यसबेला नयाँ शैक्षिक शत्र सुरु भएसंगै सामुदायिक विद्यालय सरकारले घोषणा गरेर नै भर्ना अभियान सञ्चालनमा छ । संस्थागतले आफ्नै हिसावले भर्ना अभियान सञ्चालन गरिरहेका छन् । अर्थात यो बेला सामुदायिकले कि संस्थागतले विद्यार्थी तान्ने भन्ने होडबाजी चलेको छ ।
सरकारले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनेर घोषणा गरेपनि त्यसको व्यवहारिक कार्यान्वयन भएको देखिदैन । शिक्षक र कर्मचारी दरबन्दी, भौतिक पूर्वाधार तथा विद्यालयमा आवश्यक आर्थिक व्यवस्थापनमा सरकारले सघाउन नसके निःशुल्क शिक्षा प्रभावकारी नहुने स्पष्टै छ । यस अवस्थामा भर्ना अभियानमा आफुले चाँही गुणस्तरीय शिक्षा दिने, त्यसमा पनि सुविधा बढी दिने भन्ने नाममा प्रतिष्पर्धा छ । तर सरल खर्चमा साँच्चैको गुणस्तरीय शिक्षा र सुविधा चाँही कस्ले दिइरहेको होला ? यो नियाल्नु आवश्यक छ ।
संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) का अनुसार विद्यालय शैक्षिक सेवा प्रदान गर्ने केन्द्र हो जसले ज्ञान, सीप, आचरण, मूल्य, मान्यता हासिल गर्न र सिक्नमा सहज बनाउँछ । यसैले विद्यालयमा विद्यार्थीलाई स्वःस्फूर्त आनन्द महसुस गर्ने, ज्ञान प्राप्त गर्ने, समानुभूति अनुभव गर्ने वातावरण हुनुपर्छ ।
विद्यालयहरू सुविधासम्पन्न महँगो, कडा, फितलो, सस्तो, अतिरिक्त क्रियाकलापमा जोड दिने, सबै क्षेत्र समेट्ने तर विशिष्टता नभएको, भौतिकरूपमा विपन्न आदि प्रकारका हुन्छन् । धार्मिक आस्था जोडिएका विद्यालयहरू केही फरक किसिमका हुन्छन् ।
आजकलका विद्यार्थिहरू कम समय, कम लगाव र साधनामा बढी सिकाइ चाहन्छन् । अर्थात सिकेको जस्तो थाहा नै नपाई हाँस्दै खेल्दै सिक्न चाहन्छन् । विद्यालयले यो कुरा मनन गर्नुपर्छ । मरिया मन्टेसरीको भनाइमा शिक्षाको उद्देश्य सबै बालबालिकाको क्षमता विकास हुनुपर्छ । शिक्षण विधि एउटा कला हो र यसको प्रयोग गर्न प्रतिभा चाहिन्छ । बालबालिका फूल रोप्ने गमला होइनन् बरु निरन्तर बग्ने झरना हुन् । बालबालिकालाई वयस्कजस्तो व्यवहार नगरी सधै स्पष्ट र सरल भाषामा बुझाउनुपर्छ ।
शिक्षण र सिकाइ दुवै कार्यमा विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयको भूमिका महत्वपूर्ण हुन्छ । झट्ट हेर्दा विद्यालय सबैथोक जस्तो लागे पनि विद्यार्थी नै प्रमुख हो । तसर्थ सिकाइमा विद्यार्थी तयार गरेपछि मात्र शिक्षण सुरु हुन्छ । विद्यार्थी तयार गर्न अभिभावकको मुख्य भूमिका हुन्छ । विद्यार्थी तयार भएपछि मात्र विद्यालय शिक्षण सिकाइको कुरा आउँछ । कमजोर तथा मध्यम बच्चाहरूका हकमा भने विद्यालयको पनि खास भूमिका हुन्छ ।
अहिले सवैजसो विद्यालयले मन्टेश्वरी विधिबाट सिकाउने भनेपनि मन्टेश्वरीको नाम मात्रै बेचिएको पनि हुनसक्छ । खेलाउँदै विभिन्न सरल विधिबाट सिकाउने साँचो मन्टेश्वरी चाँही सिकाईको उत्कृष्ठ विधि हो । घोतन्ते शिक्षाले विद्यार्थीको सर्वाङ्गिण सिकाई पक्षमा वाधा पुर्याउँछ । अनि डर त्रास नै देखाएर गरिने सिकाई पनि झन घातक हुन्छ । महंगो शुल्कले पनि अभिभावकलाई फि तिर्न सधैं बोझ बन्छ । अव अभिभावकले आफुलाई उपयुक्त हुने तर गुणस्तरीय सिकाई हुने विद्यालय रोज्नु आवश्यक हुन्छ । यसरी भूँइ मान्छेकालागि विद्यालय रोज्न र उनीहरुकालागि शिक्षा केन्द्रीत गर्न सरकारले निःशुल्क शिक्षा कार्यान्वयन गरिहाल्न सक्नु पर्यो । नत्र पनि सर्वसुलभ शिक्षाको व्यवस्थापन गरेर आर्थिक हिसावले सवैभन्दा कमजोर समेतलाई शिक्षाले अघि बढाएर आत्मनिर्भर बन्ने वातावरण बनाउन लाग्नु पर्यो ।