देश–समाज सम्पादकीय

लोपोन्मुख जातीको संरक्षणको खाँचो

विभिन्न जातजाति र भाषाभाषीका जातिय परम्परा, संस्कार, संस्कृति, वेशभुषा, रहनसहन, रीतितिथिलाई संरक्षण गर्नुपर्ने दायित्व बढेको छ । समाजमा देखिने पुराना संस्कार, संस्कृतिहरु पछिल्लो समयमा आधुनिकताको नाममा लोपोन्मुख हुँदै गएको छ । कतिपय जातिहरुले अझै पनि पुरानै संस्कृति बमोजिम समाजमा व्यवसायिकतातर्फ उन्मुख रहेका देखिन्छन तर बिस्तारै तिनीहरु लोपोन्मुख अवस्थामा रहेका छन् । धार्मिकता, ऐतिहासिकतासँग जोडेर विभिन्न संस्कार र संस्कृति बोकेर गाउँघरमा आउने त्यस्ता जातीय व्यक्तित्वहरु विगतको भन्दा धेरै कम भईसकेको छ । चाहे त्यो जोगी भनौं वा गन्दर्व वा कुसुण्डे (पुलती) खेलाउने मान्छेहरु । कुसुण्डे लोप भएर गईसकेको छ । गाउँघरमा आएर हातमा पुलती नचाएर दैनिक चलाउने र बालबालिकादेखि बृद्धबृद्धासम्मलाई मनोरञ्जन प्रदान गर्ने गर्दथ्यो । आजकल त्यो देखिँदैन । तर घरघरमा फेरी लगाएर हिंड्ने जोगी र सारंगी रेटेर जीविका चलाउने गन्दर्वहरु भने यदाकदा भेटिन्छन । तर उनीहरुको पेशा नै संकटमा परेको र युवाहरुले अंगिकार नगरिदिँदा लोप हुने अवस्थामा पुगेको बताउने गरेका छन् ।
भर्खरै मात्र दमक–७, सयपत्रि टोलका अर्जुन जोगी घरघर डुल्दै दान माग्दै हिंडेको अवस्था जम्काभेट हुँदा गरिएको कुराकानीमा उनले पनि पेशा जोगाउन नसक्ने अवस्थामा पुगेको बताए । उनले त्यतिमात्र नभएर रातमा फेरी लगाएर हिंड्दा आफु दूव्र्यसनीबाट लुटिने गरेको समेत खुलासा गरे । जोगीहरू रातभरि फेरि फुक्ने परम्परा निर्वाह गर्दै आएका छन्, तर एउटाले राती फेरी लगायो बिहानै अन्य व्यक्तिहरू जोगिको भेषमा आएर दान संकलन गरेर लाने गरेको दुखेसो पनि पोखे । फेरी लगाएको घरको रक्षा हुने र भूत÷प्रेत नआउने जनविश्वास दिलाएका जोगीहरुलाई पेशागत रुपमा बाच्न गाह्रो भएको बताउँछन् । विशेष गरेर जोगीहरुको मुख्य फेरि लगाउने महिनाका रुपमा कार्तिक र चैतलाई लिने गर्दछन् । यी दुई महिना जोगीहरूको लागि विशेष महिना रहेको पनि उनले बताए । सांस्कृतिक, धार्मिक तथा परम्परागत रुपमा पनि यी दुई महिना आम नागरिकका लागि जोगीलाई दान दिएमा पुण्य प्राप्ति हुने, दुःख, कष्ट हरण हुने विश्वास पनि रहिआएको छ । यि र यस्ता अनेकन जातजाति छन जसलाई संरक्षण र सम्बर्धनको खाँचो छ । यिनीहरुको अध्ययन र अनुसन्धानको खाँचो पनि छ ।
लोपोन्मुख र अल्पसंख्यक जातिहरुको कसरी संरक्षण गर्न सकिन्छ भन्ने सवाल यतिखेर निकै चुनौतिको विषय बन्दै गएको छ । पूर्वी तराईका जिल्लाहरु जस्तै झापा, मोरङ, सुनसरीमा लोपोन्मुख अवस्थामा रहेको एउटा चिनिएको जाति हो, सन्थाल । सन्थाल जातिको मौलिक परम्परा, भेषभुषा, संस्कार, संस्कृति पृथक छ । उनीहरुको कहलिएको सन्थाल नाच सबै जातिजातिहरुबीच ख्यातिप्राप्त छ, त्यो नाच त्यतिकै आकर्षक र रोमाञ्चक पनि छ ।
जोगी, गन्दर्व, सन्थालमात्र होइन, विभिन्न ९८ जातिहरु अल्पसंख्यकको सूचीमा रहेका छन्  । कूल जनसंख्याको ० दशमलव ५० प्रतिशत अल्पसंख्यक जातिहरुको संख्या रहेको छ । यो जनसंख्यालाई राज्यको मूल प्रवाहमा ल्याउने दायित्व सबै राजनीतिक दल, सामाजिक संघ संस्था, नागरिक समाज, तीन तहका सरकारहरु र अन्य सरोकारवालाहरुको हुनुपर्छ  । केवल उनीहरुको संस्कार र संस्कृति अनुपम भनेर रमाउने र तर राज्यका तर्फबाट कुनै विशेष कार्यक्रम र बजेट नल्याउने परिपाटीले अवस्था बदल्ने होइन, यथास्थितिमै राखिरहन्छ । मोरङको उर्लाबारी नगरपालिकाले भने यतिखेर सन्थाल जातिलाई उनीहरुको परम्परागत पोशाक बनाउने तालिम र सीप सिकाएर सो जातिको मानिसहरुलाई व्यावसायिक बनाउने कामको थालनी गरेको छ । यो केवल सन्थालका लागि मात्र होइन, अन्य जातिका लागि पनि गरिनुपछ । र, राज्यका सबै तहका सरकारहरुले पनि यस्तो कार्यमा आवश्यक जोडबल गर्नुपर्छ । तब मात्र अल्पसंख्यक र लापोन्मुखहरुका लागि केही गरेको ठहर्छ  ।

Author

You may also like