नेतादेखि अभिनेता, सामाजिकदेखि धार्मिक ब्यक्तित्व र अरुको विरासत हेर्ने हो भने यो “नैतिकता” भन्ने शीर्षकलाई सार्थक बनाउने यो दुनियाँमा कोहि भेटिन्नन । यहाँ नैतिकता माथि यति प्रश्न उठ्या छन कि भनेर भन्न सक्ने अवस्था रहेन, अब । सुन्दा, बुझ्दा, हेर्दा, केर्दा लाग्छ यो शब्द नेपाली बृहत ज्ञानकोशमा यसको बृहत अर्थ हुँदाहुँदै हामी सामाजिक प्राणीहरु दिनप्रतिदिन गिर्दै गइरहेका छौं । यो शब्दलाई गलत अर्थ लगाएर हामी भाग्न खोज्यौ । यति भाग्यौ कि ती सज्जन ब्यक्तिहरुलाइ नि अनेक नामबाट नामाकरण गर्न उद्दत रहयौ । आफ्नो परिचयलाई नामेट बनायौ, धुजाधुजा बनायौ । राष्ट्रिय, अन्तरास्ट्रिय रुपमा आफैले आफैलाइ चिनायौ । जिन्दगीमा एकदिन यो भौतिक संसार छोडेर जानैपर्छ सबैले तर जान्दाजान्दै मान्छेले आफ्नो कर्तव्य बिर्सियो, इमानजमान बिर्सियो, आफू मैमत्ता बन्यो । जिन्दगीमा कहिले राम्रो काम गरेन, मष्तिष्कमा खुरापाती गर्न मात्र उद्दत रहयो । पहिले – पहिलेका मान्छेहरु यस्ता थिएनन तर जब देशमा प्रजातान्त्रिक बिधि र शासन पद्धति आयो नि अनि आजको आधुनिक मानव खुरापाती बन्न थाल्यो । कसलाई लडाऔ, भिडाऔ, जुम्सो बनाऔ, नराम्रो मान्छे बनाउनका निम्ति खुरापाती दिमाग भएका मान्छेहरु प्रयोग गरौ भन्ने मात्र सोच छ, अहिलेको आधुनिक मान्छेहरुको माथ मथिङ्गल । जीवनमा राम्रो काम गर्नुपर्छ, सकारात्मक काम गर्नुपर्छ, मै लाउनुपर्छ, मै खानुपर्छ भन्ने सोचलाई त्याग्न सकेन मान्छेले । बुझेरपनि बुझ पचाउनेहरुको बोलवाला भो । यहाँ सोझासिधा मान्छे कहिँ कतै नभेटिनु भनेकै मान्छेहरुको ओज घटाउनु हो । राजनीतिक, धार्मिक, सामाजिक, नैतिक शिक्षाको ज्ञान आर्जन गरेतापनि आफ्नो बिरासत सम्झेन, बुझेन बरु कुल्चदै अघि बढ्न थाल्यो, दिनदिनै ।
आजको आधुनिक मान्छेले कर्तव्य सबै भुलेको छ । रकमका लागि जीवनमा उ यति कुदेको छ कि उसले जन्मदिने आमाबुबा, आफन्तजन, साथीसङ्गी केही भनेको छैन । आततायी घटना घटाउन दिनप्रतिदिन हिंस्रक काम गर्न लागिपरेको छ । भोलि के होला ? जिन्दगी जोखिम हुन्छ या हुन्न भन्ने तर्फ मान्छे लागेन, खाली खुल्ला दिमागमा सैतानको बास बसाएर मानवको गरिमालाइ डस्न तत्पर रहयो । चेतनशील हुँदाहुँदै पनि किन आजको मान्छेले आफ्नो उचाईलाई पटकपटक ध्वस्त बनाउदैछ ? पुराण, कुरान , महायज्ञ लगायतका धार्मिक भावना बोकेका मठ, मन्दिर, मस्जिदहरुमा नीति शास्त्र लगायतका ठाउँहरुमा निष्ठाका आशिर्वचनका सत्कर्म सुनाइन्छ विद्वान, बिदुषीहरुले । तापनि मान्छेहरूको मन एकरत्ति परिवर्तन हुन्न किन होला ? सज्जनबृन्दहरुले सुनेर, गुनेर, बुझेर नीतिचेतनाका कुरा गर्दासम्म मान्छेले नैतिकता बोध गर्न सकेन, आज । जीवनलाई ठम्याएर सही दिशाबोध गरेर अघि बढ्ने हो भने उसले कहिलेपनि अर्काको भर परिराख्नु पर्दैन । आज कलुष मन बोकेका नेताहरूले हामीलाई झुक्याएर, छलेर लडाइँ, झगडा, तोडफोड, आगजनीतर्फ अघि बढ्न सिकाए । उनीहरू सत्ता र भत्ताका निम्ति हामीलाई प्रयोग हिजोपनि गरे अहिलेपनि गर्न लाउदैछन । हाम्रा नेताहरूले कुन बोल्ने, कुन नबोल्ने ? अहिलेसम्म जानेको देखिन्न, फोहोरी दिमागमा मनपरी बोलेर जनतालाई रणमैदानमा अघि सार्ने नेताहरूको चलखेल हामीले बुझ्न सकेनौ । अझैपनि तिनै बयोबृद्द नेताहरूका पछि हामी हतार – हतारमा दौडिरहेका छौ । आफ्नो तौल, उचाई घटाइरहेका छौँ । हामी अन्धभक्त भएर छिमेकी चिनेनौ, नातागोता, कुलकुटुम्ब चिनेनौ । उनीहरूलाई अनेक लान्छना लगायौ, सदभावमा कटुता ल्यायौ, योनै हाम्रो दृष्टिदोष हो । हामीलाई भगवानले सामाजिक प्राणीको दर्जा दिएर यस धर्तीमा पाइला टेकाए तर हामीले हाम्रो उच्च नैतिकतालाई अहिलेपनि खुट्टाले कुल्च्दैछौ, किन होला ? यसको सही उत्तर तपाईंले दिनै सक्नुहुन्न किनकि हामीलाई दलहरुले गाठो पारिसकेका छन, हामी प्रत्येक दिशाहरु स्पष्ट रूपमा चिन्न सक्छौ । तर यस सम्बन्धिमा चु सम्म बोल्दैनौ । हामीलाई यति थाहा छ कि – मान्छे एक सामाजिक, धार्मिक प्राणी भएकै कारणले उसले मात्र मान – सम्मान प्राप्त गरेर विश्वकै ठूलो मान्छे बनेको छ ।
मान्छेले अविष्कार नगरेको केही छ अवस्य पनि छैन किनकि उसले यान्त्रिक उपकरण, अणुबम विभिन्न हात हतियार, खरखजानादेखि लिएर विभिन्न वस्तु तथा पदार्थको तथ्यगत अनुसन्धान गरेर एकमात्र यान्त्रिक उपकरणको आविष्कार गर्नेपनि उनै हुन । हामी आफै अनुमान गरौं कि हामी विश्वको कुनै एक कुनामा बसेर यो संसार नियाल्न सक्छौ, त्यो प्रविधिको बिकास गर्नै तिनै श्रमजीवी मान्छेहरु हुन । मान्छे एक अदभूत प्राणी हो जसले गर्नै नसक्ने काम सहज रूपमा गर्न सक्दछ । इतिहासमा जे – जे घटनाहरु घटे सबै मान्छेको अदभूत शक्तिले गर्दा सम्भव भएको हो । हामीले कल्पना गर्ननसकेका, सोच्नै नसकेका कामहरु मान्छेले गर्न सकेको छ । यसकारणले पनि मान्छे जादुगर हो, बैज्ञानिक हो, भविष्य बिधाता हो, सृष्टिकर्ता भनेकै मान्छे मात्र हो भनेर सोझै भन्न सकिन्छ । तर यो हुँदाहुँदै जान्दाजान्दै पनि मान्छेले आज सही दिशाबोध गर्न भने सकेन दिमागमा खालि शैतानी खेल खेल्न उद्दत छ । यो करोडौं – करोडको दिमागमा खालि नकारात्मक सोच र चिन्तन राखेर अघि बढ्ने प्रयत्न अहिलेसम्म गरिरहेको छ । सहीलाई सही, गलतलाई गलत छुट्ट्याउन सकेन । खाली अर्कोलाई लडाउने, उराल्ने, मैमत्ता बन्ने साघुरो सोच राख्ने मान्छे बन्न थाल्यो । मान्छेको बाहिरी रुपमात्र राम्रो भएर के गर्नु ? उसको भित्री रुप, आवरण बोलेको र सोधेको प्रश्नको उत्तर सही ढंगले दिएको भरमा यो मान्छे नैतिक रुपमा राम्रो छ या छैन त्यो एकिन गर्न सकिन्न, हेरेकै भरमा ।
आज बाहिरी रुपबाट सज्जन र भलादमीको रूपमा हेरेका मान्छेहरुनै क्रुर हत्यारा, आपराधिक गतिविधिमा संलग्न रहेको थुप्रै प्रमाण भेटिएका छन । मान्छेको मन गम्भीर, व्यापक र जटिल छ यो सहजै बुझ्न भने सकिन्न । कुनै गोप्य कुरा नसुनाउनु भनेका कुराहरु तुरुन्तै सुनाएर घरझगडा भएको तीतो यथार्थ भिडियोहरु हामी प्रशस्तै देख्न सकिन्छ । नबुझेको, नजानेको कुराहरू कुरै नबुझी त्यसै बोल्नु हुन्न भन्ने कुरा जानिजानी बुझ पचाउछ, मान्छे । मनभित्र कुरा गुम्स्याएर, छलेर, ढाटेर, कालो धन्दा गरेर, लुटपाट गरेर कालो धनार्जन गर्न सम्म पछि हटदैन मान्छे । मान्छेको जीवन रेखानै उसको नैतिकमा झुलिरहेको हुन्छ । यसको स्खलनले ब्यक्तिलाइ होइन, समग्र घरपरिवार, राष्ट्र र समाजलाई खलल पुर्याउछ । मान्छेहरुले मनन गरेर अघि बढ्नुपर्ने कुराहरुमा मनोमानी, लोकप्रियतावाद, शङका, गालीगलौज, आरोप – प्रत्यारोप यी सबैलाइ समयानुकुल शिरोधार्य गरेर, बुझेर मात्र गन्तव्यका यात्राहरु तय गर्नुपर्छ । यसोगर्दा मात्र सत्कर्म पुरस्कृत हुन्छ अनि दुराचार निरुत्साहित हुन्छ । यहाँ नैतिकताका प्रश्नै – प्रश्नहरु बग्रेल्ती छन तिनीहरूलाई मनन गरेर अघि बढ्न सकेमात्र मान्छेहरुले गन्तव्य पहिल्याउन सक्दछ । यदी मान्छेले सही दिशा पत्ता लगाएर नैतिकतालाई बन्धक नराखी अघि बढ्नका निम्ति मनुस्मृति, शुक्रनीति जस्ता ग्रन्थहरुको अध्ययन गर्नु जरुरी छ । यसैलाई मनन गरि कुकर्मलाई आत्मैदेखि त्यागौ, बढदै गएको मान्छेहरुको नैतिकता माथिको प्रश्नलाई सामाजिक र चेतनशील मान्छेको पहिचान कायम गर्नका निम्ति सबै उठौ, क्रूरतालाइ सदाका निम्ति मनबाटै भगाऔ ।