कथाले मन्दिर जन्माउँछन् कि मन्दिरले कथा जन्माउँछ ?’ भनेर प्रश्न ग¥यो भने अण्डा पहिला कि पोथी ? भन्ने प्रश्नकै उत्तर आउन सक्ला । तर यसपालीको धर्मिक यात्राले यसको उत्तर भने दिएको छ । २०८२ बैशाख महिनाको अंत्यहुँदै थियो । गर्मी निकै बढेको थियो । तिरूपतिबाट दिल्ली फर्किएकै दिन हामी दिल्लीबाट तीन घण्टाको यात्रामा बृन्दावन पुग्दा अपरान्ह भइसकेको थियो ।
मेरो चन्द्र गुरू र रमेश नानी बाहेक हामीहरूको त्यो बृन्दाबनको यात्रा पहिलो थियो । छोरी ज्वाईंले हामी दुई परिवारको भ्रमणको चाँजोपाँजो मिलाएका थिए ।
नाम अनुसारको बृन्दावन सोचेको थिएँ मैले । बन भएकोले जंगलै जंगल होला । कुटीहरू होलान । श्रीमद भागवत पूराणमा बर्णन गरिएको बृन्दावन होला ।
हामी मूल गेटबाट बृन्दावन प्रवेश ग¥यौं । अनि मन्दिर र घरहरूको साम्राज्य देखा पर्न थाल्यो । धार्मिक पर्यटनको केन्द्र भएकाले मान्छेहरूको भीड उतिकै थियो । हामी रेडिसन होटलमा पुगेर पोका पत्यौरा बिसायौं । त्यसपछि हाम्रो धार्मिक यात्रा सुरू भयो ।
पाँचतारे रेडिसन होटलको बसाइमा नयाँ अनुभव त छँदै थियो, त्यसमा पनि खानाको इमान्दारिता पनि देखियो । त्यत्रो लगानीमा खुलेको होटलमा मासु र रक्सी निषेध । जति पनि उच्च तहका मान्छेहरू आए, ती सबैले भगवानको नाम पुकारेर सात्वीक भोजन गर्दा रहेछन् । हामी त्यस होटलमा पुग्दा भारतका बिख्यात क्रिकेटर बिराट कोहली उनकी श्रीमति अनुष्का र छोरा भर्खर निस्किएका थिए होटलबाट बिदा भएर ।
‘हैट, एक दुई दिन अगाडि त आउनु रहेछ । बिराट कोहलीसंग गफ गर्न पाइन्थ्यो, फोटा त कम्तिमा खिच्न पाइन्थ्यो’, ज्वाईं (राजु) उत्तेजित हुनुभयो बिराट कोहलीको परिवार पनि यहीं बसेका थिए भन्ने थाहा पाए पछि । किनभने ज्वाईको अष्ट्रेलियामा आप्mनै स्पोन्सरको क्रिकेट क्लव छ । उहाँ सकि नसकि आपूm पनि क्रिकेट खेल्नु हुन्छ ।
साँझ परिसकेको थियो । हामी कहिले त्यहीं होटलको, कहिले बाहिर अन्य होटलको पनि खानाको परिकार लिने कार्यक्रम थियो । हाम्रो रोजाइमा भारती होटल र प्रेम इन थिए ।
भोलिपल्ट हामी बृन्दावनको यात्रामा निस्कियौं । पहिलो रोजाई थियो बाँके बिहारी मन्दिरको दर्शन । हर मानिस यसको दर्शन गरेर मात्र अरू सुरू गर्दा रहेछन् । भगवान श्रीकृष्णको एक रूप बाँके बिहारी भएकाले श्रीकृष्णको दर्शन गरे जत्तिकै लाग्यो । नातिलाई काँधमा बोकेर खाली खुट्टाले छिचोल्दै गयौं अरू सबै मन्दिरहरूमा । भगवान श्रीकष्णलाई राधारमणको रूपमा पूजा गरिने राधारवण मन्दिर, श्रीकृष्ण र राधाले गोपिनीहरूसंग रसलीला गरेको निधिवन, सेवाकुञ्ज, भगवान श्रीकृष्णले दत्य केशीलाई बध गरेको केशीघाट तथा जगतगुरू कृपालुजी महाराजले निर्माण गरेको प्रेम मन्दिर ।
कृपालुजी महाराजको साम्राज्य देखियो त्यहाँ । उनैको अध्ययन केन्द्र । उनकै महाविद्यालय । उनकै असंख्य मन्दिरहरू
(जस्तै प्रेम मन्दिर) । उनकै अत्याधुनिक होटलहरू । जस्तै प्रेम इन जहाँ हामीले धेरै पटक खाना खायौं । सफा । उत्कृष्ट खाना । लोभलाग्दो वातावरण । उच्च स्तरको सेवा । कृपालुजी महाराज मरेर गए पनि उनको आत्मा त्यहीं डुलिरहे जस्तो । उनको गुण त्यहाँ काम गर्ने हरेक मानिसले बोकिरहे जस्तो । अझ साँझमा प्रम मन्दिरको दर्शन गर्न आएका मानिसको भीड अकल्पनीय थियो । त्यो अकल्पनीय भीडमा मन्दिर परिसरमा, मन्दिरमा बालेका बत्तीहरू र तिनको रंगीन उज्यालो साँच्चिने जादुमय थियो । प्रकाश आपैm पनि उज्यालो हो । ज्ञान हो । विवेक हो । संस्कार र संस्कृति हो । त्यसमा रंगहरू मिसिएपछि मन, बचन र कर्महरू सबै रंगीन बनेको जस्तो भयो । रातको समयमा पनि हजारौं सूर्यहरू एकसाथ उदाए जस्तो भयो । मैले स्वयं कृपालुजी प्रकट भएको जस्तो महसुस गरें । उनी त्यहीं कतै छन् जस्तो लाग्यो ।
रातको प्रेम मन्दिरको त्यो जादुमय दर्शनपछि भोलिपल्ट हामी मथुरा जाने र गोकुल दर्शन गर्ने योजना बनाउन थाल्यौं ।
भोलिपल्ट विहानै हामी गोकुल दर्शनका लागि निस्कियौं । त्यहाँ श्रीकष्णले बाल्यकाल बिताएको प्रतिविम्वित हुने नन्द भवन, कृष्णजीले गोपबालकहरूसंग बिताएको रमनरेती, ८४ खम्बा भएको कृष्णजीको सभाहल आदिको दर्शन गरियो । त्यसपछि हामी मथुरा गयौं, जहाँ भगवान श्रीकष्ण जन्मेको मन्दिर छ, र त्यहाँ अँध्यारो काल कोठरी जस्तै छ । त्यसको बिम्ब भनेको कृष्णको जन्म सहज र सुन्दर भएको थिएन भन्नु हो । वास्तविक जस्तै लाग्ने भगवान श्रीकृष्णको जन्मस्थान हेरियो ।
हामी अर्को दिन गोवर्धन जाने योजना बनाउँदै होटल फर्कियौं ।
भालिपल्ट हामी गोवर्धन गयौं । त्यहाँ भगवान श्रीकृष्णले गोवर्धन उठाएको विश्वास गरिएको दांघाती मन्दिर, मुगलहरूले नष्ट गरेर पछि निर्माण गरिएको हरिदेव मन्दिर, श्रीकष्णले गोवर्धन पर्वत थाम्दा स्पर्श गरेको पुन्छरी का लो्टा मन्दिर, राधा कुण्ड, गोविन्द कुण्ड आदिको दर्शन गरियो । र विशेष त गाृवर्धन पर्वत परिक्रमामा एउटा अदभूत प्रतिज्ञा देखियो । बाल्यकालमा इन्द्र भगवानको घमण्ड तोड्न गोवर्धन पर्वतलाई ७ दिनसम्म एउटा औंलाले उठाएका थिए । यो पर्वतको परिधि २१ किलोमिटर छ । अनि भक्तजनहरूले ‘जय गोवर्धनघारी’ भन्दै कोही रिक्सामा चढेर (हामी जस्ताले), कोही खालि खुट्टा हिंडेर, कोही सुतेर परिक्रमा गर्दारहेछन् । कति दिन लाग्दो हो सुतेर त्यसको परिक्रमा गर्न ? पैतालाले भईं छुँदा मकैका फुल उठाउने तातो भुँईं टेकेर कसरी परिक्रमा गर्दाहुन् ? त्यो होचो पर्वत (३० फिट जति अग्लो) को अग्लो कथा थियो ! अग्लो पर्वतका होचा कथा बोकेर जीवनभर बाँचेका हामीलाई केही फरक परेन भनौं । किनभने श्रीमदभागवत महापूराणको सबै कथा बृन्दावनका मन्दिर र कुवाहरूले बोकेको देख्दा अचम्म लाग्यो । मन्दिरले महापूराण निर्माण गरेको अजिव कहानी मनभरी सजाएर हामी भोलिपल्टै नेपाल फर्किने चाँजोपाँजोमा जुट्यौं ।