आज रक्तदाता दिवस । अर्थात रक्तदान दिवस । रक्तदान जीवन दान भनेर रक्तदाताहरुलाई हौसला र प्रेरणा दिने दिन । मानिसलाई रगतको महत्वको बारेमा बुझाउने दिन । आज विश्वभर रक्तदान दिवस मनाउने दिन । हरेक वर्ष जुन १४ तारिखलाई संसारभर रक्तदाता दिवसको रुपमा मनाइन्छ । मानव जातिको रक्त समूह पत्ता लगाउने बैज्ञानिक डा. कार्ल ल्याण्डस्टिनरको जन्म दिन १४ जुनको अवसर पारेर रक्तदाता दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनले सन २००४ देखि यो दिवस मनाउन सुरु गरेको हो । यो दिवसलाई रक्तदान दिवस पनि भनिन्छ । यो दिवसमा रक्तदान गर्नु अति महत्वपूर्ण मानिन्छ । साथै यो दिवसका दिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु, मानव शरीरको लागि रगतको महत्वको बारेमा जानकारी गराउनु, रगतको आवश्यकताको जानकारी गराउनु, रक्तदाताले पुर्याएको योगदानको चर्चा गर्नु र उनीहरुलाई धन्यवाद ज्ञापन गर्नु महत्वपूर्ण कार्य हुन जान्छ । साथै यो दिवस मनाउदा शरीरमा सुरक्षित रगत कसरी उत्पादन गर्ने, शरीरमा भएको रगतलाई नास हुन नदिन समय समयमा रक्तदान गर्ने, मानव शरीरका लागि रगतको आवश्यकताको बारेमा जानकारी गराउने, मानिसहरुलाई रक्तदान गर्न प्रोत्साहन गर्ने र रक्तदान गर्ने रक्तदाताहरुलाई धन्यवाद दिने कार्य समेत गर्नु पर्दछ ।
रक्तदान भन्नाले कुनै मानिसले स्वच्छाले आफ्नो रगत अरुलाई दान गर्नु हो । आफुले गरेको दानले अरुको जीवन बच्ने भएकोले रक्तदान जीवनदान भनिएको हो । रक्तदान गर्नु सामाजिक रुपमा र धार्मिक रुपमा एउटा महान कार्य मानिन्छ । रगतको अभावमा छटपटिएमा विरामीहरुलाई उनीहरुको रगतसंग मिल्ने रगत प्राप्त गर्नु भनेको जीवनदान प्राप्त गर्नु हो । अझ धार्मिक दृष्टिकोणले हेर्दा त कसैको जीवन बचाउनु ठूलो धर्म गर्नु हो वा ठूलो पुण्य प्राप्त गर्नु हो । त्यसैले रक्तदान गर्नलाई महत्वपूर्ण कार्य मानिन्छ । धार्मिक मान्यता अनुसार रक्तदान गर्नुलाई उत्तम कार्य मानिन्छ । सामाजिक रुपमा, धार्मिक रुपमा र वैज्ञानिक दृष्टिकोणमा पनि रक्तदानलाई एउटा महत्वपूर्ण कार्य मानिन्छ । किनभने रक्तदानले अरुको जीवन बचाउन सहयोग गर्दछ । विभिन्न धार्मिक शास्त्रहरुमा पनि के भनिएको छ भने मानिसले यस धर्तीमा जन्म लिएपछि आफ्नो लागि त केही न केही गरिरहेका हुन्छन्, तर अरुका लागि भने खासै केही कर्म गर्न सकेका हुदैनन् । यसका लागि रक्तदान एउटा यस्तो सजिलो कार्य हो, जसले अरुको जीवन बचाउनका लागि वा जीवन रक्षाको लागि महत्वपूर्ण सहयोगी कार्य गरेको हुन्छ ।
एक तथ्यांक अनुसार नेपालमा एक हजार जनामा चार जनाले मात्र रक्तदान गर्दै आएका छन् । नेपालमा रहेका कुल रक्तदाताहरु मध्ये पुरुषको संख्या ८६.१ प्रतिशत र महिलाको सख्या १३.९ प्रतिशत रहेको छ । विगत वर्षहरुको तुलनामा पछिल्ला वर्षहरुमा रक्तदान गर्ने रक्तदाताहरुको संख्या बढ्दै गएको पाइन्छ । तर यसरी रक्तदान गर्नेहरुको सख्या बढ्दा पनि रक्तदान गर्नेहरुसंग रक्त सञ्चार केन्द्रले सहयोग र समन्वय नगरेको रक्तदाताहरुको गुनासो रहेको पाइन्छ । रक्तदाताहरु हाम्रो समाजका भगवान हुन्, जस्को रगतले मानिसको जीवनले पुर्नजीवन प्राप्त गर्न सक्दछ । यस्ता रक्तदाताहरुलाई सम्मान गर्नु पर्छ र उनीहरुको राम्रो व्यवस्थापन गर्नु पनि राज्यको दायित्व भित्र पर्दछ । राज्यले जसरी आफ्नो देशको बजेट विभिन्न क्षेत्रमा खर्च गरिरहेको छ, त्यसरी नै रक्तदान तथा रगत व्यवस्थापनमा पनि केही बजेटको व्यवस्था गर्नु जरुरी देखिन्छ । राज्यले रक्तदाताहरुलाई उत्साहित गर्ने र उनीहरुलाई रक्तदान गर्ने कार्य विभिन्न योजना बनाएर कार्य गर्नु पर्छ । जसले गर्दा रक्तदानको कार्य प्रभावकारी बन्न सक्दछ ।
रक्तदान गर्नु एउटा ठूलो धर्म हो । अर्थात रक्तदान गर्नु भनेको जीवन दान गर्नु हो । स्वस्थ मानिसले रक्तदान गर्नु राम्रो मानिन्छ । चिकित्सकहरुका अनुसार एउटा स्वस्थ मानिसले हरेक तिन महिनामा रक्तदान गर्दा शरीरमा कुनै किसिमको हानी– नोक्सानी हुँदैन । रक्तदान गर्ने मानिसको उमेर १८ वर्ष देखि ६० वर्ष सम्मको हुनु पर्छ । यो उमेरका मानिसहरुको रगत बिरामीको लागि उपयुक्त मानिन्छ ।रक्तदान गर्ने मानिसको तौल ४५ केजी भन्दा बढी हुनुपर्ने र रगतमा १२ ग्राम भन्दा बढी हेमोग्लोविन हुनुपर्ने प्रावधान छ । कुनै पनि किसिमको दिर्धरोगी भएको, लामो समयदेखि ओैषधी सेवन गरिरहेको व्यक्तिको रगतलाई उपयुक्त मान्न सकिदैन । त्यस्ता मानिसहरुले रक्तदान गर्नु हुँदैन । महिलाहरुका लागि भने महिनावारी भएको अवस्थामा, गर्भवती भएको अवस्थामा र बच्चाले दूध खाने अवस्था बाहेक अन्य अवस्थामा रक्तदान गर्न सकिन्छ । रक्तदान गर्ने व्यक्तिको स्वास्थ्य ठिक रहेको हुनुपर्छ । रक्तदान गर्नु अधि स्वास्थ्यकर्मीबाट रक्तदान गर्ने व्यक्तिको रक्तचापको अवस्था, नाडीको गति, शारीरिक तापक्रम आदिको परीक्षण गरिन्छ र रक्तदानको लागि योग्य मानिन्छ ।
विशेष गरेर चोटपटक लागेका बिरामीको लागि, दुर्धटनामा परेका बिरामीको लागि, आपतकालिन घटना तथा प्राकृतिक प्रकोपमा परेका घाइतेहरुका लागि, रक्तअल्पता भएका व्यक्तिहरुका लागि, रक्तश्रावसंग सम्बन्धित बिरामीहरुका लागि, शल्यक्रियाको प्रकृयामा रहेका बिरामीहरुका लागि रगतको ठूलो आवस्यकता रहेको हुन्छ । यस्ता व्यक्तिहरुलाई रगतको अभाव हुन दिनु हुदैन । विश्व स्वास्थ्य सगठनका अनुसार विश्वमा अहिले पनि रगतको अभाव रहेको पाइन्छ । रगतको यो आवश्यकता पूरा गर्न कुल जनसंख्याको दुई प्रतिशत मानिसले रक्तदान गर्नु पर्छ । अनि मात्र रगतको मागलाई पूरा गर्न सकिन्छ ।
रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्याहरु र कतिपय मधुमेहजन्य रोगका समस्याहरु निदान हुने कुरा विभिन्न स्वास्थ्य अनुसन्धानहरुले प्रमाणित गरिसकेका छन् । यसका साथै रक्तदान गर्दा केही रोगहरुको परीक्षण गरिने हुँदा आफुमा स्वास्थ्य सम्बन्धि सतर्कता अपनाउन सजिलो हुन्छ ।
विभिन्न स्वास्थ्य सम्बन्धि संघ सस्थाहरुले रक्तदान गर्ने कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गरेको पाइन्छ । रक्तदाताहरुलाई रक्तदान गर्ने कार्यमा प्रोत्साहन गर्ने कार्यमा पनि यस्ता स्वास्थ्य सस्थाहरुले कार्य गरिरहेको पाइन्छ । स्वस्थ मानिसले रक्तदान गर्नु राम्रो कार्य मानिन्छ । किनकी मानिसमा भएको रगतलाई दान नगरे पनि तीन महिनामा त्यो रगत खेर जान्छ । यसरी खेर जाने रगतलाई दान गर्दा अरु कसैको जीवन वच्न सक्छ भने रक्तदान गर्नु महत्वपूर्ण कार्य मानिन्छ । त्यसैले रक्तदान गर्नु जीवन दान हो । जीवन दान गर्नु महादान हो । हामी सबैले रक्तदान गरौ । पुण्य कमाओै । रगत नपाएर वा रगतको अभावमा छटपटिएकाहरुको जीवनलाई बचाओै ।
जय रक्तदाता दिवस ।
दमक–८, झापा