हुन त पुर्खाले नेपाल छाडेदेखि नै यो बिषयमा बिवाद र बहस हुदैँ आएको छ कुनै ठोस निष्कर्षबिना ।
हामीले बोल्ने र लेख्ने भाषा, युगौंदेखि मानिआएको संस्कृति, लगाउने पोशाक, शीरको टोपी र सबैभन्दा ठूलो कुरा त सधै आफुभित्र लिएर हिडेको नेपाली मन । यि सब मेरो पहिचान हुन् ।
म एउटा त्यो पात्र हुँ जो भूटानमा जन्मिएँ । कलिलैमा देश निकाला भएँ । त्यहाँको भाषामा कनिकुथि आफ्नो नाम लेख्न सिवाए केही जान्दिन । देश कस्तो छ थाहा छैन । जति भूटान देखें तस्विरमा मात्र देखें । नेपाली हुँ भनौं जन्म नेपालमा भएन । अन्य नेपाली परिवार (भूटानमा बसेका नेपाली) झैँ हाम्रो परिवार पनि शासनसत्ताको अन्याय र अत्याचारमा पर्यो र बाबा–आमाले आफ्ना सन्तानको ज्यान जोगाउन आफ्नै खुसी लुटेर पुर्खाको भूमिमा शरण माग्न आइपुग्नु पर्यो ९० को दशकतिर ।
त्यहीँको (नेपाल) हावा–पानी, दुःख–सुख, भोक–तिर्खा, अभाव र अन्योलमा आफुलाई समाल्दै नेपाली (नागरिकताभएका) हरूबीच आफु पनि नेपाली (शरणार्थीका रूपमा) भएर २० बर्ष बाँचियो । नेपाली बोलियो, नेपाली पढियो र नेपाली लेख्न सिकियो ।
थाहा छैन के कारणले अटाइएन र आफुसँग नेपाली भाषा, नेपाली संस्कृति र नेपाली मन लिएर सन् २०११ मा अष्ट्रेलिया पुनर्वास भइयो रहरमा नभई बाध्यतामा । हुन त नेपाल बसेर दुःख–सुखले जीवन बिताउँने सपना मेरो जस्तो सयौँको टुटेको छ । गुनासो कति गर्नु । ‘सपना देखेर मात्र काहाँ हुन्छ र सपना पुरा हुने माध्यम पनि त हुनु पर्यो ।’
आजको आठ दिनमा म तिसौँ वसन्तमा प्रबेश गर्नेछु र छ दिनमा जीवनमा पहिलो पटक नागरिकता ग्रहण गर्दैछु । खुसी यस कारण छु कि जीवनमा पहिलो पटक अष्ट्रेलिया देशको नागरिक हुँदैछु । मसँग पनि देश हुनेछ । दुःखी यस कारण छु कि म आफैले आफैलाई कसरी चिनाउँने ?
मलाई र मेरो परिवारलाई पाइला राख्न आव्हान गरेर सहर्ष स्विकार्ने देश (अष्ट्रेलिया) प्रति जीवनभर धन्य छु र देशको उन्नतिका निम्ति आफुले आफ्नो ठाउँबाट सक्नेसम्म गर्नेछु । अब सायद यो मेरो बाँकी जीवन यहि देशमा बिलिएर खरानी हुनेछ ।
मलाई म जन्मिएको माटो (भूटान) प्राण भन्दा प्यारो छ । नेपाल मेरो पुख्र्यौली थलो हो । सधैं त्यो देश (नेपाल) को उन्नति, प्रगति र खुसीको कामना गरिरहनेछु । मलाई शरण दिने देश (अष्ट्रेलिया) प्रति मेरो जीवनभर सम्मान रहनेछ । छातीमा देश बोकेर बाँचिरहन पाऊँ । वस्, यति छ चाहना ।
हाम्रो जीवनमा जे–जस्ता अफ्ठ्याराहरू आए पनि हाम्रा दुई छोरीहरूले आफ्नो देश पाएका छन् । परिचय पाएका छन् । पक्कै पनि आफ्ना बाबु–आमालाई धिकार्ने छैनन् । उनीहरूको जीवनमा एउटै अभाव खड्किनेछ त्यो हो नेपाली भाषा । मैले सकेसम्म उनीहरूको लागि यो भाषा जोगाइ दिने प्रयास गरिरहनेछु । जीवन एउटा प्रयास न रहेछ । प्रयास बाहेक अरू हामीले के नै पो गर्न सक्छौ र ?
मेरो जस्तो मेरा छोरीहरूले बिना देश बेबारिसे भएर बाच्नु पर्ने छैन । उनीहरूको जीवनमा सुनौलो मार्ग छ र त्यहि मार्ग कोरिदिने हामी (बाबु–आमा) छांै साथमा । छोरीहरूको खुसी मेरो जीवनको ठूलो शक्ति हो र मलाई यहि शक्तिले बाँच्न प्रेरित गरिरहनेछ ।
भगवानसँग म यति प्रथाना गर्छु – ‘हामीले जस्तो कसैले पनि शरणार्थी भएर बाँच्नु नपरोस् ।’ जय देश ।
हाल ः अष्ट्रेलिया