लेख विचार/वहस

पूर्ण विकास र सर्वविनास माथि उब्जेको दृष्टि भ्रम

भूमण्डलीकरण, प्राईभेटाइजेसन, लिबरलाईजेसन तथा विश्वव्यापीकरणको युगमा कुनै पनि गरिब देशको समृद्धि सम्भव छ वा छैन भन्ने सम्बन्धमा विभिन्न कोणहरुबाट फरक फरक किसिमका तर्कहरु, अभिमतहरु त बहसहरु गर्न सक्ने प्रशस्त ठाउँहरु हुन्छन् । हाम्रो आँखा अगाडिकै विकासको इतिहासलाई नियालेर हेर्ने हो भने विकासकै आधारमा विकसित देशहरु र अल्प विकसित देशहरु भनेर संसारलाई छुट्याइदिने परम्परा बसिसकेको छ । एकातिर संसारमा यस्ता गरिब समुदायहरु छन् जो संग नगन्य मात्रामा साधनहरु उपलब्ध छन् जबकि यस्ता धनी छन् जसमध्ये कसैले पनि ‘पर्ख, हामीसँग पर्याप्त साधनहरु उपलब्ध छ, अब अरु साधनहरुको खाँचो हामीलाई छैन’ भनेर खुलेर भन्न सक्ने एक जना मानिस पनि देखा परेको छैन । उनीहरुलाई धैरै इन्धनको (तेल) खाँचो छ जसबाट उनीहरुलाई अझ बढी सम्पन्न बनाउन सकिन्छ । यसमा अलिकति पनि शंका गर्ने ठाउँ छैन । संसारमा भौतिक साधनहरुको प्राप्ति गर्नु संभव छ । भौतिकतावादी दर्शनमा विश्वास गरेर विभिन्न क्षेत्रहरुमा पहुँच बढाउन सकिन्छ । तर यस्तो क्रियाकलापले विश्वमा शान्ति स्थापना हुन्छ कि हँदैन भन्न गाह्रो छ । धनी देशहरुले कम्तिमा पनि सय वर्षसम्मको लागि सहिलाई गलत र गलतलाई सही सावित गर्न सक्ने सामथ्र्य हाँसिल गरिसकेका छन् ।

अहिलेको मानव समाज सिकाईको नयाँ युगमा प्रवेश गरिसकेको छ र त्यसले संसारमा रहेका धेरै पुरानो प्रचलनहरुलाई हटाउँदै लगिरहेको छ । तर पनि हामीलाई अहिलेसम्म पनि शान्तिपूर्वक कसरी बाँच्न सकिन्छ भन्ने साधारण कुराहरु बारे पनि जानकारी र ज्ञान हाँसिल हुन सकेको छैन् । यो सत्य हो । यो राजनीतिक दलहरुको जिम्मेवारी बन्छ कि देशका सामाजिक अभियन्ता र वैज्ञानिकहरुले समाजमा बाँच्नका लागि युद्ध र संधर्ष नहोस् तथा नागरिक समाजहरुलाई यस्तो किसिमको कुनै बाधा अवरोध नआओस् भनेर यति भन्न सजिलो छैन । हामीलाई के सिकाईँदैछ भने हामी अहिले न्यूक्लियर एज अर्थात परमाणु युगमा छौँ । तर सत्य तथ्य के छ भने हामीले आफूसँगै प्रकृतिले सृजना गरेको वातावरणलाई बाँच्न दिइराखेका छैनौँ, जसले हामीलाई बचाईराखेको छ । यो कस्तो विडम्बना हो ?

आज सम्पुर्ण विश्व नै पश्चिमेली जगत अर्थात वेस्टर्नाइजेसनको प्रकृयामा सबै देशका भाषा, संस्कृति, परम्परा र सभ्यतालाई उछिन्दै अगाडि बढिरहेको छ । स्वतन्त्रताका नाउँमा छाडावाद संस्कृतिको पृष्ठपोषणमा लागेका विकसित देशहरु अहिले महिला स्वतन्त्रता र अधिकारको नाममा आफ्नो विशिष्ट संस्कृति, मूल्यमान्यता, धर्म, संस्कृति र रितिथितीलाई समेत बिर्सिदैँ अर्धनग्न झैँ देखिने परिधानमा नारी स्वतन्त्रतालाई सम्मान गर्न खोजिरहेको छ र यस्तै स्वतन्त्रता विश्वका समस्त नारी जातिले प्राप्त गरुन् भनेर अनेकौँ थरिका विचारहरुको प्रतिपादन गरेर आधुनिकता र विकासको नाउँबाट त्यसलाई सर्वस्वीकार्य बनाउने डिप्लोमेसीलाई प्रयोग गरिरहेको छ । यसले गर्दा विश्वमा अनन्त कालदेखि रहँदै आएको बहुलवादी संस्कृति, विचार र दर्शन तथा पहिचानहरु खतरामा पर्दै गइरहेको देखिन्छ । विकासको सवालमा कुनै युगदेखि दिगो रुपमा प्रचलनमा रहेको भाषा, भेष र संस्कृति तथा पहिचानलाई यसरी विलुप्त हुनबाट बचाउँन आवश्यक छ । संसारैभरी कहिलेपनि एकै खालको जनजीवन, सामाजिक संरचना र आर्थिक अवस्था विद्यमान रहन सक्दैन । विकसित मुलुकहरुले बनाएको विकास अवधारणालाई मनन गर्दा धेरै पैसा कमाउनु, धेरै शिक्षा हासिल गर्नु, धेरै खुसी मनाउनु तथा अति आनन्द र हर्षको अनुभुति गर्नु र गराउनुलाई मात्र पनि विकास भनेर परिसिमन गर्दा विकासभित्रका अनेकौँ वहुमुल्य रत्नहरु खोटो सिक्कामा परिणत हुन थालेका छन् । विकासको आँधी सयौँ वर्षदेखि चलिरहँदा पनि विकसित भनाउँदा देशहरुको सहयोगले दुनियाँको कुनै पनि एउटा गरिब देश आजसम्म धनी बन्न सकेको छैन । विकासका केही परिसूचकहरुमा सुधार हुँदै गएको देखिएपनि त्यसले समग्र मानव विकासलाई मापन गर्न सकेको छैन ।

आज विकसित र आधुनिक भनाउँदा देशहरुको कारणले गर्दा विश्वको वातावरण बिग्रिँदै छ । वातावरण असन्तुलनले गर्दा विश्वको तापक्रममा अभूतपूर्व वृद्धि आइरहेको देखा पर्न थालिसकेको छ । सगरमाथा हिमालमाथि फोहोरको डङगुर थुप्रिरहने अवस्था सृजना भइरहेको छ । हिमाल चढ्न जाने पर्वतारोहीहरुले हिम शिखरमा पाइला टेकेर फर्किँदा आफूले गरेको दिसा पिसाबहरुको प्याकेट आफै बोकेर आधार शिविरसम्म फिर्ता ल्याउनु पर्ने अवस्था सृजना भइसकेको छ । अति आनन्द प्राप्त गर्नका लागि धनी देशहरुले गरेको प्राकृतिक स्रोत साधनहरुको दोहनले गर्दा धर्ती नै त्राहिमाम हुन थालेको छ । हिमालमा हिउँ जम्न छोडेको छ । हिमालमा जमेका हिउँ पनि पग्लिएर ग्लेसियर अर्थात् हिमनदीहरुमा जम्न थालेको छ । हिमताल विष्फोटबाट ठूलो जनधनको हानी व्यहोर्नु पर्ने अवस्थाको कारक र जिम्मेवार तत्व तथा शक्तिहरुलाई पहिचान गर्नु जरुरी छ । धनी देशहरुले विज्ञान, औषधी र चिकित्साको क्षेत्रमा कैयौँ शताब्दि भन्दा बढी प्रगति गरेको देखिन्छ । तर पनि मानव स्वास्थ्यको दृष्टिले विश्वको कुनै पनि शहर आज सुरक्षित, भरपर्दो र स्वस्थ बन्न सकेको छैन । धनी देशहरुले सृजना गरेको धुलो, धुवाँ, रासायनिक पदार्थको उत्सर्जन र परमाणु भट्टिहरुबाट निस्किने अति प्रज्वलनशील विनासकारी उर्जाले गर्दा आज मानव स्वास्थ्य मात्र होइन, विश्वको पर्यावरण सन्तुलन पनि अत्यधिक मात्रामा जोखिममा परेको देखिन्छ । कोविड १९ ले सृजना गरेको महामारी फैलिँदा विश्वव्यापी रुप लिन्छ । लाखौँ मानिसहरुले जीवन गुमाउनु परेको छ तथा मानव जातिले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ । विकसित देशहरुले सृजना गरेको घातक कृयाकलापहरुले गर्दा विश्व नै खतरामा परेको छ । यस्तो अवस्थामा हासिल भएको उन्नति, प्रगिति र विकासलाई डेभलपमेन्ट भन्ने कि विनास भन्ने जस्ता कुराहरु उठान गर्न थालिएको छ । यसको जिम्मेवारी बोधवाट धनी देशहरु उम्किन पाउँदैनन् । धेरै विकास गर्नका लागि धेरै इनर्जी चाहिन्छ, धेरै फ्युल बाल्नु पर्छ तर त्यस्तो इन्धन कहाँबाट ल्याउने र त्यसलाई कति वर्षसम्म उपयोग गरिरहने भन्ने प्रश्न आफ्नो ठाउँमा उपयुक्त प्रश्न नै रहेको भन्ने बारे बुझ्न सकिन्छ ।

आज धनी देशहरुले जहिले पनि युद्धकै कुरा गरिरहेका छन् । युद्ध माथि युद्ध थुपार्दै धनी देशहरुले घात प्रतिघातका नयाँ अस्त्र, शस्त्र र आयुद्धहरु निर्माण गर्न लागिपरेका छन् । सैन्य सञ्चालन गतिविधिले गर्दा विश्व नै ध्वस्त हुने अवस्था सृजना हुन लागेको छ । के यही हो विकास ? के यस्तै किसिमको विकासबाट संसारमा शान्तिको दियो बाल्ने सपना धनी देशहरुले देखाइरहेका छन् ? आज रुस, युक्रेन, इजरायल, फिलिस्तिन, अमेरिका, इरान, सिरिया, भारत, पाकिस्तान, दक्षिणकोरिया, चीन लगायतका देशहरु परमाणु बमको संहारक शक्ति प्रदर्शनमा लागिपरेका देखिन्छन् । के यही हो नयाँ अनि आधुनिक युग ? यस बारे जनजिज्ञासा हुनु स्वभाविक हो । धनी हुने र मानिसको सबै स्वार्थलाई पुरा गर्ने कार्यलाई नै विकास भन्ने, तर मानव र प्रकृति बीचको संग्राममा मानवलाई विजयी बनाउने मानसिकतामा प्रकृतिलाई गुलाम बनाउने सोचबाट प्रकृतिको सुन्दरता र वातावरणीय सन्तुलनलाई खल्बल्याईदिने कार्यलाई विकास नभनेर विनास नै भन्नुु बेस हुन्छ । प्रकृतिको पनि संरक्षण गर्नु पर्दछ । त्यसलाई उपयोग गर्ने सवालमा दिगोपना होस् भन्ने कुरामा पनि ध्यान दिनु पर्दछ । आज विश्वका ठूला देशका नेताहरुले मात्र हैन ससाना देशका नेताहरुले पनि जनतामा विकासको भ्रम छर्दै छन् । गाउँ गाउँमा विकास हुने त के कुरो, शहर पनि क्रुर, विषाक्त र अमानवीय तथा अवाञ्क्षित कृयाकलापले भरिपूर्ण बस्ति र महानगरको रुपमा विकास हुँदैछन् । यस्तो अवस्थामा संसारै भरी एकनास रुपले चल्ने विकासको रथ कसरी अगाडि बढ्छ ? आउनुहोस् विचार गर्नुहोस् र आफ्नो बुद्धि तथा विवेकलाई संसारको हितमा खियाउनु होस् ।

उर्लाबारी, मोरङ

Author

You may also like