:– विमल लामिछाने –:
दमक । देशको पर्यटन क्षेत्रमा आशाका किरणहरू पलाउन थालेका छन् । नेपाल प्राकृतिक रूपले अनुपम र सांस्कृतिक रूपमा समृद्ध मुलुक मानिन्छ । मुलुकमा शान्ति सुब्यवस्था कायम हुने हो भने मुख्य आयश्रोत नै पर्यटकीय क्षेत्र हुनसक्ने सम्भावना नेपालमा प्रवल छ ।
यस अघिका सरकारहरुले प्रत्येक चालु वर्षमा पर्यटन पूर्वाधार विस्तार, पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै आएका थिए, तर कोरोना महामारी, भूकम्प, बाढी पहिरोजस्ता दैविप्रकोप र राजनीतिक अस्थिरताका कारण सुस्ताएको पर्यटन यतिखेर पुन ब्यूतिन थालेको छ । राजनीतिक स्थिरता उन्मुख अवस्थासँगै शान्ति–सुरक्षामा आएको सुधारका कारण विश्वभरका यात्रुका लागि फेरि आकर्षक गन्तव्यका रूपमा नेपाल देखिन थाल्नु सकारात्मक संकेत हो ।
जैविक विविधता, बहुजातीय–बहुभाषीय सांस्कृतिक संरचना, प्राचीन इतिहास, धार्मिक र सांस्कृतिक सम्पदाहरू नेपालभित्रको पर्यटन आकर्षणका मुख्य आधार हुन् । तर, यी सकारात्मक सूचकसँगै चुनौतीहरू पनि उस्तै गम्भीर रूपमा देखा परिरहेका छन् ।
बढ्दो शहरीकरण र भूमिको मूल्यवृद्धिले ऐतिहासिक सम्पदाहरूमा अतिक्रमण बढिरहेको छ । पर्यटकहरूको सुरक्षामाथि समय–समयमा उठ्ने प्रश्नहरू यथावत् छन् । नेपाल पछिल्ला वर्षहरूदेखि नै असुरक्षित हवाई यात्राको सूचीबाट बाहिर निस्कन नसक्दा अन्तर्राष्ट्रिय छवि कमजोर बन्न पुगेको छ । त्यसमाथि सेवा–गुणस्तरभन्दा ‘डलर उन्मुख व्यवसायिक मानसिकता’ले भ्रमणमा आएको पर्यटकको अनुभवमा नकारात्मक असर पारिरहेको छ ।
यस्तै सन्दर्भबीच नेपालले २०२५ को मुख्य पर्यटन सिजन मानिने अक्टोबर वा कार्तिक महिनामा उल्लेख्य वृद्धि दर्ता गर्न सफल भएको छ । अक्टोबर २०२५ सम्ममा मात्रै १ लाख २८ हजार ४ सय ४३ पर्यटक नेपाल आए, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ दशमलव ३ प्रतिशतले बढी हो । २०२४ को अक्टोबरमा १ लाख २४ हजार ३ सय ९१ पर्यटक आएका थिए। यसपटक भारतीय पर्यटकको संख्या सबैभन्दा बढी भए पनि वृद्धिदरका हिसाबले अमेरिकी र युरोपेली देशहरू अगाडि देखिन्छन् । भारतबाट १७ हजार २ सय ९८, अमेरिकाबाट १३ हजार २ सय ८६, बेलायतबाट ८ हजार ७ सय १८, चीनबाट ६ हजार ७ सय ५५ तथा जर्मनीबाट ६ हजार ३ सय ६६ पर्यटक नेपाल आएका छन् । सरकारी तथ्यांक अनुसार अक्टोबर महिनामा युरोपेली पर्यटकको हिस्सा ३१ दशमलव ६ प्रतिशत पुगेको छ, जुन ४० हजार ६ सयको संख्याले प्रत्यक्ष देखाउँछ ।
दक्षिण एसियाली राष्ट्रहरूबाट २२ दशमलव ६ प्रतिशत अर्थात् २९ हजार ६० पर्यटक नेपाल आएका छन् भने अन्य एसियाली देशबाट २३ हजार १ सय २७, अमेरिकी क्षेत्रबाट १६ हजार ४ सय ७, ओसियाना क्षेत्रबाट ६ हजार ८ सय १४, मध्यपूर्वबाट ३ हजार ५ सय ४८, अफ्रिकाबाट ४ सय ४३ तथा अन्य क्षेत्रबाट ८ हजार ४ सय ४४ पर्यटक नेपाल भित्रिएका छन् ।
अक्टोबरमा भएको पाहुना आगमनसँगै शरद ऋतुका हिमाल आरोहण गतिविधिहरू पनि घनिभूत बनेका छन् । वर्षका पहिलो १० महिनाको समग्र तथ्यांकले पनि पर्यटन क्षेत्र स्थिर रूपमा उकासिएको देखिन्छ । जनवरीदेखि अक्टोबर २०२५ सम्म कुल ९ लाख ४३ हजार ७ सय १६ पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको ९ लाख ४१ हजार २४ को तुलनामा अलि बढी हो । देशगत आगमनमा भारत २ लाख ४३ हजार ३ सय ५० सहित पहिलो स्थानमा छ । दोस्रो स्थानमा अमेरिका रहँदा सोही अवधिमा ९३ हजार ९ सय ८५ अमेरिकी पर्यटक नेपाल आएका छन् । चीन ७८ हजार ९ सय २९ सहित तेस्रो स्थानमा छ । चौथोदेखि दशौँ स्थानसम्म क्रमशः बेलायत ४७ हजार २ सय ६१, बंगलादेश ४५ हजार २ सय ८७, अस्ट्रेलिया ३८ हजार ९ सय ८४, श्रीलंका ३२ हजार १ सय ३७, जर्मनी २४ हजार ८ सय ४१, थाइल्यान्ड २२ हजार २ सय ६१ र दक्षिण कोरिया १९ हजार ३ सय २९ रहेका छन् ।
महादेशगत संरचना हेर्दा १० महिनाको अवधिमा कुल पर्यटकमध्ये ३५ दशमलव ८ प्रतिशत अर्थात् ३ लाख ३७ हजार ५ सय ११ दक्षिण एसियाली मुलुकबाट आएका छन् । एसियाका अन्य देशहरूबाट २० दशमलव ९ प्रतिशत अर्थात् १ लाख ९७ हजार २ सय ९६ पर्यटक आएका छन् । युरोपेली पर्यटक १ लाख ८० हजार १ सय ४५ अर्थात् १९ दशमलव १ प्रतिशत रहेको छ । त्यस्तै अमेरिकी क्षेत्रको १२ प्रतिशत अर्थात् १ लाख १३ हजार ४ सय ५९, ओसियाना क्षेत्रको ४ दशमलव ४ प्रतिशत अर्थात् ४१ हजार ९ सय २, अफ्रिकाबाट ३ हजार ४ सय ७९ अर्थात् ० दशमलव ४ प्रतिशत र अन्य क्षेत्रबाट ५१ हजार ५ सय १४ अर्थात् ५ दशमलव ५ प्रतिशत पर्यटक नेपाल आएका छन् ।
यी सबै तथ्यहरूले यो वर्ष नेपालमा पर्यटन पुनरुत्थानको संकेत त स्पष्ट देखिएका छन्, तर चुनौतीहरू अझै हटेका छैनन् । राजनीतिक रूपमा स्थिरता कायम भइरहे पनि सम्पदा संरक्षणमा गम्भीर कमजोरी, पर्यटक–मैत्री पूर्वाधार निर्माणमा ढिलाइ, हवाई सुरक्षामा अन्तर्राष्ट्रिय मापदण्ड पूर्ति गर्न नसक्नु र सेवागुणस्तरमा अपेक्षाकृत सुधार नदेखिनु जस्ता विषय तत्काल समाधान खोज्नुपर्ने मूल समस्याको रुपमा रहेका छन् ।