देश–समाज विचार/वहस स्थानीय स्वास्थ्य

सचेतना र सरल उपचारको दस्तावेज ‘स्वस्थ जीवन’

विमल लामिछाने
प्रकृति विचित्रको छ । संसारमा धेरै मानिस रोगकाकारण दुःखी छन् । हावापानीसँगै फरक फरक ठाउँका मानिसको ब्यवसाय पनि फरक र आफ्नै शैलीको छ । ब्यवसायविना आजको युगमा मान्छे बाँच्न सक्दैन । सबैले प्रयोग गर्ने अन्नबाली, फलफूल र माछामासुपनि विषादीमुक्त छैनन् । मान्छे विषादीरहित खानेकुरा खान चाहन्छ तर अहिले त्यो सम्भवनापनि मानिसको नियन्त्रणभन्दा बाहिर पुगिसकेको छ ।
हरेक मानिस एउटा न एउटा रोग शरिरमा बोकेरै हिँडिरहेको हुन्छ । रोगबाट मुक्ती पाउन मानिसले करोडौ खर्च गरेका हुन्छन् । तर मान्छेले चाहेअनुसार मुक्ती पाउन कसैले सकेका छैनन् । अहिलेको परिवेशमा रोगबाट मुक्ती पाउनु नै मानिसको पहिलो चाहना हुन्छ । आम मानिसको यो चाहना पूरा गर्ने अथक प्रयास गरेका छन् स्वास्थ्य क्षेत्रका धरोहर, दमकस्थित रिता होमियो क्लिनिक सेन्टर दमकबाट सेवा दिइरहेका डा.लेखनाथ न्यौपानेले ।
आम मानिसहरुको यो चाहना पूरा गर्ने उद्देश्यले अथक मेहनतबाट करिव तीनदशक लामो अध्यायन र अनुभवपछि तयार पारिएको डा. न्यौपानेको ‘स्वस्थ जीवन’ नामक पुस्तक यतिवेला बजारमा आएको छ ।
पुस्तक पढ्दै जाँदा यस पुस्तकले दूरदराजका पाठकलाई पनि सामान्य रोगबारे निशुल्क ज्ञान दिई ठूलो सेवा गर्नसक्ने अधिक सम्भावना देखिन्छ । नेपालका कतिपय गाउँहरु यस्ता पनि छन् जहाँका मानिसले कहिल्यै डाक्टर देखेका छैनन् । आफुलाई के रोग लागेको छ भनेर भन्न नसक्ने अवस्थामा रहेका मानिस पनि भेटिन्छन् । यस्तो अवस्थामा रहेको ग्रामीण क्षेत्रका बिरामीहरुको पनि यो पुस्तकले घरमा नै बसेर होमियोप्याथि पद्धति अपनाएर सरल तरिकाले उपचार गर्न सहयोग पुर्‍याउने सत्यतामा कसैको फरक मत रहन्न जस्तो लाग्छ ।
यो पुस्तकका हरेक पाठहरु पढ्दैजाँदा स्वास्थ्य जीवन (होमियोप्याथि चिकित्सा) पुस्तक लेख्नुको प्रमुख उद्देश्य रोग के हो ? र यसको उपचार विधि कस्तो हुन्छ ? भन्ने विषयमा सर्वसाधारणले बुझ्ने गरी समस्या र समाधान दुवै पक्षलाई केलाएर पाठकसामु पुर्‍याउनु हो भन्ने लाग्छ ।
मान्छेले जीवनमा उपयोगी स्वास्थ्य पुस्तक पढेर र बुझेर सहज उपचार लिन सकुन भन्ने मनसाय लेखकको रहेको पाइन्छ । होमियोप्याथिक चिकित्सा पद्दतिमा फरक—फरक रोगका फरक—फरक उपचारहरु, खानपानको सचेतना, अन्नबाली र फलफूलहरु खाने तरिका, घरमा बनाइने विभिन्न परिकारहरु खाने तरिका र खानेकुराबाट प्राप्त हुने क्यालोरी, क्याल्सियम लगायत भिटामिनहरुले शरीरलाई कस्तो फाइदा पुर्‍याएको हुन्छ र खानेकुरा खान जानिएन भने शरीरमा कस्तो किसिमको रोग निम्तिन्छ भन्ने कुरालाई केर्षा केर्षामा केलाइएएको छ । साथै खानपानमा ध्यान दिन नजान्दा यसले पुर्‍याउने असरलाई पनि लेखकले यस पुस्तकमा अनुभवसहित प्रस्तुत गरेका छन् ।
एउटा पाठ पढेपछि अर्को पाठ र त्यसपछि अर्को पाठ गर्दागर्दै पुस्तक सबै नछिचोलेसम्म पुस्तक बन्द गर्न मन लाग्दैन । पुस्तकका कतिपय विषयहरुमा रोग निवारणहरु सम्बन्धि दिएका उदाहरणहरुले लेखकको प्राकृतिक चिकित्सासम्बन्धि अनुभव र बिरामीको अवस्था हेरेर उपचार गर्ने विधिलाई मसिनो गरी व्याख्या गरिनुका साथै उदाहरण दिएर प्रष्ट्याउन भरपूर कोशिस गरेको पाइन्छ । जसले पाठकलाई यति मजाले घोत्ल्यिाउछ कि पढ्दै जाँदा टेवलमा राखेको चिया पिउन पनि विसिन्छ ।
करिब ३ दर्जनभन्दा बढी विषयहरुमा छुट्टाछुट्टै उपचार पद्धति र लक्षणहरुसहितको उपचारविधिका बारेमा यस पुस्तकमा बताइएको छ । यो पुस्तक पढेर आफुमा भएका विभिन्न रोगहरुको जानकारी लिनुका साथै उपचारका बारेमा अन्य जानकारी लिन र सचेतना अपनाउन यो पुस्तक उपयोगी देखिन्छ ।
होमियोप्याथिक सम्बन्धि उपचारविधिमा विशेष जोड दिएर लेखकले होमियोप्याथिक चिकित्सा केहो ? औषधीले कसरी रोगी निको पार्छ ? औषधी के—के बाट कसरी बन्छ ? कुन आधारमा बिरामीलाई औषधी दिने ? रोगका कारण र उपचारविधि होमियोप्याथिमा अरुभन्दा फरक के छ ? होमियोप्याथिक औषधी सेता दानामा नै किन दिइन्छ ? औषधीको डोज, नेपालमा यसको विस्तारलगायत विषयहरुमा बेग्लाबेग्लै तरिकाको उपचारविधि सहित पाठकको चित्त बुझ्नेगरी यस पुस्तकमा उतारिनुले बिरामी र पाठक दुवैको लागि अभ्यस्त र विश्वसनीय नमूना संग्रहको रुपमा यो पुस्तकलाई लिन सकिन्छ ।
यस्तै लेखकले अन्य विषयहरुमा छालासम्बन्धि बाह्य रोग, ग्यासष्ट्रिक, अल्सर, निन्द्राको समस्या, बाथरोग, ढाड कम्मर दुख्ने र नशा च्यापिएको, मुसा र खिलको सरल उपचार, पथरिया र पिसाब संक्रमणमा होमियोप्याथिको भूमिका, यौन कमजोरीमा होमियोप्याथिको प्रभाव, मृगौलाको समस्या, नाक, कान र घाँटीको समस्या हुँदा के गर्ने ? स्वाशप्रश्वासका बिरामीमा हुने लक्षण र उपचारविधि, जेष्ठ नागरिकलाई लाग्न सक्ने विभिन्न रोगहरु र होमियोप्याथि उपचार पद्धतिको बारेमा सर्वसाधारणले सरल भाषामा बुझ्नेगरी यस पुस्तकमा उतारिएको छ । यसैगरी स्त्रीरोगमा होमियोप्याथि, बालबालिकामा लाग्न सक्ने रोग र उपचारविधि, मानसिक समस्या र छालासम्बन्धि रोगको उपचारविधि, आँखाको समस्यादेखि क्यान्सरसम्मको समस्या हुँदा होमियोप्याथि पद्धतिबाट उपचार गर्न सकिने तरिकाहरु र रोगबाट बच्ने उपायहरुसमेत व्याख्या गरिएको यो पुस्तक प्रत्येकका घरमा एक—एक वटा सँधैभरी रहनेगरी संग्रह गर्नुपर्ने अवस्थासम्म पाठकलाई उत्प्रेरित गर्न लेखक सफल भएको महशुस हुन्छ । यसको मतलब यो कि लेखकले होमियोप्याथी उपचारविधिले सजिएको औषधीको पहाड नै पस्किदिएका छन्, अब कति सदुपयोग गर्ने त्यो तपाईँ विरामी र पाठकमा भर पर्छ ।
लेखकले होमियोप्याथि औषधीहरु गाउँघरमा पाइने जडिबुटीबाट बनेका हुन्छन् । वनस्पतिमा पाइने विभिन्न प्लान्टहरु औषधीका मूख्य स्रोतहरु हुन् । होमियोप्याथि औषधीहरु गुण र घुलनशीलताका आधारमा तयार पारिन्छ भनेका छन् भने यस पद्धतिबाट बिरामीलाई पीडारहित उपचार दिन सकिने, बिरामीको लक्षण, स्वभाव र निन्द्रा, इच्छा, चाहना, रिस, डर, प्रेम, भावना आदि हेरेर नै डिटेल जानकारी लिन सकिने र सोही अनुसार बिरामीलाई कष्ट नभइकन र औषधी खाएको महसुस नभइकन क्रमिक रुपमा उपचार हुने पद्धतिको रुपमा लेखकले होमियोप्याथि उपचारलाई मसिनो गरी व्याख्या गरेका छन् ।
प्रश्तुत कृतिमा होमियोप्याथी औषधीले कठिनभन्दा कठिन पक्षघात सहजै निको पार्न सक्छ । मस्तिष्कघातमा मस्तिष्कमा जमेको रगत फटाउन होस या आँखामा जमेको रगत फटाउन या अन्य भागमा जमेको रगत फटाउनसमेत उपयोगी हुने कुरा लेखकले ‘आँखाको समस्यामा होमियोप्याथी शीर्षक’मा लेखेका छन् । लेखकले अन्त्यमा ‘जाँदाजाँदै पढौं र मनन् गरौ’ भनेर धेरै विषयवस्तुहरु मानिसमा भइरहने विभिन्न रोगहरु र यसको सरल उपचारविधिका बारेमा बताएका छन् । यो विषय पनि बिरामी या बिरामी नभएकाहरुले पनि पढ्न सके जीवनका हरेक उतारचढावहरुमा प्रयोगमा ल्याउन सकिने सरल र व्यवहारिक मान्छेहरुलाई पनि जीवनउपयोगी हुने देखिन्छ ।
सन् १७९६ मा जर्मनीबाट सुरु भएको होमियोप्याथिक चिकित्सा पद्दति संसारका सबै देशमा फैलिएको छ । सुरक्षित चिकित्सा पद्दतिका रुपमा फैलिनु यो चिकित्सा विज्ञानको राम्रो पक्ष हो । यो विज्ञानमा रोगका कारण ब्याक्टेरिया, भाइरस, फंगस या कुनै परजिवी मात्र मानिदैन । रोगको मुख्य कारण भनेको त हाम्रो शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताको कमी हुनु हो । पुस्तकमा भनिएको छ ।
यो पुस्तकको बारेमा डा.प्रा.गोविन्दराज भट्टराई, प्रा.डा.भीम खतिवडा, लेखक पत्रकार दामोदर न्यौपाने, लेखक एवम् सञ्चारकर्मी गोपीकृष्ण ढुंगाना र साहित्यकार तथा कवि विष्णु न्यौपानेले पुस्तकको प्रशंसा र प्रकाशन सफलताको शुभकामना लेखेका छन् भने ‘सरल र सहज उपचार खोजिरहनुभएका आरोग्य चाहनुहुने र जिज्ञासुमा समर्पित’ यो पुस्तक भूँडीपुराण प्रकाशनले छापेको हो । १५७ पृष्ठ रहेको यो पुस्तकको मुल्य ३९० रुपैयाँ मात्र रहेको छ ।
डा. न्यौपानाले ‘स्वास्थ्य जीवन’बाहेक सरल होमियोप्याथी चिकित्सा प्रणाली, छोरा उपन्यास, हराएका अनुहार कथा संग्रह, स्वस्थ कसरी रहने लेख संग्रह, मेरो देश लगायत पुस्तकहरु प्रकाशन गरि पाठकसामु पुर्याइसकेका छन् । विभिन्न रोगसम्बन्धि जानकारी र उपचारविधि सहितका १५ सयबढी लेख रचनाहरु विभिन्न सञ्चारमाध्यममा प्रकाशन र प्रशारण भएका छन् । अहिले पनि लेखकको कलम जिवितै छ । ‘स्वस्थ्य जीवन’ (होमियोप्याथि चिकित्सा) नामक पुस्तकसहित आगामी दिनहरुमा पनि यस्तै आम मानिसको भरोसायोग्य पुस्तकको अपेक्षासहित लेखनयात्रा सफलताको शुभकामना ।

Author

You may also like