‘विश्वव्यापी प्लाष्टिक प्रदुषणको अन्त्य’ नाराका बिहीबार विश्व वातावरण दिवस मनाइएको छ । वर्षमा एकपटक औपचारिक कार्यक्रम गरेर प्लाष्टिक प्रयोग निमूल गर्न सकिँदैन । मानवलाई नै प्रत्यक्ष असर गरिरहेको प्लास्टिक फोहोर व्यवस्थापनका सरकारी निकायले ध्यान दिन सकेका छैनन् । तीव्र सहरीकरणसँगै फोहोर उत्सर्जन बढ्दो छ । नकुहिने प्लास्टिकजन्य फोहोरले प्रकृतिलाई नोक्सानी गरिरहेको छ । प्लास्टिक उपभोग बढ्दो र व्यवस्थापन कमजोर हुँदा सहरी एवं पर्यटकीय क्षेत्रका साथै जंगल र खेतीयोग्य जमिनलाई पनि प्लास्टिकले बिगार्दै गएको छ ।
स्थानीय सरकारबाट हुने फोहोर संकलन र व्यवस्थापन प्रभावकारी नहुँदा प्रायःजसो यसलाई या त त्यसै छोडिन्छ वा जलाइन्छ । जुन दुवैले वातावरणीय ह्रास र जलवायु परिवर्तनमा असर गर्छन् । प्लास्टिक जलाउँदा हानिकारक विषाक्त पदार्थहरू निस्कन्छन्, जसले हावाको गुणस्तरलाई गम्भीर रूपमा असर गर्छ भन्ने तर्क विज्ञहरुले दिँदै आएका पनि छन् ।
प्लास्टिक जलाउनु खतरनाक अभ्यास भएकाले यसले हावा र जनस्वास्थ्यमा प्रत्यक्ष हानि पु¥याउने र क्यान्सरको जोखिमसमेत बढाउने हुन्छ भनिन्छ । प्लास्टिकलाई पुनःप्रयोग गर्दा व्यवस्थापनसँगै आम्दानी समेत हुन्छ । जसका लागि घरमै फोहोरको वर्गीकरण सही तरिकाले गर्नुपर्छ । महत्वपूर्ण पक्ष प्लास्टिकको प्रयोग नै कम गर्न मानव तथा प्रकृतिलाई हुने हानिका विषयमा नागरिकलाई सचेत बनाउनुपर्छ । प्लास्टिकको उपभोग घटाउने नीति सरकारसँग हुनुपर्छ ।
कम्तिमा हाट वा पसल जाँदा कपडाकै थैलो बोकेर जाउँ भन्ने अभियान चलाउन सकियो भने पनि प्लास्टिकको झोला खपत निकै कम हुन्छ । यो नीति कतिपय पालिकाले सुरु गरेका पनि छन् तर प्रभावकारी कार्यान्वयन भएको पाइदैन । अभियान प्रभावकारी बनाउन सक्नु अहिलेको आवश्यकता हो । यसले प्लास्टिक आयातलाई कम गर्छ, खुला क्षेत्र प्लास्टिकमुक्त गर्दा जथाभावी फोहोर फ्याँक्ने काम कम हुन्छ ।
स्थानीय सरकारले प्लास्टिकलाई पुनप्र्रयोग गर्ने नीति योजना बनाई कार्यान्वयनमा ल्याउने हो भने केही हदसम्म फोहोर व्यवस्थापन गर्ने कुरामा सफलता हात पार्न सकिन्छ । फोहोर उत्सर्जन नै कम गर्न प्लास्टिकको सट्टा प्रयोग गर्न सकिने वैकल्पिक वस्तुहरू हुनुपर्छ । अन्य वस्तुको उपलब्धताले प्लास्टिक प्रयोग न्यूनीकरण गर्न सकिन्छ । सरकारले केहीवर्षयतादेखि तारे होटलमा प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ बिक्रीमा रोक लगाएको भएपनि प्रभावकारी कार्यान्वयन नहुँदा हेलचेक्राई र लापरवाही बढ्दो छ । यो प्रतिबन्धको दायरालाई बढाउँदै साना होटल र स्थानीय बजारसम्म कार्यान्वयनमा जोड दिनुपर्छ । सचेतना अभियान र नियम कानुनको कार्यान्वयनलाई सँगसँगै लैजादामात्रै प्लास्टिक फोहोरको जोखिमलाई कम गर्न सकिन्छ । यो हरेक नागरिकको दायित्व पनि हो, प्लास्टिक प्रयोग रोकौं । बातावरण स्वछ र सफा बनाउन जरुरी छ ।