नेपालको भूबनोट, प्राकृतिक अवस्था, वातावरणीय अवस्था, तराइ, पहाड र हिमालको विशिष्ट संरचना, सुन्दरता र विविधतायुक्त भौगोलिक प्रदेशहरुको विशिष्टता, हरियो भरिलो विशाल कृषिफांट, नदीनाला झरना, तालतलैया, रुख र घना वनजंगल आदि मनोरम ठाउँले भरिएका परिदृश्यहरुले नेपाललाई जैविक विविधताको दृष्टिले धनी र सम्पन्न मुलुकको रुपमा उभ्याइदिएको छ । जैविक विविधताको दृष्टिले नेपाल विश्वको २५ औं र एसियाको ११ समृध्दशाली मुलुकको रुपमा चिनिएको छ ।
हावापानी र उंचाइको विविधताअनुरुप नेपाललाई पांचवटा भौगोलिक क्षेत्रमा विभाजन गरिऐको छ । मुलुकको कुल क्षेत्रफल १,४७,१८१ वर्ग किलोमीटर मध्ये तराइले २० प्रतिशत चुरे र भावरले १३ प्रतिशत, मध्यपहाडले ३० प्रतिशत, उच्चपहाडले २० प्रतिशत र हिमालले २३ प्रतिशत ओगटेको छ । उत्तरी क्षेत्रमा रहेको हिमालको कारण नेपालमा धेरै किसिमका पारस्थिकीय प्रणाली कायम भएका छन् । भूउपयोगका दृष्टिले नेपालको वनजंगल २९ प्रतिशत, झाडी र बुटयान १०.६ प्रतिशत, घाँसे मैदान १२ प्रतिशत, कृषिभूमि २१ प्रतिशत, सिमसार २.६ प्रतिशत, खेती नगरिएको जग्गा ७ प्रतिशत तथा अन्य जग्गा १७ .८ प्रतिशत रहेको छ । केवल २०० किलोमिटरको चौडाइमा समुद्र सतहदेखि करिब १०० मिटरको गंगातटीय समतल फाँटदेखि ८८४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथा समेटेको हुँदा नेपाल विभिन्न प्राणी र वनस्पतिको विचरण गर्ने थलोको रुपमा परिचित छ । त्यसैगरी, नेपालमा फूल फुल्ने प्रजातिका २ं.७६ प्रतिशत, स्तनधारी जीवजन्तु ३ं.९६ प्रतिशत र ८.९ प्रतिशत चराचुरुंगीहरुका प्रजातिहरु पाइन्छन् । त्यसैगरी, जडीबुटीका १ हजार ६ सय २४ प्रजाति, किटपतंगका ५ हजार ५२ प्रजाति, माछाका १८७ प्रजाति नेपालमा पाइन्छन् । खानयोग्य वनस्पतिका ५ सय बढी प्रजाति नेपालमा पाइन्छन् । त्यसैगरी, २५ किसिमका रैथाने प्रजातिका वनस्पति, जीवजन्तु र जनावर नेपालमा छन् । जैविक विविधताको दृष्टिकोणले नेपाल दक्षिण एसियामा दोश्रो र विश्वमा सत्ताइसौं ें स्थानमा रहेको छ ।
नेपालको भू बनोट र हावापानीको स्वरुप विविध पारिस्थितिकीय प्रणाली अनतर्गत रहेको छ । नेपालमा जम्मा १८८ प्रकारका पारिािस्थतिकीय प्रणाली, ७५ प्रकारका वानस्पतिक क्षेत्र तथा ३५ प्रकारका वनजंगल रहेका छन् । नेपालको पारिस्थितिक प्रणालीको विविधताले नै यहाँ जैविक विविधता सम्भव भएको छ । विश्वमा पाइने विभिन्न पारिस्थिथितिक प्रणालीहरु जस्तै कृषि, वन, चरणक्षेत्र मध्ये सिमसारलाई पनि एक मुख्य प्रणालीका रुपमा लिइन्छ । जहाँ पानी सुक्दैन, जहाँ जमिन सुक्दैन, जहाँ जमिन लुक्दैन, त्यस्तो क्षेत्र नै सिमसार क्षेत्र हो । अंग्रेजी भाषाको ‘वेटलैंड’को अर्थ नेपाली भाषामा ‘सिमसार’ हो । सिमसार सिम तथा सार दुइवटा शब्द मिलेर बनेको हो । रामसार महासन्धिले सिमसारलाई परिभाषित गर्दै भनेको छ ‘सिमसार क्षेत्र भनेको धाप, पानी भएको अथवा पानीले सडे गलेको जग्गा हो, जो प्राकृतिक वा कृत्रिम, स्थायी वा अस्थायी हुन सक्दछ र जहाँं पानी स्थीर पानी अथवा बगिरहेको ताजा अथवा नूनिलो हुन सक्दछ । यसमा समुद्री सतहको पानी पनि समावेश हुन सक्छ र यसको गहिराइ छ मीटर भन्दा बढी हुंदैन ।’ सिमसार क्षेत्रले नेपालको ५ प्रतिशत भूभाग ओगटेको छ । नेपालमा रहेको सिमसारमध्ये रामसार सूचीमा चितवनको बीस हजारी ताल, कैलालीको घोडाघोडीताल, सोलुखुम्बुको गोक्यो ताल, रसुवाको गोसाइँकुण्ड, कपिलवस्तुको जगदीशपुर जलाशय, सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष, डोल्पाको से फोक्सुण्डो ताल, मुगुको रारा ताल र इलामको माइपोखरी ताल सूचीकृत भएका सिमसार क्षेत्रहरु हुन् ।
जैविक विविधताको दृष्टिले नेपालका अनेकौं आकर्षणका केन्द्रहरुमध्ये कोशी प्रदेशमा कोशीटप्पु सिमसार क्षेत्र पनि एक हो । सन् १९७६ मा आरक्षका रुपमा स्थापित यस क्षेत्रले करिब १७५ वर्ग किलोमटिर भूभाग ओगटेको छ । विभिन्न प्रजातिका रैेथाने तथा फिरन्ते चराहरुको ठूलो संख्यामा जमघट हुने भएकोले यस सिमसार क्षेत्रलाई चरा अवलोकन केन्द्रका रुपमा विकास गर्न विभिन्न प्रयासहरु हुंँदै आएका छन् । सानो होस् वा ठूलो आवश्यकता अनुरुप हरेक प्राणी बसाईं सर्छन् । त्यसैमा चरा पनि एक हो । कठयांग्रिदो जाडो छल्न, चल्ला कोरल्न र आहारा खोज्न प्रत्येक वर्ष विभिन्न ठाउँबाट कोशटप्पुमा थुप्रै चराहरु आइपुग्छन् । ठूलाठूला झुण्डमा देखिने चराहरु हजारोंै कोस टाढाबाट यात्रा गरी आउने गर्छन् । रेथाने चराको आकर्षणत यस क्षेत्रमा छँदैछ ।
विशेषज्ञहरुका अनुसार जैविक विविधताको धनी देश नेपालमा ८७० प्रजातिका चरा रम्ने गर्दछन् । यी चराहरको तथ्यांक विश्वमा पाइने चराको ८ प्रतिशत हुन आउँछ । कोशीटप्पु क्षेत्रमा मात्रै ४६५ प्रजातिका चराहरु पाइन्छन् । विश्वमै दुर्लभ मानिएका १९ प्रजातिका चराले आफनो सुरक्षित वासस्थान बनाएको क्षेत्र पनि यही हो । यहाँं उपलब्ध सिमसार क्षेत्र चराकालागि वरदान मानिन्छ । अधिकांश चराहरु सिमसार पौष्टिक आहार पाउने हुँदा यहीं बस्न मन पराउंछन् ।
कोशीटप्पु नेपालको सबै भन्दा ठूलो र पहिलो रामसार सिमसार क्षेत्र हो । सुइरे पुच्छर, नील टाउके, साभेल हाँस आदि पानी चरा पचास हजार भन्दाबढी संख्यामा पाइएकाले कोशी टप्पुलाई अन्तरराष्ट्रिय महत्वको सिमसारको रुपमा सन १९८७ मा रामसार क्षेत्रमा सूचीकृत गरिएको हो । विश्वमै संकटको सूचीमा परेको सिमतित्रा, सानो खर मयूर, सानो गरुड, राज गरुड, लामो ठूडे गिध्द, ढाडे गिध्द जस्ता दुर्लभ चरा कोशीटप्पुमा घुमिरहेको देख्न सकिन्छ । चराको उपस्थितिले प्रकृतिलाई रमणीय पार्ने मात्र होइनन् कि हाम्रो जीवन र वातावरणमै सकारात्मक असर पारिरहेको हुन्छ । विभिन्न कारणहरुले गर्दा यस्ता चराहरुको भविष्य संकटमा पर्दै गएको छ ।
चराको संरक्षण गर्नु भनेको वातावरणको संरक्षणमा टेवा पुरयाउनु हो । वनजंगल, घाँसे मैदान, सिमसार तथा खेतीयोग्य जमिनसँग चराको गहिरो सम्बन्ध रहेको हुन्छ । यस्तै, वातावरणमा चरा बाँच्ने अनि आकाशमा नाँच्ने गर्दछन् । दिनप्रतिदिन बढ्दै गइरहेको चोरी शिकारी, वासस्थानको नास, तालमा विषादी हालेर माछा मार्ने जस्ता क्रियाकलापले चराहरुको संख्या एकदमै घट्न थालेको छ । यिनै कारणहरुले गर्दा एक सय वर्षको अन्तरालमा नेपालबाट मात्रै नौ प्रजातिका चराहरु लोप भइसकेका छन् ।
चराहरु स्वच्छन्द प्राणी भएकोले स्वच्छन्द रुपमा यात्रा गर्दछन् । त्यसैले त मानसरोवर,साइबेरिया, मंगोलिया लगायतका क्षेत्रबाट फिरन्ते चराहरु जाडो याममा नेपालको कोशीटप्पु आइपुग्छन् । चराको राजधानी कोशीटप्पुमा विभिन्न किसिमका तालहरु रहेका छन् । तित्रागाछी, कमलदह, घेदुवमैन जस्ता तालले चरालाई सधैं बोलाइरहेका हुन्छन् । पानीको छालसँगै मीत लगाएकै भएर होला यसमै यिनीहरु पौडिने पनि गर्दछन् । यहाँ पाइने चराले चिर्बिर गर्दै जैविक विविधताका पारखीहरुलाई चिनजान गर्न बोलाइरहेका हुन्छन् । चराका सौखिन एवं पर्यटकहरुकालागि समेत यो क्षेत्र आकर्षणको केन्द्रविन्दु बन्ने गरेकोे छ । रंगी बिरंगी चराहरुको संरक्षण भएमा मात्रै स्वच्छ वातावरणमा हाम्रो सन्ततिले तिनको सुमधुर स्वरहरु सुन्न सक्दछन् । त्यसेले चराको अस्तित्व बचाउन र जैविक विविधताको संरक्षण गर्न स्थानीय जनता सक्रिय हुनु पर्दछ ।
उर्लाबारी, मोरङ