सम्पादकीय

अवैध हतियार व्यवस्थापनमा चुनौति

पछिल्लो समयमा झापामा हतियारसहितका मानिसहरु समाउने क्रम बढ्दै गएको छ । बुधबार मात्र अर्जुनधारा ४ दहिझोडाका ६२ वर्षीया इन्द्र बहादुर आङ्देम्बेलाई हातहतियार लुकाएर राखेको आरोपमा बिर्तामोड प्रहरीले पक्राउ ग¥र्यो ।
एक साता अगाडि राति भरुवा बन्दुक र चोरीका सामानसहित अर्जुनधारामा त्यही बसोबास गर्ने ३ जना पक्राउ परे । त्यसैको २ दिन पछि दमकमा पेस्तोल र म्याग्जिनसहित दमक नगरपालिका– ८ निवासी ३६ वर्षीय सञ्जीव गजमेर पक्राउ परे । यसरी एक पछि अर्को गर्दै हतियारसहित पक्राउ पर्नेहरुको संख्या दैनिक बढ्दै जानुले सुरक्षा चुनौति थपिएको प्रहरीको स्वीकारोक्ती छ ।
भारतसंग खुल्ला सिमाना भएको झापामा अवैध हातहतियारको अवस्था झन् भयावह देखिएको छ । भारतीय क्षेत्रबाट अवैध तरिकाले भित्रिने गरेकोले पनि अवैध हतियार चुनौती बनेको प्रहरीको भनाई छ । यता स्थानीयबासीहरुले सुरक्षाका लागि भनेर वैधानिक रुपबाट राखेका हतियार पनि आधा भन्दा धेरैले नविकरण नगराएको तथ्याङ जिल्ला प्रशासन कार्यालय दिइरहेको अवस्थामा यस्ता तर पक्राउ परेका हतियार लाइसेनवाला हुन वा होइन भन्ने खुलेको छैन ।
कतिपय स्थानबाट भारतीयहरु समेत पक्राउ परिरहेको सन्दर्भमा यसको व्यवस्थापनमा चुनौति थपिएको छ । त्यसो त झापामा मात्र नभएर मोरङ सुनसरी पनि खुल्ला सिमानाकै कारणले पनि हतियारधारीहरुको बिगबिगी नै छ । सुनसरीको इनरुवा, लौकही क्षेत्रबाट धेरै हतियारधारी पक्राउ पर्ने गरेका छन् । हतियारधारीहरु यसरी खुलेआम हिंडडुल गर्दै गर्दाको चुनौति प्रहरीमा मात्र नभएर स्थानीयबासीलाई समेत त्रसित बनाएको छ । कतिखेर कता के गर्ने हुन कसैलाई पत्तो हुँदैन । डकैती, लुटपात, बलात्कारमा समेत त्यस्ता हतियारहरु नै सामेल हुने गरेकाले त्यसबाट सिर्जित घटनाहरुको त्रासमा स्थानीयबासी परेका छन् ।
अवैध हतियारको बिगबिगीका कारण सीमावर्ती गाउँसहरमा हत्या हिंसाका घटना बढ्ने क्रममा छन् । सामान्य झगडा र लेनदेन विवादमा अवैध हतियार प्रहार गर्ने र ज्यानै लिनेसम्मका घटनामा ‘स्वचालित’ पेस्तोल प्रयोग भएको पाइन्छ ।
खुला सिमानाका कारण सीमा वारपारको उठबस र सम्बन्धले आपराधिक गतिविधिलाई पनि मलजल गरेको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीले बेलाबेला बरामद गरेका अधिकांश साना हतियार सीमापारि भारतबाट भित्र्याएको पाइने गरेको प्रहरीको भनाई छ । नेपाली–भारतीय अपराधीहरूबीच रहेको सञ्जालका कारण साना हतियार नियन्त्रण सीमावर्ती जिल्लाहरूमा चुनौतीपूर्ण बनेको छ। पारिका अपराधिबाट वारिकाले स्वचालित र अर्धस्वचालित हतियार भाडामा ल्याएर समेत अपराध कर्म गरेको पाइएको छ ।
अवैध हतियार मान्छे मार्नभन्दा पनि तर्साउन घरमा लुकाएर राख्ने गरेका हुन्छन् । लुकाउन सजिलो भएकाले साना अवैध हतियार नियन्त्रण उति सजिलो नभएको प्रहरी अधिकारीको अनुभूति छ । अर्को समस्या घरघरमा साना अवैध हतियार खानतलास गर्न कानुनी झन्झिटिला हुँदा हुँदै पनि प्रहरीको सक्रियाताले हतियार र हतियारधारी व्यक्ति पक्राउ पर्ने क्रम पनि बढेको देखिन्छ । यसलाई सुरक्षा निकाय, समुदायबीचको साझेदारीमा गर्न सकियो भने मात्र केही हदसम्म निरुत्साहित बनाउन सकिन्छ । छरछिमेकमा कसैले त्यस्ता हतियार राख्यो भने समाज सुरक्षाका लागि भनेर गर्व गर्ने पनि गरेका हुन्छन् । हतियार राख्ने व्यक्तिप्रति समाज सचेत रहनु पर्दछ । त्यो राखिएको हतियार समाजको सुरक्षा भन्दा पनि परेका बेला आफ्नै कन्चटमा पनि पर्न सक्छ भन्ने हेक्का रहनु जरुरी छ ।

Author

You may also like