दमक/ दमक नगरपालिकामा आयोजित एक दिने निःशुल्क आँखा शिविरबाट ५ सय बढी बिरामी लाभान्वित भएका छन् । दमक नगरपालिकाको आयोजना तथा मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा सो शिविर आइतबार सञ्चालन गरिएको हो ।
दमक नगरक्षेत्रका असक्त, ज्येष्ठ नागरिक, शारीरिक अपांगता, विपन्नलाई लक्षित गरी नपाको प्राङ्गणमा सो शिविर सञ्चालन गरिएको दमक नगरप्रमुख रामकुमार थापाले बताए । साथै दमक नपाकी उपप्रमुख रेगिंना प्रसाई भट्टराईले शिविरमा उपस्थित सबैलाई स्वागत गर्दै नगरबासीको स्वास्थ्योपचारका लागि नपाले विभिन्न कार्यक्रम गर्दै आएको बताएकी छिन् । शिविरमा आउनेहरुको निःशुल्क आँखा परिक्षण, आवश्यक पर्नेहरुलाई चस्मा र औषधि वितरण, परिक्षण पश्च्यात उपचार आवश्यक पर्नेहरुलाई नगरपालिकाको सिफारिसमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया समेत गरिदिने नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख ब्रजेश मेहताले बताए ।
शिविरमा चेकजाँचका क्रममा मोतियाबिन्दु भएका बिरामीलाई चिकित्सकले अस्पतालमा बोलाएका छन् । उनीहरु सबैको अस्पतालमै निःशुल्क शल्यक्रिया हुने बताइएको छ ।