भारतको प्रयागराज स्थित गंगा, यमुना र अन्तः सलिला सरस्वती नदीको संगम तटमा हरेक ब्राह्म वर्ष पछि लाग्ने महाकुम्भ स्नान मेलाको भब्यता सञ्चालन अहिले भइरहेको छ । सन् २०२५ सालको पौष अमावश्या देखि शिवरात्री सम्म जम्मा ४५ दिनसम्म लाग्ने यो महाकुम्भ स्नान मेला अनुपमम अलौकिक आध्यात्मिक र विश्वकै पर्यटनको लागि एउटा लोभलाग्दो गन्तब्यको रुपमा सम्पूर्ण विश्वलाई नै अद्भूत र रमणीय लाग्ने गरी आयोजना भईरहेकोले सम्पूर्ण विश्वले नै यस मेलाको भव्यता र अलौकिकताको अवलोकन गरी आनन्द र रोमाञ्चको अनुभूति गरिरहेका छन् । करीब ६० करोड जति सनातन हिन्दू धर्मावलम्बीहरुले यस कुम्भ मेलामा सहभागिता जनाउने अपेक्षा गरिएकोले सम्पूर्ण कुम्भ क्षेत्रमा नै विशाल मानव सागर ओर्लिरहेको दृश्यहरु टेलिभिजन र आमसंचार माध्यममा आईरहँदा मेला समाप्ति समयसम्म पनि कुम्भ जाने यात्रुहरुको लागि चुनौतिहरु थपिँदै जान सक्ने सम्भावनाहरु पनि व्यक्त गर्न थालिएको छ । यस मेलाको मौलिक संस्कृति विशिष्टताका कारणले गर्दा दिनहुँ गिनीज बुक अफ वल्ड रेकर्डमा नयाँ–नयाँ किर्तिमानहरु स्थापित हुँदै गई रहेको छ । मेला क्षेत्रको आकार र मेला भर्न आउने आम जनमानस, श्रद्धालु र तीर्थ यात्रुहरुको अत्याधिक चापले गर्दा यो मेला संभवतः विश्वकै सबैभन्दा ठूलो मेलाको रुप धारण गरिसकेको छ । वैदिक सनातन हिन्दु धर्म र संस्कृतिमा पवित्र नदी, सरोवर तथा तलाउहरुमा स्नान गर्ने विशिष्ट परम्परा रहँदै आएको छ । गंगा, यमुना र सरस्वतीको संगम तटमा प्रवाहित जलधारामा स्नान, गरी दान, पुण्य तथा पितृहरुको तर्पण गर्ने परम्परा अनादि कालदेखि नै अक्षण्य रुपमा चलिरहेको छ । सबै तीर्थहरुभन्दा ठूलो तीर्थको रुपमा संगम स्नानलाई लिइएकोले यसलाई प्रयागराज तीर्थ मानेर भन्ने गरिएकोले पनि यसको धार्मिक र साँस्कृतिक महत्व रहेको छ । महाकुम्भको अवसरमा गंगा–यमुना र सरस्वतीको संगम तटमा डुबुल्की लगाएर स्नान गरेपछि जुनी–जुनी गरेका सबै पाप कर्महरुको नाश हुन्छ तथा मानिसको जीवन सार्थक तथा पवित्र बन्न जान्छ । कुम्भमा स्नान गर्नेहरुको सम्पूर्ण पितृहरुको समेत उद्धार हुने भएकोले सम्पूर्ण पितृहरु समेत मोक्षपदका अधिकारी बन्दछन् ।
महाकुम्भमा स्नान गर्ने परम्पराको शुरुवात कहिलेदेखि भएको हो भन्ने सम्बन्धमा थुप्रै किसिमका आरव्याबहरु रहेकाछन् । पद्मपुराण र स्कन्द पुराणका अनुसार सर्वप्रथम यस धर्तीलोकमा पवित्र गंगा–यमुना र सरस्वतीको संगम तटमा विश्व शान्ति र कल्याणको लागि ब्रह्माजीले महायज्ञ गर्नु भएको थियो । महाकुम्भको शुरुवात कसरी हुन गएको हो भन्ने सम्बन्धमा अनेकौँ पौराणिक कथाहरुमा वर्णन गरिएको छ । संसारको निर्माण परम चेतना (सुपर कोस्मिक इनर्जी) को शक्तिबाट भएको हो । पद्म पुराण, स्कन्द पुराण र ब्रह्म पुराण अनुसार सृष्टिको निर्माण ब्रह्माजीबाट पालन पोषण गर्ने कार्य भगवान विष्णुबाट र संसारको संहार र प्रलय गर्ने कार्य भगवान शिवबाट हुने भएकोले संसारमा धर्मको स्थापना र अधर्मको विनाशको लागि परमपिता परमेश्वरले काल चक्रको निर्धारण गरी कर्मको आधारमा जीवहरुलाई पाप र पुण्यको उत्तरदायी बनाउने कुराहरुबाट नै संसारिक जीवहरुको लागि विधि–विधानहरुको निर्धारण गरिएको हो । पौराणिक कथाहरुमा देवताहरु तथा दानवहरुले आफ्नो आफ्नो संस्कृति अनुसारको लोकहरुको स्थापना गर्न थालेपछि देवासुर संग्रामको शुरुवात हुन गएको थियो । देवता र दानवहरु बीच पटक–पटक युद्धहरु भईरहन्थ्यो । युद्धमा कहिले देवताहरु त कहिले दानवहरुले नै विजय प्राप्त गर्ने गर्दथे । देवताहरु अमर भएका कारणले देवताहरुलाई मार्न न सकिने तर पराजित गर्न सक्ने हुनाले दानहरुले देवताहरुसंग आमुन्ने–सामुन्नेको युद्ध गर्दा देवताहरुले दानवहरुलाई जित्न न सकेपछि आ–आफ्नो बासस्थल पनि छोड्नु देवताहरुलाई भाग्नु परेको थियो । देवलोकमा पनि राक्षसहरुको राज्य स्थापना भएपछि देवी–देवताहरु पहाडका गुफा र ओडारहरुमा लुकीछिपी पनि बस्नु पर्दथ्यो । देवताहरुकै सुख–सयल गर्ने अप्सराहरु माथि दैत्य राक्षसहरुको रजाई कायम भएपछि देवताहरुलाई भोग लालसाको कारणले गर्दा छट्पटाउन थाले । देवताहरु असीम शक्ति प्राप्त गर्नको लागि अनेकौँ किसिमका जप, तप, ध्यान, योग गर्ने गर्दथे । देव संस्कृतिको रक्षाबाट नै धर्मको रक्षा हुने भएपछि देवताहरु निरन्तर शक्ति सञ्चय गर्ने कार्यमा जुटि रहन्थे । पछि धर्तीमा बिचरण गर्ने ऋषिमुनि र तपस्विहरु तथा ब्राह्मणहरुले पनि आफ्नो दैनिक पुजा, जप, तप ध्यान र हवन साधनहरु गर्न नपाई विरक्त र विचलित भइ फिरन्ते भईरहनु पर्दा दानवहरुलाई कसरी वशमा पार्ने भन्ने सम्बन्धमा जुक्तिहरु लगाई नै रहन्थे । देवगुरू वृहस्पति र दैत्यगुरु तथा दानवहरुबीच मिलेर संसारको भलो गर्नका लागि शक्ति सञ्चय गर्नु आवश्यक रहेकोले समुद्र मन्थन गर्ने कुरामा व्यापक सहमति भयो । सहमति अनुसार समुद्र मन्थन गरेपछि त्यसबाट निस्किने दुर्लभ र बहुमुल्य रत्नहरुलाई बराबर–बराबर बाँड्ने कुराको निश्चय गरिएको थियो । समुद्र मन्थनबाट प्राप्त शक्तिहरुलाई देवता र दानव बीच बाँड्ने कुरामा भएको सहमति अनुरुप मन्दराचल पर्वतको ‘मधानी’ र बासुकी नागको डोरी
(दाम्लो) बाँधेर समुद्र मन्थन कार्य प्रारम्भ भयो । दैत्यहरुको बल र अहंकार देवताहरुभन्दा ठूलो भएकोले उनीहरु बासुकी नागको मुख तीरको भाग समात्ने र देवताहरुलाई पुच्छरतिरको भाग समात्न लगाएर समुद्र मन्थन गर्ने कार्य प्रारम्भ गरे ।
समुद्र मन्थनपछि समुद्रबाट जम्माजम्मी चौधवटा रत्नहरु प्राप्त भएको थियो । तर सर्वाधिक विवाद चाहिँ ‘अमृत कलश’ को लागि भएको थियो । राक्षसहरु अमर हुन नसकेका कारणले गर्दा देवताहरुबाट धेरै नै डराउनु पर्दथ्यो । त्यसैले अमृत कलशलाई राक्षसहरुले आफ्नो भागमा पार्नको लागि खोसाखोस गर्न थाले । अमृत कलशको अमृत चाखेपछि दैत्यहरु पनि देवता जस्तै अमर हुन्छन् र देवताहरुले उनीहरुलाई कहिल्यै पनि पराजित गर्न सक्दैनन् भन्ने पीरले देवताहरुलाई झन् जटिल अवस्थामा पु¥याई दिएको थियो । दैत्यहरु अमृतले भरिएको कुम्भ अर्थात् घडालाई लुछा चुँडी गरी देवताहरुको हातबाट खोसी आकाश मार्ग भएर भाग्न खोज्दा ‘अमृत–कुम्भ’बाट छ वटा थोपा गंगा, यमुना र सरस्वतीको संगम तटमा आएर झरेको हुनाले सम्पूर्ण धर्तीका प्राणीहरुको लागि ‘संगम तटको पानी’ नै अमृत कलशको अमृत बन्यो । त्यही ‘अमृत कुम्भ’ को पानीमा अमृत स्नान गर्नको लागि कुम्भ मेला भर्न देश र विदेशका करौडौँको संख्यामा श्रद्धालुहरु पवित्र संगमको तटमा आस्था र विश्वासको डुबुल्की लगाउन भेला हुने गर्दछन । जुन जुन ठाउँमा जुन–जुन तिथिमा अमृत विन्दु झरेको थियो त्यस त्यस ठाउँहरुमा कुम्भ स्नान गर्नको लागि मेला लाग्ने परम्पराको थालनी हुन गयो ।
यस पालीको कुम्भ मेला विगतको मेला भन्दा धेरै कुराहरुमा उत्कृष्ट र विशिष्ट छ । यसपाली विभिन्न अखडाका नागा सन्यासीहरु, महिला नागा सन्यासीहरु अघोरी सन्यासीहरुले धर्म रक्षा र संस्कृति रक्षाकालागि गरेका त्याग र संघर्षका कथाहरु छापाहरुमा आइरहेका छन् । ठूला–ठूला साधु सन्त र आत्म ज्ञानीहरुको विचार र ध्यान तथा साधनलाई हामी टेलिभिजन र भिडियोका दृश्यहरु मार्फत पनि हेर्न र सुन्न पाईरहेका छौँ । श्रद्धालु भक्तजनहरु बस्न, खान–पान गर्न तथा सुरक्षित तरीकाबाट स्नान गराउन प्रयागराज मेला प्रबन्धन ट्रष्टले भरमगदुर प्रयत्नहरु गरिरहेको छ । एक से एक साधकहरु ज्ञानको खोजीमा विरख्त भएर संगम तटमा घुमिरहेको भेट्न सकिन्छ । धेरै पाखण्डी र अनिश्वरवादीहरुलाई हिन्दू धर्म एउटा अन्धविश्वास मात्र हो भन्ने लाग्न सक्छ तर यथार्थमा हिन्दु धर्मको अथाह ज्ञान र गहिराई संगम तटमा स्नान गर्न श्रद्धालु भक्तजनहरुको अभिव्यक्ति र विचार बुझे पछि थाहा हुन्छ हिन्दु सनातन धर्म विश्वकै उत्कृष्ट र सर्वश्रेष्ठ धर्म हो किनकि यस धर्मभित्र सबै वर्ण, सबै जात–जाति त सबै धर्मको मानिसहरुले एक साथ संगम तटमा स्नान गर्न सक्दछन् । सनातन हिन्दु धर्म विज्ञान सापेक्ष छ , धर्म र विज्ञानलाई जोडेर सनातन हिन्दु धर्म आज विश्व गुरू बन्न तयार छ ।