– नकुल काजी –
‘लीला लेखन’ बुझ्ने, जान्ने र कलम समाउने रहर ममा प्रखर छ । तर, त्यसकाे लेखकीय ‘धर्म’ र ‘मर्म’ जान्ने, मेराे कलमकर्मी जीवनले हाल ६४ वर्ष टेकिसक्ता पनि, ममा क्षमताकाे कमीकै अनुभूति हुँदैछ । र, अब-अब चाहिँ म याे विषयकाे सामू घुँडा टेकेर, अभ्यन्तरमा याे प्रसंग आउनासाथ, बर्बराउने गर्दैछु –“हामी नबुझिने बनौंला । तर, लाेकप्रियताकाे लाेभ गरिरहे केही लेख्न सकिन्न ।” भनेर त याे सर्वथा नाैलाे लेखन-सिद्धान्तका प्रस्तावक र प्रथम उत्सर्जक इन्द्रबहादुर राईले२०२० सालदेखि नै भन्दै आउनु भएकै थियाे नि । हेर्नाेस् , उसबेला दार्जीलिङबाट सिङ्गै नेपाली साहित्य समाजमै चर्चाकाे हावा-हुण्डरी ल्याएकाे ‘तेस्राे आयाम’-काे २०२०साल असारमा प्रकाशित दाेस्राे अंककाे सम्पादकीय, जाे इन्द्र सरले टुंग्याउनीमा आफ्नाे नामै दिएर लेख्नु भएकाे छ । । अर्थात्, ‘हामीले लेखेकाे साहित्य नबुझेर पाठक गन्गनाउँछन् भने गन्गनाइरहुन् , तिनले बुझ्ने लेख्न थाले पाेषिलाे वस्तु साहित्यमा सञ्चित हुन सक्तैन’ भन्ने नै ‘नेपाली भाषा साहित्यका ऋषि’ सम्मानमा प्रतिष्ठापित इन्द्रबहादुर राईकाे उक्त भनाइ हुनु पर्दछ । अथवा, त्यसाे हाे भने मैले ‘लीला लेखन’-काे सारभूत सिद्धान्त (fundamental principle) एवम् लेखन-प्रयाेगविधि नबुझिरहँदा त्याे सिद्धान्तका वाहक र प्रयाेक्ताहरूलाई फरक नपर्ने रहेछ । हाेइन त ?…. यद्यपि ‘तेस्राे आयाम’ पत्रिकामा छापिने लेख-कविता-निबन्धादि नबुझिने, कुनै-कुनै बाेधगम्य मूर्त (concrete intelliagible) रूपका पर्न गए पनि फेरि कता-कता बटारिएर अमूर्त प्रतीकहरू(abstract emblems)-ले अँठ्याइहाल्थे । त्यसाे हुँदा, सरल बाेधगम्य साहित्यका पाठकहरू (जसकाे अत्यधिक बाहुल्य थियाे तत्कालीक दार्जीलिङमा) मात्र हाेइन हामी नवाेदित कलमीहरू पनि त्याे आयामेली भाकामा उत्सर्जित साहित्यका प्रति, याे वा त्याे साेच-अवधारणाले निर्देशित भएर हाेला, नकारात्मक थियाैं । ‘आयामेली साहित्य’हाम्राे समूहमा लगभग सबै किसिमका ‘नबुझिने कुरा’-काे प्रतीककै रूपमा प्रयाेग हुने गर्थ्याे । अरू त अरू, आयामेली साहित्य श्रष्ठा जमात ‘तेस्राे आयाम’-लाई अंग्रेजीमा ‘ Third Dimension’ नभनेर ‘Three dimension’ किन भन्छन् ? भन्नेसम्मकाे चर्चा हुन्थ्यो हाम्राे समूहमा । यसकाे जवाफमा आयामेली साहित्यका हकदार(?)-हरू भन्थे -“पहिलाे आयाम ‘बिन्दु’
(a spot or speck) हाे – जसकाे लम्बाइ-चाैडाइ-माेटाइ हुँदैन, दाेस्राे आयाम ‘छायाँ’ (shadow) हाे – जसकाे लम्बाइ-चाेडाइ हुन्छ तर माेटाई हुँदैन र तेस्राे आयाम चाहिँ त्याे भाैतिक अस्तित्वमा आकृत वस्तु हाे – जसकाे लम्बाइ-चाैडाइ-माेटाइ हुन्छ । जस्तै – मान्छे आफै, ढुङ्गाे, पशु-पक्षी, काठ-दाउरा, कुटाे-काेदालाे इत्यादि-इत्यादि । फेरि हामी जिज्ञासा जन्माउँथ्याैं -” साहित्य सिर्जनाकाे लम्बाइ नाप्न सकिँदाे हाे, चौडाइ पनि नाप्न सकिँदाे हाे, माेटाइ चाहिँ केलाई मान्ने त ?” अथवा, उसबेला यस्ता बाउँटा कुराका उकुर्जी उठाइरहन्थ्याे हाम्राे समूह । तर, अर्कातिर इन्द्र सर त्यही आयामेली साहित्य-समूहका अगुवा हुँदाहुँदै पनि उहाँमा चाहिँ, झन्नै पाैराणिक गुरुका प्रति शिष्यहरूकाे सम्मानकै ढबकाे, श्रद्धा बरकर्रार राखिराख्ने अवस्थामा थियाैं हामी ।
एउटा भनाइ छ – युग अनुसार सामाजिक वातावरण कायम हुन्छ र त्यही सामाजिक वातावरण साहित्यिक पृष्ठभूमि वा धरातल बन्छ वा बन्नुपर्छ । अहिले राजनीतिले खुर्लुप्पै निलेकाे छ नेपाली समाजलाई । दाल-सब्जी-अचारहरूसँग मुछेकाे (गिजाेलेकै किन नहाेस् !) भात मुखभित्र जिब्राेले लछार-पछार पारिसघाएर दाँतले रालसँग चपाएर-थुङथुङ्याएर निलेकाे अवस्था जस्ताे बनेका छन् नेपाली सामाजिक र राष्ट्रिय जीवनका प्रायः सबै कित्ता-कान्लाहरू ! यस्ताे अवस्थामा साहित्य-लेखनकाे फाँटमा के बुझ्नु-के नबुझ्नु छ र ? अतः भदाैरे झरीले हुन्हुनाउँदाे-गडगडाउँदाे खहरे जस्ताे राजनीतिक उहापाेहले पराेक्ष-प्रत्यक्ष उद्विग्न र बिदीर्ण बनेकाे याे वर्तमानमा कुनै पनि कित्ता र त्यसका एकाइहरूलाई वैचारिक स्वतन्त्र्य उपयाेग गर्न सजिलाे मनाेवैज्ञानिक स्वतन्त्रता छैन ! शायद यसाे भनिरहनुलाई नै पनि देशका मुखिया-मुनिमहरूले म नकुल काजीले ‘लीला लेखन’ बुझे जस्तै र जसरी नै बुझेका हुन पनि सक्लान् । अचम्म मान्नु छैन । याे कथन पनि साहित्यकाे कुनै विधामा अंकित भएर कागजमा अवतरित भए, राजनीतिका हकमा, ‘लीला लेखन’-मा स्थापित हुन सक्ताे हाे ।
म उसबेला दार्जीलिङकाे स्कूले विद्यार्थी हुँदा साहित्य सिर्जनाकाे उत्पातै रहरे थिएँ । त्यसबेला ‘इन्द्र सर’ भनेपछि जाे-काेहीले चिन्ने इन्द्रबहादुर राई दार्जीलिङकाे टर्नबुल हाई स्कूलका शिक्षक हुनुहुन्थ्याे । मेरा निकट साहित्यानुरागी साथीहरू सन्तवीर लकान्द्री, ज्ञानेश्वर राई, दावा बम्जन, सुरेश राई, हर्कलाल शर्मा, भक्तराज मादेन, रूपा शर्मा, ध्रुबकुमार आदिसँग म पटक-पटक उहाँलाई उहाँकाे ‘घरमै’ भेट्न गएकाे सम्झना छ । दार्जीलिङकाे चाैरस्ता मुन्तिरकाे तुङसुङ गाउँमा रहेकाे उहाँकाे घरमा राखिएकाे नामकाे प्लेटमा अंग्रेजीमा SECLUSION (अर्थात् , विविक्तता वा एकान्तवास ?) लेखिएकाे थियाे । तर, त्यसकाे आभ्यन्तरिक आशय त्यतिमा मात्र सीमित छैन भनेर आयामेली साहित्यलाई दुर्वाेध र नाकामयाव सिद्ध गर्ने एउटा सक्रिय समूहका नायक भीम थापा हाम्राे अल्लारे समूहलाई भन्ने गरिरहनु हुन्थ्याे । भीम थापा नेतृत्वकाे त्याे समूहका प्रायः सबैले, त्याे प्रसंग उठेका बखत भन्थे -…”इन्द्र सर एकान्तवासकाे सार्थक अभ्यास अन्तर्गत धारामा नुहाउँदा निर्बाङ्ग नाङ्गाे भएर नुहाउनु हुन्छ । त्याे SECLUSIONकाे एउटा इमानदार व्यावहारिक अभ्यास हाे भनेर बेधक भन्ने गर्नुहुन्छ उहाँ ! “… आज ‘लीला लेखन’-काे पहेली फुकाउन नसकिरहेकाे मेराे मस्तिष्कमा यी कुराहरू साहित्यकाे उपर्युक्त प्रकरण केलाउने आधारमध्ये पर्छ कि भन्ने लागिरहेकाे छ !
इन्द्र सरसँग व्यक्तिगत चिनाजाना हुनभन्दा निकै पहिला दार्जीलिङकाे गाेर्खा दुःख निवारक सम्मेलन हलमा उहाँकै प्रमुख आतिथ्यमा सम्पन्न एउटा साहित्य गाेष्ठीमा म पनि सहभागी भइरहँदा उहाँलाई पहिलाेपल्ट देखेकाे हुँ । म त्यसबेला आठाैं कक्षाकाे विद्यार्थी । र, विद्यार्थी सहभागीहरूमध्ये सम्भवतः सबभन्दा सानाे थिएँ म । र, मेराे पालाे पनि अरू विद्यार्थी सहभागीहरूकाे पालाेपछि अन्तिममा परेकाे थियाे । मैले कविता पाठ गरेकाे थिएँ । र, त्यसपछि केही अतिथिकाे सम्बाेधन भयाे अनि प्रमुख अतिथि (इन्द्र सर)-काे सम्बाेधन भयाे । साे सम्बाेधनमा उहाँले हामी रहरे स्रष्टालाई प्रेरित गर्दै, मेराे चाहिँ नामै लिएर, भन्नु भएकाे थियाे -“यी कलिला कलमहरू सूर्य उदाउन अघिकाे आकाशका लाली हुन् । हामी उदाइसकेकाहरूले यिनलाई हियाउने अपराध गर्नु हुँदैन ।” अतः त्याे घटना मेराे कमलकर्मी जीवनकाे अविष्मरणीय र सर्वाेपरि प्रेरक सूचीमा सूचिकृत छ ।
मेराे उत्सुकताबाट, सायद प्रफुल्ल भएरै हाेला, त्यसकाे सम्भरणका लागि उहाँले मेराे डायरीमा विश्व-साहित्यकै यशस्वी सर्जकहरूकाे नाम र तिनका पठनीय कृतिका नाम लेखिदिने गर्नुहुन्थ्याे । उहाँबाटै निर्दिष्ट भएर मैले विलियम समरसेट मामका नाटक र ओैपन्यासिक कृतिहरू दार्जीलिङका पुस्तक-पसलहरूमा भेटेसम्म किनेर पढें । मैले लेखी प्रकाशमा ल्याएका मेरा आठवटा उपन्यासहरूमा वर्णित समाज र पात्र-पात्रा नेपाली भए पनि तिनलाई बाटाेमा हिँडाउँदा प्रयुक्त सिर्कनाहरू समरसेट मामबाटै पाएकाे हुँ भन्ने लाग्छ अहिले पनि मलाई । …. गुस्ताव फ्लावर्ट, जाेसफ फ्रांक, सिग्मण्ड फ्रायड, अल्फ्रेड कजीन, भ्लादिमीर नबाेकाेम, आर्किवाल्ड मेक्सीयस, जाँ पल सार्त्र, अल्बर्ट कामु, फ्रेञ्च काफ्का, टमस इस्टर्न इलियट, राेबर्ट साउदे, मेक्सिम गाेर्की आदि अनि हिन्दीका जैनेन्द्र, मुरलीधर, ख्वाजा अहम्मद अब्बास आदि-इत्यादि, अथवा सम्झनालाई झक्झक्याउनै पर्ने, दशाैं दर्जन लेखकलाई तिनका कृतिका माध्यमबाट इन्द्र सरले मसँग बग्रेल्ती परिचय गराउनु भएकाे थियाे ।….आज ‘लीला लेखन’ -काे सन्दर्भ सामू म गाउँले पाठशालामा जिल्ल परिरहेकाे तीन-चार कक्षाकाे लठुवा छात्र सरह किन भइरहेकाे छु ? मेराे मन भनिरहेकाे छ -“यसकाे निवारण आवश्यक छ ।”…. नत्र इन्द्र सरलाई सालिन्ने तर्पण दिंदा गाउँठाउँकाे झटपटे-लटपटे पुराेहितले अनभिज्ञ जजमान सामू लटपटाउँदै रुद्री पढे जस्ताे कसाे नहाेला !
नेपाली भाषा-साहित्यमा उनै उपस्थापकद्वारा उपस्थापित ‘लीला लेखन’-काे सिद्धान्त आज मेरा लागि दुर्बाेध किंवा मेराे अनवरत साधनाका लागि दुःसाध्य बनिरहनुलाई मैले मेराे दुर्भाग्य ठान्नु परिरहेकाे छ । शायद मेराे याे उद्विग्न भावनात्मक सम्वेगभित्र ‘लीला लेखन’ नै पाेभर्खर टुसाउँदै हाेला कि, जाे पल्लवित-पुष्पित हाेस् भन्ने मेराे चाहना छ । र, याे सत्य म अभ्यन्तरबाटै निश्छल अक्षरमा उतारिरहेकाे छु ।
प्राज्ञ टाेल, भद्रपुर – झापा ] ****** [ २०८२ भदाै ०१ गते