टंक सम्बाहाम्फे-
गीत लेख्दा मलाई एक प्रकारको छुट्टै आनन्द आउँछ । गीत लेखुन्जेल गीतै भईने भएकोले होला सारा कुरा विर्सिन्छ । भोकतिर्खा दुःखपीडा सबै सबै भुलिदो रहेछ । त्यसैले पनि म सधैं गीत लेख्छु । यो एक प्रकारको ध्यान (मेडिटेसन) नै रहेछ । हुन त म भन्दा कैयौं बर्ष अगाडिदेखि लेख्ने गीतकारहरु पनि हुनुहुन्छ । तर अनुभव र अनुभूति फरक हुन्छ । म लगभग २५ बर्षदेखि नेपाली आधुनिक गीतहरु लेख्दै आएको छु । गीतकार स्वास्थ्य हुन्छ भन्ने सुनेको छु । किनभने गीतकारले आफ्नो गीतमा हाँसो, खुशी, पीर ब्यथा, मिलन बिछोड, माया प्रेम मात्र नभएर यावत कुरा प्रस्तुत गर्ने भएकोले पनि त्यसो भनिएको हुनुपर्छ जस्तो लाग्छ । हुन त कतिपयले गीतकार मायामा धोका खाएर बन्छ भन्छन् । कति गीतकार दुखी मान्छे हो पनि भन्ने गर्छन् । यो त आआफ्नो बुझाई वा धारणा हो । आआफ्नो दृष्टिकोण पनि हो । कति त्यसरी पनि गीतकार बने होलान् त्यो छुट्टै कुरा हो । तर त्यो सबैमा लागू नहुन सक्छ । तर मेरो व्याख्या भने अलग छ । म भन्छु यो एउटा जीवन अनुभूतिको फिलुङ्गाहरु हुन् । अथवा भोगाइका साचो चोइटाहरु हुन् । यदि त्यस्तो नभए त श्रोता तथा पाठकहरुले गीतले छुँदै छुँदैन नि । यथार्थ कुरालाई देखे भोगेर त्यसलाई साहित्यिक गहन लेपन लगाएर मेहनत उभ्याउनु पर्छ तब मात्र गीत बन्छ । तसर्थ मैले गीतलाई गहन र गाह्रो विधाको रुपमा लिएको छु ।
किनभने साँचो वा राम्रो अथवा उत्कृष्ठ गीत लेख्नु एकदमै अप्ठ्यारो काम हो । एकातिर थोरै शब्दमा जीवन र जगतको कुरा पूणर्रुपले उभ्याउन सक्नु पर्छ । त्यसरी उभ्याउन सकिएन भने गीत नबन्ने प्रवल सम्भावना हुन्छ । अर्को ख्याल गर्नु पर्ने कुरा के हो भने मानवीय संवेदना छुने र मार्मीक हुन अत्यन्तै जरुरी छ । हुन त गीत जस्तो पनि जसरी पनि लेख्न सकिन्छ । तर त्यस्ता खाले गीतले समय र पैसा मात्र नास गर्छ । नेपाली गीति लेखन खास गरेर भारतीय शैलीमा छ । संगीत र स्वर पनि उही ढङ्गले गरिदै आएको छ । त्यसैले खासै नेपाली शैलीको गीत भनेको लोकभाका र जातजातिमा मात्र पाइन्छ । अरु गीतहरुमा वैदेशिक प्रभाव पाइन्छ । आफ्नै शैली लेखनमा ल्याउने हो भने अलि फरक ढङ्गले लेखिनु पर्छ भन्ने मान्यता राख्छु । आजसम्म गाइएका र लेखिएका गीतहरु खण्डकाव्य जस्ता मात्र लाग्छन् । वास्तवमा गीतमा पुरै महाकाव्य आउनु पर्छ । छिमेकीले जे गर्‍यो त्यसको सिको मात्र गरिरहेका छौं । नेपाली गीतको म्यूजिक ट्रयाक र भारतीय गीतको म्यूजिक ट्रयाक संगसंगै बजाएर कुनै विदेशीलाई सुनायो भने एउटै देशको म्यूजिक हो भन्छ । किनभने नेपाली र भारतीय बाजा एकै प्रकारले उस्तै स्वरलहरीमा बजाइन्छ । नोट फरक हुँदैन । तर म भन्छु नेपाली गीत संगीत र स्वरलहरीमा व्यापक फरक हुन जरुरी छ । अहिले जुन धारमा बगिरहेछ नेपाली गीत संगीत र स्वरलहरी अब बेग्लै प्रकारले बहन जरुरी छ । तसर्थ नेपाली गीत संगीत र स्वरलहरीमा पनि भारतीय अतिक्रमण छ । सिको छ । हो यहि कारणले म फरक अवस्था सिर्जना गरेर गीत लेख्न रुचाउँछु । अहिलेसम्म लेख्दै आएका मेरा गीतहरु पनि भारतीय प्रभाव पुरै छ । अबका दिनहरुमा छुट्टै ढङ्गले बढ्ने विचार गरेको छु ।
अहिलेसम्ममा ६० जति गीतहरु रेकर्ड भए होलान् । लेख्न त १ हजार जति लेखिए होला गीतहरु । तर पनि चित्तबुझ्दो लेखिएको छैन । अझ उत्कृष्ठ गीत लेख्ने जमर्को मै छु । गीत लेख्नको लागि ठूल्ठूला गह्रौंगा शब्दहरु चाहिन्न । भावना र विचारको गहिराई छामेर साधारण शब्दमा लेख्न सकियो भने त्यो नै काफी हो कुनै गीत । यो मेरो ब्यक्तिगत अवधारण वा विचार मात्र हो । हरेक गीतकारको अनुभव, अनुभूति, शब्द, शैली, भाव ,फरक हुन्छ । नेपाली गीत लेख्न नवौरसमा लेख्न सकिन्छ भनेर परिभाषित गरिएको छ । तर पनि नेपालमा गीतलाई गहनरुपले हेरिएको छैन । ब्यावसायिक रुपले उभिएको छैन । र, अर्कोतिर गीतकारलाई नेपाली गीतसंगीतमा उपयोग मात्र गरिएको छ । गीत भन्ने बितिक्कै पैसामा होइन निःशुल्क पाइने बस्तु हो । कहिले काँहि यस्तो लाग्छ मैले लेखेको गीतलाई गायकले गीतकारको नामै उच्चारण नगरी मेरो गीत भनेर गाइदिन्छ र जानी जानी गीतकारलाई ओझेल पारिन्छ । अबका दिनमा गीतकारलाई त्यसरी ओझेलमा पार्न नपाइने नीति बनाइनु पर्छ । गायकले गीत गाएर पैसा कमाउँछ भने त्यो पारिश्रमिकको अंशियार गीतकार पनि बन्नु पर्छ । नीति नभएकोले नेपाली गीतहरु मूल्यवान भएर पनि विनामूल्यका भएका छन् । । अब त्यसो गर्न दिनु हुन्न । गीत हरेक मानिसलाई सुन्न चाहिने अत्यन्तै आवश्यक विषय हो । मानिस गीतविना बाँच्न, हाँस्न र नाँच्न सक्दैन । गीत अत्यन्तै महत्वपूणर् तत्व हो मानिसको लागि । अबका दिनमा गीतलाई सरकारी रुपले नै संरक्षण दिइनु पर्छ र पाउनु पर्छ । यदि यसो गरिएन भने पछिल्ला पिँढीका गीतकारहरुले हामीलाई सराप्ने छन् । गीतकारहरुले गीत आत्मरतिको लागि मात्र लेख्नु हुँदैन । जिउन,े परिवार पाल्ने र व्यवसायिक ढङ्गले अगाडि बढ्ने तरिकाले लेख्नु पर्छ । यहाँ उल्टो गीतकार मुर्गा बनेको धेरै उदाहरणहरु देखेको छु । अब गीतलाई अनेक ढङ्गले उठाउने काम गीतकारकै दायित्व हो । त्यसैले उठौं, जागौं ए नेपाली गीतकारहरु हो ।
पुनश्च –
आदिवासी जनजाति गीतकारहरुले आफ्नो पहिचानको गीत लेख्न जरुरी छ । पहिचान विनाको नेपाली गीतले मात्रै अब आदिवासी जनजाति गीतकारहरुलाई बचाउनेवाला छैन । र, आफ्नै भाषाको गीतमा पनि गीतकारहरुले ध्यान केन्द्रीत गर्नुपर्ने हुन्छ ।

Author

You may also like