निर्वाह गरेको पाइँदैन । मुलुकको नेतृत्व समालेकाहरुलाई सरकार ढाल्ने र बनाउने खेलमा रमाइरहेका देखिन्छन् । भाषणले सुम्सुम्याएर मात्र समस्याको टुंगो लाग्दैन । मुलुकको उद्यमशीलताको हालको अवस्था दक्षिण एसियाली मुलुकको तुलनामा अत्यन्त कमजोर छ भन्ने तर्क अध्ययनले देखाइरहेकै छ । युवालाई व्यावहारिक ज्ञान र सिप विकास तालिमका साथै देशप्रेमको भाव जागृत गराउन पनि उत्तिकै आवश्यक छ । युवाको सशक्तीकरण र विकासमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्दै व्यक्तित्व विकास गर्ने तथा राज्यको विकासको योगदानमा युवालाई उपयुक्त अवसर प्रदान गरिने नीति अख्तियार गरिए पनि त्यस अनुरूपका नीतिनियम तर्जुमा गर्न बाँकी नै छ । युवा जनशक्ति जुनसुकै मुलुकका लागि पनि समृद्धिको पहिलो आधारस्तम्भ युवालाई नै मानिन्छ  । युवावर्ग मुलुकको राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक रूपान्तरणको संवाहक शक्ति भएको सर्वस्वीकार्य छ ।
केही समयअघि गरिएको श्रमशक्ति सर्वेक्षणले बर्सेनि पाँच लाखको हाराहारीमा नयाँ श्रमशक्ति बजारमा आउने देखाएको छ । स्वदेशमा रोजगारीको अभावमा दैनिक हजारौँ युवा विदेसिने यथार्थ जगजाहेर छ । युवावर्गमा रहेको नवीन सोच र प्रविधिको ज्ञानलाई उत्पादनशीलतामा लगाएर वस्तु तथा सेवाको व्यापार बृद्धि गर्नेतर्फ सरकारले पुँजीसहितको प्रोत्साहन प्रदान गर्नुपर्ने देखिन्छ ।
उद्यमशीलता प्रत्येक व्यक्तिमा हुन्छ तर पुँजी र अवसर नहुँदा उजागर हुन सकिरहेको हुँदैन । उद्यम भनेको ठुला उद्योग, कलकारखाना सञ्चालन गर्नु मात्र नभएर जीविकोपार्जनका लागि गरिने सेवा, व्यापार, व्यवसाय सबै उद्यम हुन् । उद्यम गर्नका लागि कुशलता, सिर्जनशीलता, नवप्रवर्तन र जोखिम वहन क्षमता आवश्यक हुन्छ । यसैका लागि सरकारले आँट, पुँजी र संरक्षण गरेर भरोसा वृद्धि गर्न सक्नु पर्छ ।

Author

You may also like