अघोर वाम मार्ग शैव मार्गीहरूको लागि एउटा फरक र विशेष किसिमको साधना पद्धति हो, जसमा शिव र सती अर्थात् मसान तारा कालीको आदि शक्ति रूपको पूजा गरिन्छ । शिव र शक्तिको प्राप्तिको लागि अघोर तप गरिन्छ । अघोर तपमा लीन रहेका अघोरी नाग साधुहरू तथा गुरुहरूबाट विशेष दीक्षा प्राप्त गरे पछि मात्र अघोर साधनाको अधिकारी बन्न सकिन्छ । असल अघोरी गुरु वा अघोरी नागा साधुहरुलाई हतपती चिन्न गाह्रो हुन्छ । अघोरी नागा साधुहरु गोप्य तरिकाबाट ध्यान र समाधिमा लिन रहेका भेटिन्छन् । असल अघोरी साधुहरु पूर्ण रूपमा आन्तरिक साधनामा लागेका हुन्छन् । उनीहरूले लोकलाजको पूर्ण रूपमा परित्याग गरेका हुन्छन् । कुनै विशेष सम्प्रदाय वा मठका अघोरीहरुले फरक किसिमका भेषभूषा आनीबानी पनि धारण गरेका भेटिन सक्छन । असल अघोरीहरु हीरा जुवाहरात भन्दा पनि आफुलाई कडा र कठोर सम्झेका हुन्छन् अथवा उनीहरू परिस्थिति अनुसार मोम भन्दा पनि नरम हुन सक्छन् । मानिसहरूले मनभित्रको आध्यात्मिक चेतनाको उच्चतम् अवस्थामा पुग्नको लागि प्राकृतिक रूपबाट नै धेरै मलजल गर्नु पर्ने हुन्छ । किसिम किसिमका आध्यात्मिक अभ्यासहरू र साधना हुन सक्दछन् । तर सबै साधनाहरूको हुस्तर समान नहुन पनि सक्दछ । हाम्रा ऋषि मुनीहरुले आध्यात्मिक उन्नति र प्रगतिको लागि मानिसहरूको लागि किसिम किसिमका साधना पद्दतिको विकास गरेका छन् । सबै मानिसहरूले आफ्नो विशिष्ट किसिमका आवश्यकताका लागि विशेष किसिमको पूजा पद्धतिको अभ्यासलाई अगाडि बढाइरहेका हुन्छन् । अघोरीहरुले विशेष रूपमा छिटो फलित हुने अघोर तान्त्रिक विधिलाई अपनाई छिट्टै भगवानको दर्शन र प्राप्ति गरेर भगवानको धाममा फर्किन चाहेका हुन्छन् । अघोरीहरुले आफूलाई एक(एक क्षण पनि भगवान्भन्दा टाढा बस्न चाहँदैनन् । अघोरीहरुले जिउँदो लाश झैँ आफूलाई ठानी मानिसको जल्दो चिताको लाश निर ध्यान समाधिमा बसेर आफ्नो अन्तर्चेतनालाई मानिसका सबै सांसारिक सीमा वा अपवादहरुबाट पार गराएर ईश्वरमा लिन रहेका भेटिन्छन्, तथा आफूलाई एकदमै नयाँ तरिकाबाट तलैदेखि शिव प्राप्तिको लागि प्रस्तुत गर्दछन् । त्यसपछि अघोरीहरूले कसै सित पनि डराउनु पर्दैन । अघोरीहरुले आफ्नो नयाँ व्यक्तित्वमा आफूलाई प्रशिक्षित गरेका हुन्छन् । उनीहरुले भगवान् शिव र माता कालीको शरणमा पूर्ण रूपमा समर्पित गरिसकेका हुन्छन् ।
काम उर्जा अर्थात् सेक्स ईनर्जी अघोर तन्त्रको मूल विषय वस्तु हो । प्रकृति र पुरुषमा रहेको काम उर्जालाई वैश्विक काम उर्जा अर्थात् शिव र शक्तिको दिव्य ऊर्जासँग एकाकार गर्न सकिन्छ ।
तन्त्रको उद्देश्य शिव र शक्ति बीच देखिएको द्वैधताको अन्त्य गर्नु हो । तान्त्रिक विधिबाट शिव र शक्तिलाई साक्षात्कार गराउन सकिन्छ । तन्त्रलाई कुनै खास धर्मको धार्मिक कर्मकाण्डको रुपमा स्थापित गर्न सकिँदैन् । किनकि यसले अनेकौं किसिमका भ्रमहरु र अपवाहहरुसँग सामना गरेर अगाडि बढ्नुपर्ने हुन्छ । तन्त्रले मात्र शिव र शक्तिलाई मुलाधारदेखि सहश्रारसम्म एक आपसमा जोडेर समाधिको अवस्थामा अन्तर प्रविष्ट गराउने कार्य र अभ्यास गर्दछ । यसले जीवात्मा र परमात्मालाई अनन्तसँग जोडेर मोक्षको बिन्दुसम्म पु¥याउने अवसर प्रदान गर्दछ । शिव र शक्ति बीचको एकीकरण अर्थात् योनी र लिङ्ग बीचको एकीकरण गराएर यसले परमात्माको साक्षात्कार गराउँदछ । कुनै विशेष परिस्थितिमा मात्र मृत शरीरसँग सम्भोग गरेर बामाचार विधिको प्रयोग गरी साधना गरिन्छ । जो आध्यात्मिक उन्नतिको लागि अत्यन्त आवश्यक हुन्छ ।
अघोर साधक गुरु बिमलानन्द भन्नुहुन्छ अघोर मन्त्रको स्मरण मात्रले मानिसहरूलाई बुद्धिमान र प्रतिउत्पन्नमति बनाउँदछ तथा साधनाहरूलाई प्रखर पनि बनाउँदछ । गुरु बिमलानन्दले आदिशक्ति दुर्गा भवानीमा तारालाई सर्वशक्तिमान मानेका छन् र उनकै इच्छा अनुसार यस्ता सबै किसिमका अघोर साधनाहरू निरन्तर रुपमा संसारमा जारी छ । मन्त्रको प्रभावले अघोरीहरू यति धेरै शक्तिशाली बन्न सक्दछन् कि विश्वमा जहाँ पनि तुरुन्तै पुग्न सकिन्छ । तारा कालीको साधना गर्ने कार्य शब्द र वाणीको पहुँचभन्दा बाहिर छ । आत्म अनुभूतिबाट नै शिव र शक्तिको दिब्य ऊर्जाको अनुभव गर्न सकिन्छ । अघोरीहरूको आँखा अगाडिबाट कुनै पनि कुरा लुक्न सक्दैन । अघोरीहरूमा सबै किसिमका अलौकिक क्षमताहरू महाकालीको असीम कृपाले प्राप्त भएको हुन्छ । अघोरीहरूले बोलेका कुरा माँ तारा कालीले अत्यन्त ध्यान दिएर सुन्नुहुन्छ । अघोरीहरू आफ्नै मनभित्रको ज्ञानगंगा रूपी मानसरोवरमा नुहाएर दीक्षित भएका हुन्छन् । माँ तारा सबै किसिमका वैभव र स्रोत साधनहरूको मूल हुनुहुन्छ । वैश्विक ऊर्जाको रचनामा कालीको भयानक रूप नै विश्व ब्रह्माण्डको निर्माणमा सहयोगी हुन्छ । जब मानिसलाई भोक र तिर्खाले सताउँछ तब माँ को आवश्यकता पर्दछ । कुनै(कुनै बेला महाकाली आमाको रुप धारण गरी आउँछिन् । कुनैबेला पत्नीको रूप धारण गरेर आउँछिन् । कुनैबेला सानो बच्चा वा छोरा छोरीको रुप धारण गरेर आउँछिन् । महाकाली सधैँ हामी बीच नै रहि रहनु हुन्छ । हामी भन्दा टाढा कहिले पनि जानु हुन्न । धेरै अघि महाकालीले हामीसँग वाचा गर्नुभएको थियो, त्यही वाचा अनुसार महाकालीले हामीलाई छोडेर जान सक्नुहुन्न । मेरो शरीरभित्रको इगो अर्थात् अहंकारले म र मेरो शक्तिलाई नै जनाउँछ जसले म हुनुको परिचयलाई खुलाउँदछ । यदि त्यो मेरो शरीरभित्रको इगोले हामीलाई छोडेर गयो भने हामी तुरुन्त मर्न सक्दछौं ।अधिकांश मानिसहरुले त्यस्ता कुराहरु बुझ्दैनन्, तर अघोरीहरुले आफूलाई दुनियाको सबैभन्दा भाग्यशाली मानिस ठान्दछन् किनकि माताले नै हामीलाई आफ्नो इगोको बारेमा सिकाउँदछिन न् र त्यसलाई पहिचान गरी आद्यशक्ति जो सर्वशक्तिमान र अविनाशी हुनुहुन्छ, त्योसँग चिनजान गराउँदछिन् । माँ आद्याशक्तिलाई आफ्नै शरीरभित्र अनुभूति गर्न सकिन्छ अघोरी साधक र गुरु बिमलानन्द भन्नुहुन्छ,, मोक्षलाई कुनै बजारिया वस्तु सरह हासिल गर्न सकिँदैन यो एउटा मनभित्रकै विशेष अवस्था हो । जस्तै कुनैबेला विशेष साधनाहरु गरेर मानिस ब्राह्मण भन्दछन् त्यो अवस्था एउटा स्वप्न समान नै हुन्छ । तपाईं कल्पना गर्नुहोस्, कि समुद्रमा तरङ्ग उठिरहेको छ समुद्रभित्रको तरङ्गका लहरहरु अर्थात् इगो समुद्रभन्दा फरक देखिन्छन् तर, यो सधैं पानी अर्थात् ब्राह्मण जस्तै हुन्छ । यो समुद्री तरङ्ग समुद्रभन्दा फरक छु भनेर कहिले पनि आफूलाई ठान्दैनन् । यो जे छ त्यही छ ।
तपाईँले आफ्नो मनभित्रका जीवनका भ्रमहरू तथा मायाहरू बारे विचार गर्नुपर्दछ । म यस संसारमा नाङ्गै जन्मेको छु र नाङ्गै यस संसारबाट जाने नै छु । तपाईं जेसुकै गर्नुहोस्, जतिसुकै धन कमाउनुहोस्, मलाई मतलब छैन । तपाईं साधना गरेर मात्र सफल बन्न सक्नुहुन्छ । मानिसका अनुभवहरू नै सबैभन्दा ठूलो शिक्षक हो । तर मूर्खहरुले केही पनि सिक्न चाहेका हुँदैनन् । तपाईँलाई जब थाहा हुन्छ म को हुँ तब तपाईँका धेरै कुराहरू अनायास नै परिवर्तन हुँदै जान्छ ।
एकपटक एकजना जिज्ञासुले अघोरी गुरु कहाँ गएर दीक्षा लिएछन् अघोरी गुरुले आफ्ना शिष्यलाई दीक्षा दिँदै भनेका छन् यो भाँडो लिएर जाउ र यसलाई पानीले पुरै भरेर ल्याउनु, तर याद राख पानी ल्याउँदा तिमीले कुनै तलाउ पोखरी इनार झरना खोला वा नदीतिर जानु हुँदैन । अघोरीको नयाँ चेलाले धेरै सोच्यो धेरै विचार गर्यो जति सोच्न सक्थ्यो गर्यो तर दिन दिनभरि सोचिरहँदा पनि बेलुका गुरुको नजिक पुग्दा रितै भाँडो लिएर फर्किनु परेको थियो । गुरुले रितो भाँडो देखेपछि चेलोलाई उपदेश दिए यसलाई भर्नको लागि नदी वा खोलामा जानु पर्दैन यसलाई भर्नको लागि एउटा कुरो मात्र चाहिन्छ त्यो हो आफ्नो इष्ट र भगवानलाई प्राप्त गर्ने भावना हुनु । तिमीले आफ्नो इष्ट भगवान्लाई प्राप्त गर्नको लागि तिम्रो मनमा जुन छटपटी हुन्छ, तिमीले जुन आँसु झार्दछौ त्यही आँसुले यस जलपात्रलाई भर्नुपर्दछ । अनि मात्र तिम्रो अघोर दीक्षा पूर्ण हुन्छ ।
भोलिपल्ट फेरि गुरुले शिष्यलाई बोलाएर भनेछन्, मेरो लागि आगो तयार पारेर ल्याइदिनु पर्छ, तर ध्यान रहोस् त्यो आगोमा दाउरा वा इन्धन हुनु हुँदैन । फेरि चेलोले धेरै बेर घोरियो, धेरै बेर सोचेको सोचै गर्यो, केही हात लागेन । साँझमा फेरि रितै हात आश्रम फर्किनु पर्यो । गुरुले चेलोलाई फेरि सिकाएछन् हेर तिम्रो हृदयमा ईश्वरभक्तिको र ईश्वरप्रतिको आफ्नो प्रेमको आगो बल्नुपर्दछ । जबसम्म तिम्रो हृदयभित्र ईश्वर प्राप्तिको आगो बल्दैन, तबसम्म तिम्रो मनभित्रको अहंकार जल्दैन । मनभित्रको अहंकार जलेर ईश्वरको प्रेममा पग्लिएपछि मात्र आगो बल्छ र तिमी अघोरमा दीक्षित हुन पाउँदछौं ।
भगवान शिव सबैभन्दा ठूलो दाता हुनुहुन्छ । उहाँले आफ्नो लागि सबै कुराको त्याग गरिदिनु भएको छ र यस संसारमा रूपी मसान भूमिमा एक्लै बसिरहनु भएको छ । उहाँसँग प्रेम गर्ने मानिसको लागि उहाँ ले प्रतिक्षा गरिरहनु भएको छ । यो सम्पूर्ण विश्व नै एउटा मसान भूमि हो । यदि तपाईंलाई साधना गरेर शिवको सानिध्यमा बस्न मन छ भने र आशा छ भने एकछिन पनि नअल्मल्याई शिव साधनामा लाग्नु जरुरी छ किनभने जीवनमा गरेको विभिन्न किसिमका कर्महरूको हिसाबकिताब यही ठाउँमा आएपछि प्रारम्भ हुन्छ र भूमि, जल, वायु, आकाश, र अग्निको रूपमा अखिल ब्रह्माण्डमा संव्याप्त रहेको भगवान शिव र शक्तिको असीमित अनुकम्पालाई प्राप्त गर्न सकिन्छ ।
भगवान शिव र शक्ति कुनै पनि रूपमा तपाईंको अगाडि आउन सक्नुहुन्छ । एउटा अघोरी साधु तपाईँ हामी भन्दा धेरै कुराहरुमा फरक र विशिष्ट हुन सक्छन् । एउटा अघोरी सत, रज, तमको सिमा रेखा र हदलाई पार गरिसकेका हुन्छन्, तथा त्यसबाट माथि उठी सकेका हुन्छन्, जब कि हामी अनेकौं किसिमका छल प्रपञ्चहरूमा लागेर जीवन बर्बाद गरी रहेका हुन्छौं । भगवानप्रतिको असल प्रेम बात नै असल ज्ञान प्राप्त हुन सक्छ । चौरासी लाख योनिको चक्कर लगाएर संसारमा पटक पटक जन्म लिइरहनु भन्दा कम्तीमा पनि एकपटक अघोर साधना गरी महाकाल शिव र आद्या शक्ति माँ काली ताराको साधना गर्दै जीवनमा मोक्ष प्राप्तिको लागि प्रयास गर्नु जरुरी छ ।