म इटहरीबाट पूर्व जाने गाडी चढें । गाडी खचाखच भरिएको थियो । विराट चौक पुगेपछि केही यात्रुहरु ओर्लिए, पछाडिको ३ वटा सिट खाली भयो । त्यही खालि सिटमा गएर बसे ।

लालभित्ती पुगेपछि, एकजना कानमा एयरफोन ठोसेको, हेर्दा गुरुङ, मगर जस्तो देखिने लगभग ३०÷३२ बर्षको लोग्ने मान्छे आएर, ‘सिट खाली हो ?’ भन्दै सोधे । ‘खाली नै हो’ को भन्ने इशारामा टाउको हल्लाएँ ।

मोबाइलमा के हेर्दै रहेछ भनेर यसो आखाँ छड्के पारेर हेरेको, पढाईको यूट्युव हेर्दै रहेछ । गाडी कानेपोखरी पुगेपछि, उसले एयरफोन हटायो । म तिर पुलुक्क हेर्यो । मैले पनि, ‘तपाई शिक्षक हो ?’ भनेर सोधे । ‘हो’ भनेर जवाफ दियो । म मुस्कुराएँ, उ पनि । फेरि कानमा एयरफोन लगाएर, यूट्युव हेर्न थाल्यो । म बसको झ्यालबाट परिदृश्य अवलोकन गरिरहें । गर्न पनि के सक्थें र ? मलाई सानो बाह्रघरे जानु थियो । उर्लाबारी झरेर जाउँ कि दमकबाट जाउँ भइरहेको थियो । त्यतिञ्जेलसम्ममा बस मंगलबारे पुगिसकेको थियो ।दमकबाट नै जाने निधो गरें । सानो बाह्रघरे, मेरो साथी राशिकाको बिहेमा गइरहेको थिएँ । उर्लाबारी पुगेपछि गाडी रोकियो र त्यो मान्छे पनि त्यहीँ ओर्लियो ।

गाडी दमक तिर हुइकियो । केही बेरको यात्रापछि दमक पुग्नासाथ म ओर्लिएँ । बाह्रघरे गाडी स्टेण्डमा पुगें, गाडी पातलो थियो, १÷१ घण्टाको अन्तरालमा गाडी जाने रहेछ । स्टेण्डमा एउटा मात्र बस थियो । ‘कति बेला जान्छ ?’ मैले सोधें । ‘अब गइ हाल्छ’ सहचालकले भन्यो । बसमा अलि अलि मानिस थिए । म पनि बीचतिरको खाली सिटमा गएर बसें । गाडी बिस्तारै बाह्रघरे तिर बढ्यो । ‘बाह्रघरे, बाह्रघरे’ भन्दै ढोकाको स्टाफ कराउन थाल्यो । गाडी अलि अगाडी रतुवा पुलमा पुग्दा नपुग्दै केही यात्रुहरु चढे । तीमध्ये एकजना मेरो छेउको खाली सिटमा आएर बसे । अघि उर्लाबारीमा ओर्लेको, कानमा एयरफोन ठोसेको, त्यही मान्छे मेरो छेउको खाली सिटमा आएर बस्दा म छक्क परिरहेको थिए, मुसुक्क मुस्कुराएँ तर बिना प्रतिकृया बसिरहें ।

एकछिन सोचे, ‘केही समय अघि मात्र उर्लाबारीमा उत्रेको मान्छे, यहाँ कसरी ?’ सायद कुनै ट्याक्सी वा साथीभाईको मोटरसाइकलमा चढेर आयो होला ।’ अनि फेरी नियालेर हेरें, अघि उर्लाबारीमा ओर्लिएको मान्छेको जस्तो दुरुस्त अनुहार तर कपडा अर्कै अनि कानमा एयरफोन ठोसेको थिएन । ‘संसारमा दुरुस्तै अनुहार भएको ७ जना हुन्छ रे’ भन्ने कतै पढेको याद आयो । बाटो ग्राभेल भएकोले गर्दा लगभग २ घण्टापछि सानो बाह्रघरे पुग्यो । गाडी सानो बाह्रघरे पुग्दा साँझ परिसकेको थियो ।

सानो छँदाको साथीहरू भेट्ने औद्यी मन थियो । राजेश, राष्ट्र, तिर्थ, प्रकाश, हिराधन, शशी यस्ता मेरा धेरै बालसखाहरू राशिकाको बिहेमा भेट हुन्छन् होला भन्ने सोच्दै सानो बाह्रघरे आएको थिए । राशिकाको घर काठको ठूलो टाढे घर थियो, घरको अघाडी ठूलो आँगन थियो, सानो छँदा हामी त्यही आँगनमा खेल्ने गर्दथ्यौं । राशिकाको घर पुगे । उनको सबै परिवारसँग भेटघाट भयो ।

राशिकालाई देख्नासाथ मनमा बालापन याद आयो ।

‘ओई, यत्ति धेरै वर्षपछि यहाँ आउँदा कस्तो लागिराछ राशिका ?’ कस्तो रमाइलो लागिराछ नी ।’, म ‘ओई, क कसलाई बोलाको छस् ? मलाई त सानोको साथीहरू कस्तो भेट्न मन लागेको छ ।’ यत्तिकैमा एकजना केटा मान्छे आएर, ‘रवि होइन ?’ भनेर सोध्यो । राशिका ः ‘चिनिनस् ? कालु हौ, कालु मेचे ।’

केही क्षण गफ गरेर कालु ‘बिहेको कार्ड अझै बाँढ्न बाँकी छ, बाडी सकेको छैन, बाँढ्न जान्छु, भरै भेटौ ल’ भन्दै गयो । तँ मेरो कोठामा आराम गर भन्दै राशिका र म कोठा तिर गयौं । राशिका एकछिन मसँग कुरा गरेर घरको अरू काम मिलाउन बाहिर गइन् । यात्राले गर्दा अलिक थकाई लागेको शिथिल शरीर, म कोठामा यता उता ओल्याङ टोल्याङ गर्न थाले । यत्तिकैमा ऐना तिर नजर घुमाए, ऐना हेरें । ऐनाले मलाई, लाग्थ्यो ऐना भित्रबाट कसैले हेरिरहेको जस्तो । ऐनाको एक कुनामा पासपोर्ट साइजको फोटो, त्यो फोटो हेरेर म छक्क मात्र होइन तीन छक्क परिरहेको थिएँ । त्यतिखेर नै सानोको अर्को साथी सुजाता आइन्, ‘ओई, आम्मा ! हौ, यो त कस्ति अर्कै भइछे ?’ भन्दै अचम्म मान्दै कराउन थालिन् ।हाम्रो केहीबेरको भलाकुसारी पछि, ‘यो फोटो कस्को ?’ भनेर सोधें । ‘जाउ अहिले तल, यसको बारेमा म पछि भन्छु ।’ भन्दै सुजाता मलाई तान्न थाली । हामी तल झर्यौ ।

घर अगाडि पैनी र पैनी अगाडि चाहि डुम्री चौर थियो । चौरको अलि परतिर केही ठूला रुखहरू त केही स–साना बुट्यानहरू पनि थिए । डुम्री चौरतिर रुमलिन गयौं, त्यहाँ हामी जस्तै रुमलिन आएका अरूहरू पनि थिए । रात पर्न थालेकोले गर्दा हामी घर तिर लाग्यौं । मेरा लागि राशिकाले उनकै कोठामा सुत्ने व्यवस्था मिलाएको रहेछ, उ र म धेरै कुराकानी गरेर सुत्यौं ।

म हतपत सपना नदेख्ने मान्छे, त्यो रात सपना देखें, अझ म यो कुरामा छक्क परिरहेको थिएँ कि सपनामा देखेको मान्छे, गाडीमा भेटेको उस्तै अनुहारको दुई मान्छे र ऐनाको छेउको फोटोको सबै, एउटै मान्छे थिए । सपनामा डुम्री चौर, चौर परतिरको ठूला रुखहरू र साना बुट्यानहरू पनि देखें ।

बिहान उठें, मनमा कुरा खेलिरह्यो, ‘कस्तो सपना देखेको होला’ भनेर । सुजाताको घर राशिकाको घर भन्दा ५ घर तल थियो । सुजाता कतिबेला आउलिन र फोटोको बारेमा सोधौं भइराथ्यो, सुजाता पनि टुप्लुक्क आई । मैले सुजातालाई सबै कुरा सुनाएँ । सुजाता अचम्ममा पर्दै, ‘मान्छे नै पो भेटिस् ?’ भन्न थाली । ‘त्यो फोटो ठूलो बाह्रघरेको धन दाईको हो । हामी यहाँबाट दमक कलेज पढ्न जाँदा, राशिका र धन दाईको भेट भाथ्यो, लभ पनि परेको थियो । दाई पछि अफगानिस्तान जानु भयो र त्यतै बम बिस्फोटमा ज्यान गुम्यो रे भन्ने सुनेको । अब त राशिकाको बिहे पनि हुन लागेको छ सायद त्यो फोटो फ्याँक्छे होली ।’

सुजताले यी सबै कुराहरू सुनाइराख्दा, कुनै फिल्मको कहानी सुनाए झंै लागिरहेको थियो । यो कस्तो अचम्म, त्यो गाडीको भेट, ऐनाले केही भन्न खोजे जस्तो अनुभूत र सपनाले केही दर्शाउन खोजेको हो की ‘?’ भन्ने महसुस भइरहेको थियो । लाग्थ्यो, ‘डुम्री चौर पारीको ती बुट्यानहरूबाट सुस्केरा लगाउँदै कसैले बोलाई रहेको छ ।’ धेरै कुरा मनमा खेलाउँदै बार्दलीबाट डुम्री चौर परतिरको बुट्यानहरू हेर्दै बसिरहे, नियाली रहें ।

विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल, विराटनगर

Author

You may also like