चन्द्रमास गणनाविधि अनुसार फाल्गुन पूर्णिमा तिथिमा होली पर्व मनाइन्छ । बिभिन्न प्रकारका हास परिहास गीत संगीत आदिका माध्यमले मनलाई आनन्दित पार्ने यो पर्वलाई सामाजिक समरसताको पर्वका रुपमा व्याख्या पनि गरिन्छ । होली पर्वको महत्व समाजका सबै वर्गमा बराबर रहेको छ । यो पर्वले मानव चेतना स्वास्थ्य र सामाजिक एकताका लागि अति महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

अहिलेको परिप्रेक्ष्यमा मानिसहरु आफू र दौतरीहरुबीच विभिन्न प्रकारका रङहरु दलेर रमाईलो गर्दै होली मनाउने गर्दछन । यद्यपि होली पर्वको इतिहास अध्ययन गर्ने हो भने यो पर्व वैदिक सोमयज्ञको स्वरुप हो । वैदिक यज्ञहरुमध्ये सोमयज्ञ सवैभन्दा उत्तम यज्ञ मानिन्छ । वैदिककालमा पर्याप्तमात्रामा प्राप्त हुने सोमलताको रस निकालेर सोही रसबाट विधिपूर्वक जुन यज्ञ गरिन्थ्यो, त्यही यज्ञलाई सोमयज्ञ भनेर शास्त्रमा विवेचना गरिएको पाइन्छ । यसरी सोमयज्ञमा प्रयोग गरिने सोमलता कालान्तरमा लोप भएका कारण यज्ञ यागादि सम्पादन गर्न निर्देशन गर्ने ब्राह्मण ग्रन्थहरुमा विकल्पका रुपमा पूतिक अर्जुनबृक्ष जस्ता धेरै वनस्पतिहरुको निर्देशन गरिएको छ । आयुर्वेदका अनुसार अर्जुनबृक्ष हृदयरोज निवारणका लागि महत्वपूर्ण मानिन्छ । सोमलता र अर्जुन बृक्षबाट निर्मित सोमरसको सेवन गरेर यसको शक्तिका प्रभावले ऋषिमुनिहरु अमरताको अनुभव गर्दथे भनेर ऋग्वेदमा वर्णन गरिएको छ । (अपाम सोमममृता अभूम – ऋग्वेद ) वैदिक यज्ञको यो सर्वोत्तम सोमयाग एकाह अहीन र सत्रयागका रुपमा तीन प्रकारले आयोजन गरिन्छ । वैदिककालमा सत्रयाग एक वर्षसम्म गर्ने गरिन्थ्यो । यो यज्ञमा ऋत्विक ब्राह्मणले कुनै दक्षिणा लिदैन थिए, यत्रको फल नै दक्षिणा मानिन्थ्यो ।

यसरी वर्षभरी यज्ञ गरेर शारिरिक रुपमा थाकेका ब्राह्मणहरु आपसमा मनोविनोद हास परिहास गरेर आनन्दिति हुने गर्दथे । सत्रयाग समापनको दिन फाल्गुन पूर्णिमामा यज्ञको पूर्णाहुति पछि सबै मिलेर उत्सवको आयोजन गरिन्थ्यो । होलीमा विभिन्न समुदायहरु एक आपसमा हास्यव्यंग्यका माध्यमले समुदायका कमीकमजोरीहरुलाई देखाइदिने गर्दथे । यस प्रकारका हास्ययुक्त व्यंग्यहरुलाई ‘अगिभर अपगर’ संबादको रुपमा लिइन्थ्यो । शास्त्रका व्याख्याताहरुका अनुसार ‘अगिभर’ शब्दले ब्राह्मणलाई जनाउछ भनें ‘अपगर’ यो शब्दले शुद्रलाई चिनाउँदछ । यसरी एक वर्षे सोमयज्ञ समापन गरेपछि वर्षभरिको निरसता हटाउदै ब्राह्मण र शूद्रहरु एक आपसमा आरोप प्रत्यारोप लगाएर हास परिहास गरेरै आनन्द लिने गर्दथे । ताड्य ब्राह्मणग्रन्थको होली पर्वको वर्णनमा (सव्र्वा त्वाचो वदन्ति संस्कृताश्च ग्राम्य वाचश्च ) भन्ने विवेचना अनुसार यो समयमा सबै नागरिकहरु संसदीय र गाउँले लवजका भाषाहरु बोलेर विभिन्न प्रकारका प्रदर्शनहरु गर्ने चलन रहेको पाइन्छ ।

सोमयज्ञ समापनको केही दिन पहिला औदुम्बर ( डुम्री) को हाँगा हवन कुण्डका छेउमा गाडेर बिभिन्न प्रकारका गीत संगीत आरम्भ गर्ने परम्परा रहेको थियो । जुन परम्परा हाल चीर गाड्ने परम्पराका रुपमा प्रचलनमा आएको छ । आयुर्वेद अनुसार डुम्री अति औषधीय गुण भएको वनस्पति मानिन्छ । डुम्रीको हाँगालाई माधुर्यको प्रतीकका रुपमा पनि लिइन्छ । साथै निरन्तर गतिशील व्यक्तिलेमात्र औदुम्बरको फल खान पाँउदछ भन्ने आशयले पनि यज्ञशालामा यो वनस्पति राखिने गरेको कुरा ऐतरेय ब्राह्मण ग्रन्थमा उल्लेख गरेको पाइन्छ । (चरन्त्वादुमुदुम्बरम् )

हेली पर्वका दिन घर घरमा मीठा मीठा परिकारहरु बनाउने चलन अहिले पनि रहेको छ । यस्ता परिकारहरु यज्ञ अनुष्ठान गराउने आचार्यहरुलाई सेवन गराउने उदेश्यकासाथ बनाइन्थ्यो । यसरी वैदिककालमा सोमयज्ञ समापन उत्सवका रुपमा प्रतिवर्ष मनाइने होली पर्वमा समय र व्यवस्थाको माग अनुसार विशेष पक्ष र लक्ष्यहरु थपिदै गए । कालान्तरमा होली पर्वमा भगवानका भक्त प्रह्लादको र उनकी फूपू होलिकाको आख्यान पनि जोडियो । यसरी एक वर्षसम्म चल्ने सोमयज्ञ महाब्रत क्रमशः होली पर्वका रुपमा अनेक विशेषताका साथ उत्सवका बिभिन्न प्रकल्पहरु थप हुदै प्रबद्र्धन भयो ।

होली पर्वलाई नवशस्येष्टि पर्व पनि भनिन्छ । प्राचिन कालदेखि नै भारतवर्षमा प्रचुरमात्रामा हिउँदे अन्न फल्ने गरेको पाइन्छ । कृषिकर्मबाट उत्पादित अन्न यज्ञ गरेरमात्र उपयोग गर्ने शास्त्र विधि रहेकाकारण होली पर्वका दिन गहुँ, चना जस्ता अन्नलाई आगोमा पोलेर भुटेर सेवन गर्ने गरिन्छ । यस्तो भुटेको पोलेको अन्नलाई ‘होलक’ भनिन्छ । होलक सेवन गर्ने पर्व भएका कारण पनि यो पर्वको नाम होली रहेको हो भन्न सकिन्छ ।

यो पर्व काम उद्दीपन पर्व पनि हो । मानव जीवनका चार मुख्य पौरख धर्म, अथर्, काम र मोक्ष हुन् । ऋतु परिवर्तन, यज्ञ समापन, अन्न भण्डारण भएपछि यसको उपभोग नै काम हो । होली पर्वमा गीत, संगीत, कला कौशल प्रदर्शन, बिभिन्न प्रकारका हास परिहास ब्यंग्य विनोद आदिले मनमा काम बासना जागृत हुन्छ र युवा युवतीले एक आपसमा नैसर्गिक प्रेम प्रकट गर्दछन् । यसरी होली पर्वलाई मानव जीवनको तेस्रो पुरुषार्थ काम वासनाको धर्म अनूकुल उपभोग गर्ने स्वस्थ मान्यता होली पर्वले प्रदान गरेको छ ।

होली पर्वमा गरिने सबै प्रकारका विधि र कृयाकलापहरु समाज उपयोगी , वैज्ञानिक र तर्कसम्मत रहेको पाइन्छ । होली पर्वमा गरिने नाच गान, हो हल्ला पनि मानव स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । आयुर्वेदमा वर्णन गरिएको छ बसन्तऋतुमा ‘कफश्चित्तो हि शिशिरे वसन्तेर्कांशु तापितः । हत्वाग्निंकुरुते रोगानतस्तं त्वरया जयेत’ अर्थात शिशिरऋतुमा हामीले खाएका अनेक प्रकारका भोजनका प्रभावले हाम्रो शरीरमा कफ जमेको हुन्छ र जव बसन्त सुरु हुन्छ तव त्यो कफ पग्लन थाल्दछ । जसको परिणाम स्वरुप हामीलाई रुघा ,सर्दी ज्वरो स्वास प्रस्वासको समस्या आदि आउन थाल्दछ । यस्ता मौसमी रोगबाट बच्नकालागि ठूलो स्वरले चिच्याउने, हानीरहित औषधियुक्त नस्य सेवन गर्ने, आगोमा पोलेका भुटेका अन्नहरु खाने, व्यायाम र बिभिन्न प्रकारका आघातबाट शरीरलाई थकित बनाउनु पर्ने कुरा आयुर्वेदमा बताइएको छ ।

होली पर्वमा सबै भन्दा प्रमुखताका साथ प्रयोग गरिने वस्तु भनेको रङ हो । प्राचीन आयुर्वेदमा रङबाट गरिने उपचारको विशेष वर्णन पाइन्छ । रङ चिकित्सा प्राच्य विद्याको आयु विज्ञानमा मात्र हैन, यो उपचारबिधि संसारभरी नै प्रचलित छ । प्राचीनकालमा होलीमा प्रयोग गरिने रङ बिभिन्न प्रकारका वनस्पतिबाट तयार गरिन्थ्यो । विशेष गरेर पलासको फूलबाट रङ बनाएर एक आपसमा दल्ने गरिन्थ्यो । आयुर्वेदमा पलासको बोक्रा, पत्ता, जरा र यसको चोपबाट विभिन्न प्रकारका औषधिहरु निर्माण गरिन्छ । पलासको फूलबाट तयार गरेको रङ शरीरमा लगाउँदा विभिन्न रोगहरु निको हुने कुरा आयुर्वेद ग्रन्थमा यसरी वर्णन गरिएको छ ः ‘एतत्पुष्पं कफं पित्तं कुष्ठं दाहं तृषामपि । वातं स्वेदं रक्तदोषं मूत्रकृच्छं च नाशयेत’ अर्थात पलासको फूलले कफ, पित्त ,कुष्ठरोग, छालापोल्ने रोग, अति प्यास लाग्ने रोग, बाथ, पसिनाको दुर्गन्ध, रगतको समस्या, पिसाव सम्बन्धी दोषलाई निको पार्दछ । यसरी दिनभरी होलीमा रङ दलेर अपरान्हमा नुहाएर शरीर सफा बनाएपछि ईष्टदेवताको पूजा गरी आफन्त र मान्यजनसंग भेटघाट गरेर यथायोग्य अभिवादन गर्दै आपसी मनमुटाव समाप्त गरिन्छ । र सबै समुदाय, वर्गको हित र आत्म कल्याणका लागि आफूलाई तयार गरिन्छ ।

Author

You may also like