दमक । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ३८ आंगिकसहित करिब ३ सय सम्बन्धनप्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार ६५ प्रतिशत विद्यार्थी मतदानमा सहभागी भएको प्रारम्भिक अनुमान छ । १८ आंगिक क्याम्पसमा भने निर्वाचन हुन सकेका छैनन् । यी क्याम्पसमा तत्काल निर्वाचन गर्न त्रिविले निर्देशन दिएको छ । काठमाडौं उपत्यकाका २२ मध्ये ११ क्याम्पसमा पनि निर्वाचन हुन सकेन । काठमाडौंका आरआर, त्रि–चन्द्र, पाटन, पद्यकन्या, अस्कल, सरस्वती, पब्लिक युथ, विश्वविद्यालय क्याम्पसमा नै निर्वाचन हुन नसकेको हो । पोखराको पृथ्वीनारायण क्याम्पसमा पनि निर्वाचन हुन सकेन । पृथ्वीनारायणमा बुधबार, पद्यकन्यामा बिहीबार र विश्वविद्यालय क्याम्पसमा शुक्रबार निर्वाचन हुने कार्यतालिका घोषणा गरिएको छ ।
झापाका १३ सहित कोशी प्रदेशका क्याम्पसमा मंगलवार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको हो । झापाका १३ वटा क्याम्पसमा निर्वाचन प्रतिष्पर्धामा ३३२ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । झापामा १३ हजार ३१९ जना विद्यार्थीहरुले स्ववियू निर्वाचनमा सहभागी भएका छन् । कतिपय स्थानमा सहमतिमै समिति बनेको छ भने कतिपयमा निर्वाचन भएको छ । पूर्वसन्देशलाई प्राप्त खबर अनुसार विभिन्न क्याम्पसहरुका निर्वाचन परिणाम प्राप्त भएको छ ।
गौरीगञ्ज क्याम्पसमा नेविसंघका यादव विजयी
झापाको जिल्लाको गौरीगञ्जस्थित गौरीगञ्ज बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू ) निर्वाचनमा सत्तारुढ विद्यार्थी संगठनको गठबन्धन प्यानल विजयी भएको छ ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट अनेरास्ववियूको संयुक्त गठबन्धन विजयी भएको हो ।
क्याम्पसको ३३ बर्षे इतिहासमा पहिलोपटक सत्तारुढ दुई संगठन नेविसंघ र अनेरास्ववियूले गठबन्धन निर्माण गरेको थियो ।
स्ववियू सभापतिमा नेविसंघका रोशन यादव विजयी भए । उनले ४६ मत ल्याएर विजयी हुदाँ उनका प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार लालदेव यादवले २९ मत र अखिल क्रान्तिकारीकी मेहिनीकुमारी राजवंशीले २२ मत प्राप्त गरिन् ।
सचिवमा ४२ मत प्राप्त गरि अनेरास्ववियूका डिल्लीराज पौडेल विजयी भए । उनका प्रतिद्धन्दी स्वतन्त्र उम्मेद्वार अभिसेक राजवंशीले २४ मत र अखिल क्रान्तिकारीका रोहितकुमार ठाकुरले २२ मत ल्याएका छन् ।
कोषाध्यक्षमा सोहि गठबन्धनकै मुजेफर मियाले ३९ मत प्राप्त गरि विजयी हुदाँ उनका प्रतिद्धन्दी स्वतन्त्रकी तिलकुमारी यादवले २४ र अखिल क्रान्तिकारीकाी लिजा गिरीले ३३ मत प्राप्त गरेकी थिईन् ।
यसैगरि, सदस्यहरुमा दिल्ली राजवंशी (४८ ), युगेश कटुवाल (५१ ), इसाकुमारी राजवंशी (३८) मत प्राप्त गरि विजयी भईन् ।
निर्वाचनमा नेकपा माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको प्यानल र स्वतन्त्र विद्यार्थीहरुको छुट्टै प्यानल निर्वाचनमा प्रतिष्पर्धी थिए । १ सय मतदाता रहेको सो निर्वाचनमा ९७ मत खसेको थियो ।
यसैगरी, मोरङ विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा २ हजार ६३१ मत खसेको छ ।
विहान ८ बजेबाट सुरु गरिएको मतदान दिउँसो ४ बजेसम्म तय गरिएको थियो । उक्त अवधिमा ५ हजार ९८४ जना मतदातामध्ये ४३।९३ प्रतिशतले मात्रै मतदान गरेका हुन् । मतदानमा ३ हजार ६२३ जना विद्यार्थी अनुपस्थित रहे । निर्वाचनका लागि १५ वटा मतदानस्थल बनाईएको थियो ।
निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका थिए । आजै सर्वदलीय बैठक बसेर राती ८ बजेदेखि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।
यस्तै विराटनगरको स्नातकोत्तर (डिग्री) क्याम्पसको स्ववियु निर्वाचनमा ३९८ मत खसेको छ । क्याम्पसमा कुल ६२७ विद्यार्थी मतदाता थिए । उता नर्सिङ क्याम्पस विराटनगरमा भने ३३३ विद्यार्थीमा ३१५ जनाले मतदान गरेका छन् ।
यसैगरी, मोरङको केराबारी गाउँपालिकास्थित खदम क्याम्पसमा सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा एमाले निकट अनेरास्ववियुका संगम कन्दङ्वा निर्वाचित बन्नु भएको छ ।
मंगलबार सम्पन्न निर्वाचनपछि भएको मतगणनाबाट कन्दङ्वाले ५८ मत प्राप्त गरी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका २८ मत प्राप्त गर्ने सिमान्त लुईंटेललाई पराजित गर्नु भएको थियो । पराजित लुईंटेल भने अघिल्लो पटकका सभापति समेत रहनु भएको थियो ।
९१ जना विद्यार्थी मतदाता रहेको खदम क्याम्पसमा ८७ मत खसेको थियो । कोषाध्यक्षमा पनि अनेरास्ववियुकै सन्देश भण्डारी निर्वाचित बन्नु भयो । सो क्याम्पसमा उपाध्यक्ष, सचिव र सहसचिवमा भने नेविसंघका उम्मेदवार सर्वसम्मत भइसकेका छन् ।