:— प्रा.डा. बद्रीविशाल पोखरेल —:
एमाले नव निर्वाचित अध्यक्ष ओलीले ईश्वर पोखरेलले मसित अध्यक्षमा प्रतिस्पर्धा नै गर्न हुन्थेन भने । अनि उनले आफूसित प्रतिस्पर्धा नगरेको भए पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउन सकिन्थ्यो पनि भने । यसरी ओलीले पार्टीका तमाम नेता र कार्यकर्ताको भाग्य र भविष्य आफ्नो दया,कृपा र आशीर्वादमा मात्र हुन्छ भन्नखोजे। यस्ता कुबुद्धि देखेर र व्यहोरेर अब एमाले ओली प्रा.लि.मा परिणत भएछ भन्ने स्पष्ट भयो । यसरी आश र त्रासमा पारेर पञ्चायतलेझैँ निर्वाचनमा विजयी हुनु कुन अचम्म भयो र ? ओली एक्लै प्रतिस्पर्धाको दौडमा दौडिएर प्रथम हुने दिवा स्वप्नमा थिए । यसरी ओली जबजको मर्ममाथि सोझै प्रहार गर्दै थिए । जबजले योग्य र अझ योग्यतम मध्येबाट योग्य नेतृत्व चयन गर्नुपर्छ भन्छ । जबजले पार्टी भित्रका स्वस्थ्य प्रतिस्पर्धालाई सामान्य र स्वाभाविक ठान्छ तर ओली आफूसित कसैले प्रतिस्पर्धा गर्नु नै अपराध हो भनेझैँ गर्छन् । र योग्य व्यक्तित्वदेखि तर्सिए ।
निभ्ने बेलाको बत्ती निक्कै चम्किएर धिप्प धिप्प बल्छ तर केही छिनमा धिपिक्क हुन्छ, निभ्छ । राजनीतिमा सही सिद्धान्त र त्यस अनुसारको जीवन आदर्श र आचरण नै नेतृवलाई बचाउने तेलको धारा हो यही नै बत्तीलाई सदा झरझर पारेर बाल्ने तेल हो । जननेता मदन भण्डारी जीवित हुँदा वा दिवङ्गत हुँदा पनि झरझर बलिरहेका छन्,सूर्यझैँ चम्किलो प्रकाश छरिरहेका छन् । जबज र मदनलाई अनेक बहानामा षडयन्त्र र चरम धाँधली पूर्वक दरकिनार गर्ने कुचेष्टा गरियो तर पनि सूर्यलाई हल्केलाले छेक्न सकिँदो रहेनछ । यो कुरा एमाले पार्टीको ११ औँ महाधिवेशनको सारबाट पुष्टि नै भयो ।
बोक्रा, पलाँँस र पातको आयु धेरै हुँर्दैन तर जबजको सार र गुदीतत्व सय वर्ष खडा, लडा र पडा हुन्छ । ईश्वर पोखरेल विचार समूहले जबज रक्षकको भूमिका जीवन्त बनायो । यस समूहले प्राविधिक रुपमा हार्दाहार्दै जित्यो । ओलीको स्वार्थ समूहको भने सारमा हार भयो । आखिर स्वस्थ्य प्रतिस्पर्धालाई नै निषेध गर्ने दुष्प्रवृत्तिको हार भयो । एमाले पार्टीमा उत्पन्न निरङ्कुशताले टाउको निहु¥यो, गल्यो र पानी पानी भयो । यही डरका मारे अध्यक्ष ओलीले महाधिवेशनका सबालमा सबै विधि विधान मिचेर स्वेच्छाचारी चरित्र देखाए । अझ प्रतिनिधि चयन र केन्द्रीय सदस्य निर्माणामा के कस्ता खेल भए भन्ने कुरा अझै उजागर हुँदै जालान् । हिजै विराटनगर स्थित पार्टी कार्यालयमा भेटिएका मुस्लिम लगायत विभिन्न जाति संस्कृति समुदायका नेताहरुले ओलीप्रति चरम गुनासो गरे । हुन पनि आफूलाई कसरी कहाँबाट बढी मत आउनसक्छ, ल्याउन सकिन्छ र सजिलै जित्न सकिकन्छ भनेर मुस्लिम,थारु,आदिवासी र जनजाति समुदायका क्षेत्रबाट उम्मेद्वार लिस्ट बाँडिएको रहेछ । यसले गर्दा बाग्मती र कोशी प्रदेशबाट केन्द्रीय सदस्य एक जना पनि बनाइएनछ ।
नेकपा संस्थापक महामन्त्री तथा जननायक बीपी कोइराला सही राजनीतिक सिद्धान्तका तेल ( बलले सदा जीवित छन् । सर्वमान्य नेता विशेषतः ०४६ को आन्दोलन परिचालन सन्दर्भमा सर्वमान्य, तथा लौहपुरुष गणेशमान सिंह जुगजुग झरझर बलिरहने नेता हुन् । आवश्यक पर्दा संयुक्त आन्दोलनलाई व्यावहारिक रुप र आकार दिने सन्दर्भका युगद्रष्टा हुन् गणेशमान । पार्टी वा सरकारी शासन, सत्ता,शक्ति र सम्पत्तिका भरमा कतिदिन बल्न विजय हुन सकिन्छ र ?
कुनै पनि वस्तु ÷व्यक्तिको नाश हुनमा आन्तरिक पक्ष प्रधान हुन्छ । जथाभावी र जे पायो त्यही खाए स्वास्थ्य थला पर्छ र मर्छ । शरीरभित्र विष तत्व हाबी हुँदा व्यक्ति,पार्टी समाप्तै हुन्छ नि ? नेता गोकल बाँस्कोटाले महाधिवेशनमा स्वस्थ्य निर्वाचन बारे बोल्नै चाहेनन् । उनले अहिले पनि ओली फेरिएको परिस्थिति अनुसार परिवर्तित भएका छैनन् भने । ईश्वर पोखरेललाई सपथ ग्रहणमा नबोलाउनु, विगत महाधिवेशनमा आफू हार्दा ओलीले आफैँले अलग भेला बोलाएको बिर्सनु, पार्टी राजनीति र राजकीय तहमा आफ्नो स्वार्थ समूहलाई मात्रै काखी च्याप्न खोज्नु ओलीलाई चरिनाङ्गो बनाउने प्रवृत्ति हो ।
विचार, सिद्धान्त जीवन आदर्शबाट मात्र चिरञ्जीवी भइन्छ । इमान्दार नेता र कार्यकर्तालाई उसको मृत्युपछि पनि पार्टीको संगठित सदस्य दिइन्छ । बेइमान छ भने पाएको संगठित सदस्यता पनि खोसिन्छ । ओली कमरेड, जीवित समयमा सत्ता शक्ति र सम्पत्तिका आधारमा जीवित रहन सकिएला । किनभने यति बेला जयगान गर्ने हरिया झिँगा फनफनी घुम्छन्, ठूलाठूला स्वरमा जिन्दावाद पनि भन्छन्, आरती र भजन कीर्तन पनि गर्छन् । यस्ता बेला सस्ता मालको राइँदाइँ नै हुन्छ । मानाँै धर्तीमा सही, सत्य र तथ्य कुरा स्पष्ट रुपमा राख्ने विवेकी मान्छे नै छैनन् कि भनेझैँ भान हुन्छ । पार्टी सञ्चार र मिडिया संयन्त्र भाटका अधीन हुन्छन् र तिनीहरु पनि भाटगिरीमै रमाउँछन् । सबै पञ्च नेपाली सबै नेपाली पञ्च भनिए पनि यस खालको प्रपञ्च पानीको फोकासरह फुट्यो । भाटहरुले भुँडी भर्छन्, तिनले राजनीतिक र राजकीय सत्तासीनलाई जोगाएको इतिहासमै पाइन्न ।
जबजको भुइँ तहदेखि नै सतीसालजस्तै देश र जनताका हितमा ठिङ्ङ उभिने कार्यकर्ता र पार्टी संगठन बनाउने लक्ष छ । जननेता मदन भण्डारीले पार्टी र नेतृत्वको भक्ति र भजन गर्ने दुष्प्रवृत्तिलाई सर्वथा निषेध गरेका थिए । तर ओली आफूलाई श्री ५ होइन श्री छ सरह बन्ने दुस्साहस गर्न थाले । यसले गर्दा ओली अवसानतिर तीव्र रुपमा उन्मुख देखिए । जबज अनुसार कुनै विधि पद्धति र प्रणालीलाई सर्वथा उपेक्षा गरे । हिजै गरेका लेखेका बचन र बाचा विरुद्ध उनी आफैँ लाग्न थाले । इमान र विवेकको कुरा बारबार गर्ने बेइमानी र अविवेकी हुन थाले । ओली सामन्तवादी र पुँजिवादी शासन र शक्ति केन्द्रलाई समेत उछिन्दै लालफितासाह बन्न पुगे । उनको अक्कासिँदो अहंकार मत्थर भएको पाइन्न । हारेर पनि जितेको ईश्वर पोखरेलको विचार समूहदेखि अहिले पनि ओली अलल्लिएका देखिन्छन् । जबजको जनवाद स्टालिन र एक समयको अतिवादी विचार केन्दित माओकाल किमार्थ होइन । अनि त्यही समयको जस्तो नोकरसाही जनवाद त जबज हुँदै होइन । यो त जनताको बहुदलीय जनवादको समय हो । पार्टी भित्र हरेक नेता र कार्यकर्तालाई नेता, नीति, नेतृत्व र विचारका बारेमा बोल्न पाइन्छ, आलोचना गर्न पाइन्छ, यसमा मदन भण्डारी नै सहमत थिए । बुद्धिजीवी परिषद्लाई मदनले पार्टीलाई सुझाव, सल्लाह र आवश्यता अनुसार मित्रवत् आलोचना गर्ने संस्थाका रुपमा अघि सारेका थिए । सबै आलोचना शत्रुवत् हुँदैनन् । ईश्वर पोखरेल समूहले पार्टी भित्रै बोलेको ओलीले जस्तो सडकमा थाङ्ना फोगटा छरेको होइन । उनीहरुले पार्टीकै हितकै हितलाई बहुत ख्याल गरेर बोलेको हो ।
इतिहास निर्मम हुन्छ । बाचुन्जेल जयजयकार अनि मृत्यु पश्चात् धिक्कार र दुत्कार हुन्छ । आफ्ना पखेटा आफैँ काटेपछि, विकृति र विसंगतिलाई काखी च्यापेपछि कसरी जिउन सकिन्छ ? तमाम कार्यकर्ता र जनतासित मुख र मुहार देखाउन लायक नेताहरुले साथ छाडेपछि ओलीे एक्लो हुने कुरा त स्वतः सिद्ध देखिन्छ । महाधिवेशनमा मत धेरै आएको छ भनेर आफैँ मख्ख परेर हुन्न । आफ्नै टोल,वार्ड,नगर,जिल्ला
र प्रदेशमा तिनको हरिबिजोक देखिन्छ । के तिनले जनता र कार्यकर्ताको मन जित्ने कुनै काम गरेका छन् ? प्रश्न गम्भीर छ । कुनै पनि नेता प्रश्नको घेरामा बस्न सक्छ भने उ सच्चिन र सप्रिन पनि सक्छ तर ओली उपर्युक्त गम्भीर विषयका बारे हाक्का हाक्की विरुद्ध छन् ।
ओलीले आफ्नै पखेटा काटे । अब उनी गुण्डु बाहिर निस्कँनै नसक्ने अवस्थामा पुगेका छन् । प्रमबाट राजिनामा दिन बाध्य भएर हेलिकेप्टरबाट कुलेलम ठोक्नु परे पनि ओली घमण्ड आकास छेड्न खोज्ने खालको छ । उनका विरुद्धको लहर देश व्यापी बनेको देखिन्छ । आफ्नै पार्टीभित्र इमान्दार, विवेकी,सिद्धान्तनिष्ठ, अनु्भवी नेताहरु ओलीको कार्यशैलीदेखि वाक्क र दिक्क भएका छन् । सहयात्री, समवयी र सहयोद्धा नेताका मन चिमोटेर र निमोठेर हार्दिक मैत्री सम्बन्ध कायम हुँदैन । घरलाई सबल बनाउन जग अपरिहार्य हुन्छ । ओली जबज विरुद्ध कम्प्रिहेन्सिभ डेमोक्रेसीको खूब तारिफ गर्छन् । आफैँ उभ्भिने धर्ती र धरातल ओली खोस्रिन आतु र व्यग्र देखिन्छन् । अनि ओली कुन भुईमा टेकेर उभ्भिन्छन् ? घरमै कलह सिर्जना गरेर जनताको मन कसरी जित्छन् ? टेक्ने र समाउने कुनै ठाउँ नरोखेका ओलीको राजनीतिक क अवसान सुनिश्चित देखिन्छ । यसरी ओलीको राजनीतिक जीवन समाप्तिको चरणमा पुगेको देखिन्छ । तीन खुट्टे ओदानका दुई खुट्टा काटेर ओदान कसरी अडिन्छ ? घरको मूल खाँबो÷पीलर भत्काएर घर कसरी टिकाउन सकिन्छ ? बोक्रा र पिलाँसका भरमा सति साल कसरी ठिङ्ङ उभिन सक्छ ? घरका सावालकलाई खेदेर नाबालकका भरमा कसरी परिवार चलाउन सकिन्छ ? समाजमा विकृृतिग्रस्त पहिचानका जत्था बोकेर नेताको प्रतिष्ठा कसरी कायम हुन्छ ? ढोडका तक्माका भरमा प्विन्टलको भारी कसरी बोक्न सकिन्छ ?.
प्रसिद्ध राजनैतिक विश्लेषक सुवोधराज प्याकुरेल हुन् वा प्रभावशाली एमाले नेता मुकुन्द न्यौपाने नै किन नहुन् ओली रबैया प्रति रुष्ट छन् । अनुशासन आयोगका निवर्तमान अध्यक्ष तथा लोकप्रिय नेता केशव बडालले ओलीको नियत प्रति वाक्क र दिक्क भएका रहेृछन् । निवर्तमान उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ओली महिला द्वेषी हुन् र यिनी अब सच्चिँदैनन् भनिन् । निवर्तमान संगठन विभाग प्रमुख तथा अत्यन्त सोझा चरित्रका काशीनाथ अधिकारीले अनुशासन आयोगको अध्यक्ष बन्ने ओली(आग्रहलाई लत्याए । ओलीकै समर्थनमा विद्या भण्डारीको संगठित सदस्यता प्रदान गरेको विषयमा कृत्रिम विवादमा आफूलाई मुछेर ओलीकै कारण उनी लाञ्छित गरिए । यसले अधिकारीको मन धेरै कुँडिएको देखियो । देवप्रकाश त्रिपाठीले एक टीभी अन्तवार्तामा विद्या भण्डारी पार्टीमा आए आफू पराजित हुने डर ओलीमा रहेको बताए ।
हुन पनि ओलीले विद्या भण्डारीको संगठित सदस्यता विषयमा शकुनी पाराको छक्का (छक्याउने) दाउ खेले । विगत एक वर्ष अघिदेखि आफूलाई एक्लो वीर बनाउने दुष्प्रयत्न स्वरुप ओलीले पार्टीभित्र अनेक खालका षडयन्त्र, तिक्डम तथा दाउपेच गरे । महाधिवेशनका बेला पाटी कार्यकर्ताका आन्तरिक जनवादी मौलिक हक र अधिकारलाई ओलीले निमोठे । यसरी प्राप्त विजय पराजय हो । टाउको गन्ती होइन, गिदीको गन्तीलाई जबजले महत्वपूर्ण ठान्छ तर ओली पञ्चायती पाराको विजयमा आफैँ मख्ख परेका छन् तर यसबाट ओलीको दाँत हाँसे पनि आँत हाँसेको पाइन्न ।
लेखक एमाले पूर्व केन्द्रीय सदस्य हुन् ।