आज भोलि ‘ज्येष्ठ नागरिक’ प्रसंग धेरै आउने गरेको देखिन्छ । जेष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालन गर्न विभिन्न संघ संस्थाहरु लागिपरेको पाइन्छ । नेपाल सरकारले ६० वर्ष उमेर पुगेका नेपाली नागरिकलाई ज्येष्ठ नागरिकको रुपमा मान्यता दिने गरेको पाइन्छ भने ६८ वर्ष उमेरपुगेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउदै आएको छ । नेपाल सरकारका स्थानीय निकायहरु र विभिन्न सामाजिक संघ संस्थाहरुले ज्येष्ठ नागरिकसंग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्न अघि बढेको देखिन्छ । विभिन्न संघ संस्थाहरुले आफ्ना सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दा सरकारले नै लक्षित वर्गका रुपमा तोकेको ज्येष्ठ नागरिक, महिला, बालवालिका, अपाङ्गता भएका ब्यक्तिहरुलाई बढी प्राथमिकता दिएको पाइन्छ । यस्ता क्षेत्रहरुमा कार्यक्रम सञ्चालन गर्न संघ संस्थाहरु बढी नै रुचाउँछन् । किनकी यी क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा कार्यक्रमको प्रभावकारिता बढेको देखिन्छ । त्यसमा पनि ज्येष्ठ नागरिकसंग सम्बन्धित कार्यक्रमहरु अति नै लोकप्रिय मानिन्छन् । त्यसैले त यस्ता कार्यक्रमहरु बढी नै सञ्चालन भएको पाइन्छ । ज्येष्ठ नागरिकसंग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने संस्थाहरु पनि धेरै नै छन् । हाम्रै गाउँ घरतिर पनि क्रियाशिल रहेका यस प्रकारका संघ सस्थाहरु ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल, ज्येष्ठ नागरिक जिल्ला संघ, ज्येष्ठ नागरिक महासंघ, ज्येष्ठ नागरिक अभिभावक समाज, ज्येष्ठ नागरिक सेवा केन्द्र लगायत अन्य विभिन्न नामका संघ संस्थाहरु रहेका छन् ।
ज्येष्ठ नागरिकसंग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दा विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्ने गर्दछन् । ती कार्यक्रमहरु मध्ये धेरै नै लोकप्रिय कार्यक्रहरु ज्येष्ठ मातापिता सम्मान कार्यक्रम र तीर्थाटन कार्यक्रम हुन् भन्ने लाग्छ । यो तीर्थाटन कार्यक्रम पनि अहिले निकै नै चल्तिमा आएको पाइन्छ । जताततै तीर्थाटनका ब्यानरहरु देखिन्छन् भने तीर्थाटनका ब्यानर टाँगिएका गाडीहरु पनि प्रसस्तै देख्न सकिन्छ । यसरी ज्येष्ठ नागरिकलाई सम्मान गर्ने र तीर्थाटन गराउने क्रम निकै बढेको पाइन्छ । ज्येष्ठ मातापितालाई सम्मान गर्ने चलन आएको त धेरै समय भएको छैन । केही वर्ष यता यो सम्मानको कार्यक्रम निक्कै बढ्दै गएको देखिन्छ । तर तीर्थ गर्न जाने चलन चाँही परापूर्वकालदेखि नै चलिआएको पाइन्छ । हाम्रा बाउ बाजेहरु तीर्थ गर्न जाने भनेर काँशी, बनारस, बद्रि, केदारनाथ जाने गर्थे । त्यस बेला एक पटक तीर्थ गएर भगवानको दर्शन गरेर मात्र मर्नु पर्छ भन्ने धार्मिक मान्यता रहेको थियो । त्यही भएर मानिसहरु तीर्थ गर्न भनेर भारतको विभिन्न धार्मिक तीर्थस्थलहरुमा दशर्न गर्न जाने गर्दथे र दर्शन गरेर सकुशल घर फर्कन्थे भने कतिपयले उतै प्राण त्याग गर्दथे भन्ने कुरा सुन्नमा आएको पाइन्छ । यो तीर्थ गर्न जाने क्रम अहिले पनि चलिरहेको छ । अहिले पनि चारधाम जाने भनेर भारतका विभिन्न धामहरुमा मानिसहरु हरेक वर्ष हजारैको संख्यामा मठ मन्दिरहरुमा जाने गरेको पाइन्छ । भारतको काँशी, वनारस, गया, प्रयाग, बद्रि, केदारनाथ, द्वारका, रामेस्वरम, जगन्नाथपुरी आदि स्थानहरुकोको दर्शन गर्न जाने परम्परामा अहिले केही सुधार भएको छ । हाम्रै देशमा हाम्रै मौलिकता र महत्वका ठूला ठूला धार्मिक स्थलहरु रहेका छन् । यी धार्मिक स्थलहरुलाई नै चार धामको रुपमा बिकास गरिएको छ । यिनै धार्मिक स्थलहरुको दर्शन गर्नाले मुक्ति पाप्त गर्न सकिन्छ भन्ने भावनाको विकास हुँदैगएको छ । ती तीर्थस्थलहरुमा जाने र धार्मिक भ्रमण गर्ने कुरा हाम्रो धर्मशास्त्रमा पनि उल्लेख भएको पाइन्छ ।
हाम्रो धर्मशास्त्रमा चार आश्रमको व्यवस्था गरिएको छ । ती आश्रमहरु ब्रह्मचार्य आश्रम, गृहस्थ आश्रम, वानप्रस्थ आश्रम र सन्यास आश्रम । यी चार आश्रमहरुमा मानिसको जीवनको पहिलो २५ वर्षलाई ब्रह्मचार्य आश्रम भनिएको छ । यो आश्रममा ज्ञान हासिल गर्ने, परिश्रम गरेर पढ्ने, साधना गर्ने, आफ्नो लक्ष्य हासिल गर्ने आदि कार्य गरिन्छन् । यसरी नै दोस्रो २५ वर्षलाई गृहस्थ आश्रम भनिएको छ । यो आश्रममा कडा परिश्रम गर्ने, वैवाहिक जीवनमा बाँधिने, सन्तान उत्पादन गर्ने, धन सम्पत्ति कमाउने, सन्तानलाई राम्रो शिक्षा प्राप्त गर्ने अवसर दिलाउने, सन्तानको भविष्यको लागि राम्रो वातावरण तयार गर्ने आदि पर्दछन् । यसरी नै तेस्रो २५ वर्षलाई वानप्रस्थ आश्रम भनिएको छ । यो आश्रममा छोरा छोरीको विवाह गरिदिएर घर व्यवहार छोरा बुहारीलाई जिम्मा लगाउनु र आफू घरायसी ब्यबहारबाट मुक्त भई तीर्थ व्रत गर्न विभिन्न मठ मन्दिरमा जानू, धर्म कर्ममा मन लगाउनु भनिएको छ । शास्त्रमा त वानप्रस्थ भनेको वनतिर प्रस्थान गर्नु भन्ने अर्थ लगाइएको पाइन्छ । प्राचिन समयमा अहिलेको जस्तो विकास भएको थिएन । चारैतिर जंगलै जंगल थियो । धार्मिक स्थलहरुमा पुग्न ठूलाठूला वन जंगल पार गर्नु पथ्र्याे । त्यसैले वानप्रस्थ भनिएको हुन सक्छ । तर यो वानप्रस्थ आश्रम भनेको तीर्थ व्रत गर्ने धार्मिक स्थलहरुको भ्रमण गर्ने समय नै हो । यो समय ५० वर्ष देखि ७५ वर्षसम्म मानिएको छ । यही समय हो ज्येष्ठ नागरिकहरुले तिर्थाटन गर्ने समय । यो उमेरमा उनीहरु केही फुर्सद पनि रहेका हुन्छन् । घरमा बस्दा बस्दा दिक्क पनि भएका हुन्छन् । कतिपयलाई त घरपरिवारबाट राम्रो व्यवहार नहुँदा कतै धुम्न जाने कुरामा बढी उत्सुक भएका हुन्छन् । यस्तो धार्मिक भ्रमणले उनीहरुको मन स्वच्छ हुने, आत्मा शुद्धि हुने गर्दछ । उनीहरुमा मनोवैज्ञानिक भावनामा स्वच्छता प्राप्त हुने गर्दछ । यसरी नै जीवनको अन्तिम २५ वर्षलाई सन्यास आश्रम भनिएको छ । यो आश्रम ७५ वर्ष देखि १०० वर्षलाई मानिएको छ । यो मानिसको जीवनको अन्तिम अवस्था हो । यो समयमा घर व्यवहारबाट पूर्ण रुपमा अलग भएर सन्यासी रुप धारण गरेर काम, क्रोध, लोभ र मोहबाट मुक्त भई भगवानको शरणमा लीन हुनु, भजन किर्तन गर्नु, ध्यान गर्नु र भगवत प्रात गर्नु भन्ने हुन्छ । यो समयमा विभिन्न तीर्थहरुको भ्रमण गर्न कठीन हुन्छ । त्यसैले कुनै एउटा तीर्थ धाममा गएर बस्नु, सम्भब भए आफैले एउटा कुटी निर्माण गरेर बस्नु, घर परिवारको सम्पर्कबाट टाढा रहनु, साधु सन्तहरुको संगत गर्नु, भगवानमा एक भक्ति र एक चित्त लगाएर भएर बस्नु भन्ने कुरा शास्त्रमा उल्लेख भएको पाइन्छ ।
त्यसैलेः, जीवनको तेस्रो चरण वा वानप्रस्थ आश्रममा तीर्थाटन गर्नु अनिवार्य जस्तै भएको छ । ज्येष्ठ नागरिकलाई तीर्थाटन गराउनु हाम्रो पनि कर्तव्य रहेको हुन्छ । हाम्रो घर परिवारका ज्येष्ठ सदस्यहरुलाई विभिन्न मठ मन्दिरको दर्शन गराउनु हाम्रो दायित्व पनि हो । उनीहरुलाई समूहमा तीर्थाटन गराउनु अझ राम्रो हुन जान्छ । समूहमा तीर्थाटन गर्दा उनीहरुले निक्कै रमाईलो मान्ने गर्दछन् । हाम्रो धार्मिक मान्यता अनुसार हाम्रा ज्येष्ठ बुबा आमाहरुलाई जिउँदा देवताको रुपमा मानिएको छ । उनीहरुको दर्शन गर्नाले पुण्य प्राप्त हुन्छ भनिएको छ । उनीहरुलाई माया गर्नु, सम्मान गर्नु, विभिन्न ठाँउको दर्शन गराउनु र बिभिन्न सेवा सुबिधा उपलब्ध गराउनु हामी सबैको कर्तव्य रहेको हुन्छ ।
त्यसैले हामी सबै मिलेर ज्येष्ठ नागरिकलाई माया गरौ, सम्मान गरौ र विभिन्न धार्मिक स्थलहरुको तीर्थाटन गराऔं । उनीहरुलाई सधै खुसी राखौ । जय ज्येष्ठ नागरिक ।
दमक – ८, झापा