देश–समाज सम्पादकीय

कहिलेसम्म धान्ने रेमिट्यान्सले अर्थतन्त्र ?

कामको खोजीमा नेपाली युवा युवती विदेसिनु सामान्य भइसकेको छ । गरिब देशका मानिसहरू काम गर्न धनी देश जान्छन् । उनीहरूले काम गरेबापत पाउने मुद्रा अफ्ना देश पठाउँछन् । त्यसरी आफ्नो देशमा पठाएको मुद्रा नै रेमिट्यान्स हो । अर्थात, कुनै एक देशका नागरिक अर्को देशमा गई आर्जन गरेको रकम बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीहरू मार्फत् स्वदेशमा पठाउने कार्य रेमिट्यान्स हो ।
नेपालीहरु विदेशमा रोजगारीका लागि जान थालेसँगै रेमिट्यान्स
(विप्रेषण आप्रवाह) वि.सं. २०५२ को अन्त्यतिरबाट नेपाली अर्थतन्त्रसँग जोडिएको पाइन्छ । नेपालमा पछिल्लो ९ महिना (साउनदेखि चैतसम्म) मा मासिक १ खर्ब ३२ अर्ब ३६ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको तथ्यांक छ ।
पुरुषहरुको तुलनामा त महिला कामदार बाहिर जानेको संख्या कम नै छ । तथापी पनि पछिल्लो समय महिलाहरु पनि कामदारको रुपमा बाहिर जानेको संख्या बढीरहेको पाइन्छ । वैदेशिक रोजगारीको खोजीमा जाने महिला कामदारको सूचिमा देशकै पहिलो नम्बरमा झापा रहेको पाइन्छ । वैदेशिक रोजगारीमा जानेलाई परामर्श गरिरहेको सुरक्षित आप्रवास कार्यक्रम चलाइरहेको भद्रपुर कार्यालयले सार्वजनिक गरेको तथ्यांकले झापाली महिलाहरू कामको खोजीमा विदेश जाने उच्च दर देखाएको छ ।
चालु आर्थिक वर्षको पछिल्लो विवरण अनुसार झापाबाट रोजगारीका लागि विदेश यात्रा गर्नेको संख्या ३४ हजार ३६२ जना झापाली वैधानिक बाटोबाट वैदेशिक रोजगारीमा गएको देखिन्छ । जसमा १९ दशमलव ५ प्रतिशत अर्थात ६ हजार ६६६ जना कामको खोजीमा विदेश गएका छन् ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१÷८२ को ९ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै चैत मसान्तसम्म ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको जनाएको छ । बैंकका अनुसार रेमिट्यान्स १० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष सोही अवधीमा १७ दशमलव २ प्रतिशत बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स ८ अर्ब ७४ करोड भित्रिएको हो । जुन ७ दशमलव ३ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ ।
चालु आव ९ महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५८ हजार २२ छ । यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने २ लाख ४९ हजार ६ सय ५२ पुगेको छ । मुलुकभित्र रोजगारीका पर्याप्त अवसर नहुँदा श्रमशक्तिको उचित उपयोगका लागि वैदेशिक रोजगारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । वैदेशिक रोजगारीको अवस्था सधैँभरि स्थिर रहन्छ भन्न सकिँदैन । यस्तो निर्भरतालाई न्यूनीकरण गर्नका लागि आहिलेको समयमा वैदेशिक रोजगारीबाट प्राप्त पुँजी, सीप र ज्ञानलाई आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धिमा परिचालन गर्नुपर्ने आवश्यकता देखिन्छ । रेमिटेन्सको भरमा देशको अर्थतन्त्र कहिलेसम्म धान्ने ? सोचनीय भएको छ ।

Author

You may also like