सोमबारको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौन र यौनकर्मीका कुरा उठाए । उनले यौन व्यवसायलाई कानुनी मान्यता दिन माग गरेका थिए । उनले त्यो व्यवसायलाई आयआर्जनसँगै पर्यटनसँग जोडेर प्रस्ताव राखे । त्यसको प्रतिवादमा सांसदहरु उत्रिए । खास गरेर राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बहादुर सिंहले घिमिरेको उक्त मागप्रति आक्रोस नै पोखे । मानिसको जीवनसाग जोडिएको शब्द हो यौन । यौनका विषयमा समाज खुल्ला भईसकेको छैन । यौन र यौनिकताका विषयमा अझै धेरै समाजलाई शिक्षाको आवश्यकता रहेको छ । हरेक सहरबजारमा यौनकर्मीहरुको लाईन लाग्ने गरेको छ । यौनको सोच राखेर हिंडेका वा त्यो सोच नभएका जो कोहीलाई त्यस्ता स्थानमा पुग्दा यौनकर्मीले निम्ता गर्ने गर्दछन । उनीहरु खुलेरै पैसाका लागि यौनधन्दामा सबै वर्गका पुरुषहरुलाई सामेल गराउने गरेका छन् । यो पेशाका लागि उनीहरु अलिकति पनि हिचकिचाउँदैनन तर समाजमा यौनका कुरा गर्दा पाच्य हुँदैन र हत्तपत्त बोल्न पनि सकिँदैन । सिनेमामा देखाइएका यौनका सिनहरु परिवार, आफ्ना आफन्त बसेर हेर्न सक्ने समाजको निर्माण अझै भईसकेको छैन ।
यौन तथा यौनिकताको सम्बन्ध मानिसको शारीरिक, भावनात्मक, सांस्कृतिक, सामाजिक र व्यावहारिक पक्षसँग जोडिएको हुन्छ । मानवले यौन व्यवहारसँग राख्ने सम्बन्ध नै यौन शिक्षा हो । यौन शब्दले जैविक गुणलाई जनाउँछ, जसले हामीलाई पुरुष र महिला भनी छुट्याउन मद्दत गर्छ । यौनिकता भनेको यौन र यौन व्यवहारसँग सम्बन्धित हाम्रा विचार, मूल्यमान्यता, भावना र व्यवहार हुन् । यौनिकतामा खास गरी यौन सम्बन्धका बारेमा हाम्रा विचार, यौनसम्बन्धी हाम्रा मूल्यमान्यता तथा धारणा, यौनका सम्बन्धमा हाम्रा दृष्टिकोण र त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा पर्छन् । त्यसैले पनि यौनिकताका बारेमा हामी सबै जानकार हुनु आवश्यक छ । यौनका विषयमा समाज खुल्ला नभइदिएको कारणले नै हरेक दिन विभिन्न स्थानमा यौनसँग जोडिएका अपराधिक घटनाहरु घटिरहेका छन् । यौनप्रतिको युवापंक्तिमा देखिएको उत्सुकता नसमेटिँदा वा यौन शिक्षा प्रभावकारी नभईदिँदा समाजमा यौनसँग जोडिएका घटना परिवारदेखि समाजसम्म जेलिएको छ । यौन व्यवसायलाई एउटा निश्चित क्षेत्राधिकारभित्र राखेर रेडजुनको रुपमा प्रयोग गर्न दिन आवश्यक देखिन्छ ।
किशोरकिशोरीलाई यौनिकताका बारेमा जानकारी दिँदै वयस्क अवस्थामा परिवर्तन गराउनु ठुलो चुनौती बनेको छ । घरमा होस् या विद्यालयमा यौनिकताका बारेमा खुलेर छलफल नहुँदा किशोरकिशोरीले आफ्नो जीवनमा आएको भौतिक परिवर्तनका बारेमा जान्न विभिन्न वैकल्पिक माध्यम प्रयोग गरिरहेका छन् ।
अहिले किशोर किशोरी विभिन्न प्रकारका सञ्चारका माध्यमबाट यौनिक सामग्रीसम्मको पहुँचलाई बढाइरहेका छन् । यस्ता सञ्चार माध्यमबाट आवश्यक पर्ने यौनिकतासम्बन्धी ज्ञान र सिप लिन बाध्य छन् । यसरी ज्ञान र सिप लिँदा चाहिने चिजको मात्र ज्ञान लिए त ठिकै हो तर यसको दुरुपयोग गरेर अनावश्यक यौनका सामग्रीमा पहुँच पु¥याएमा किशोरकिशोरी गलत बाटोतर्फ लम्कन पनि सक्ने सम्भावना छ । यसतर्फ हामी सबै सजग र सचेत बन्दै यौन र यौनिकताका बारेमा शिक्षा आवश्यक देखिन्छ भने यौन पेशामा लागेका यौनकर्मीहरुको व्यवस्थापनको समेत उत्तिकै खाँचो रहेको छ ।

Author

You may also like