नेपालमा हवाई यातायातको इतिहास धेरै लामो छैन । आजभन्दा ७५ वर्ष अगाडि २००६ वैशाख ११ गते पहिलो पटक काठमाडौंको घाँसे गौचरणमा पहिलो जहाज अवतरण गरेको इतिहास छ । तत्कालीन प्रधानमन्त्री मोहनशमशेर जबराको अनुरोधमा उक्त विमान काठमाडौंमा अवतरण भएको थियो ।
यति छोटो अवधिमा नेपालमा सय बढी हवाई यातायातका साधनहरु दुर्घटना भएको इतिहास नेपालमा बनेको छ । हरेक वर्ष एउटा भन्दा बढी हवाई यातायात दुर्घटना हुने र ठूलो संख्यामा मानवीय भौतिक क्षति व्यहोर्नु पर्ने भाग्य र भविष्य नेपाली आकाशले बोकेको छ । विभिन्न निकायले दिएको रिपोर्ट अनुसार अहिलेसम्म ९ सय ६५ जना ज्यान गुमाइसकेको तथ्याङ्क बाहिरिएको देखिन्छ । तर अहिलेसम्म कति विमान दुर्घटनामा परे एकिन तथ्याङ्क छैन । विभिन्न मिडियाले फरक–फरक स्रोतका आधारमा फरक–फरक तथ्याङ्क प्रस्तुत गरिरहँदा सिंगल इन्जिन भएका, अन्तर्राष्ट्रिय उडान र मल्टि इन्जिनसहित ७ दर्जन बढी दुर्घटना भएको निष्कर्ष निकाल्न सकिन्छ ।
नेपालीको नियति पनि बडो अचम्मको लाग्छ । तलबाट यात्रा गरौं जुधेर, पल्टिएर, थिचिएर र पानीमा डुबेर मरिन्छ कि भन्ने डर, सुरक्षित तरिकाले आकाशमा उडेर जाउ भनौं डढेर मरिन्छ कि भन्ने डर । पछिल्लो समय नेपाली आकाश जोखिमपूर्ण र असुरक्षित बन्दै गएको घट्नाक्रमले देखाएको छ । दुर्घटना कसैले गराएर हुने पनि होइन । भवितव्य कसैले जान्दैन पनि तर कतिपय भवितव्य वा दुर्घटना मानवीय त्रुटीका कारणले भएका छन् । यातायातका साधनमा बसेर भगवानरुपी ड्राइभर र पाइलटको भरमा मानिसहरु यात्रा गर्ने गर्दछन् तर त्यो साधन कति सुरक्षित छ वा छैन भन्ने कुरा सम्बन्धित यातायातका प्राविधिकहरुको हुन्छ । प्राविधिक पक्षको कमजोरीका कारणले धेरै दुर्घटनाहरु नेपालमा भएका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको १९ जना सवार सिआरजे २०० जहाजको नियति पनि त्यस्तै भईदियो । अनाहकमा १८ जनाको ज्यान गयो । एक जना विमान चालक क्याप्टेन मनिषरत्न शाक्यलाई उद्दार गरेर घाइते अवस्थामा उपचारमा राखिएको छ । दुर्घटना भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सतिशचन्द लाल सुमनको नेतृत्वमा ५ सदस्यीय छानविन समिति बनेको छ । त्यसको रिपोर्टबाटै दुर्घटनाको कारण थाहा पाइएला तर जुन परिस्थितिमा सौर्यको जहाज उडेको थियो त्यो हेर्दा त्यहाँ प्राविधिक त्रुटि धेरै थिए भन्न सकिन्छ । बिग्रेको जहाज बनाउन लाँदा त्यति धेरै मानिस किन भन्ने प्रश्न उब्जिएको छ । आवश्यक व्यक्तिले मात्र जहाज पु¥याएको भए सम्भवतः यति ठूलो मानवीय क्षति हुने थिएन । बाँकी छानविन समितिको रिपोर्टले देखाउने नै छ । नेपालको हवाई क्षेत्रमा आन्तरिक र बाह्य गरी धेरै ठूला–ठूला दुर्घटना भएका छन । १ माघ ०७९ मा यती एयरलाइन्सको एटिआर ७२ जहाज पोखरामा दुर्घटना हुँदा चालक दलका सदस्यसहित ७२ जनाको निधन भएको दुर्घटना नै आन्तरिक रुपमा अहिलेसम्मको ठूलो मानिन्छ ।
नेपालमा हवाई दुर्घटनाको इतिहास साढे सात दशक पुरानो छ । तर, यात्रुको ज्यान नै जाने गरी भने पहिलोपटक ७० वर्षअघि (३० अगस्ट १९५५ मा) कालिंगा एयरको जहाज सिमरामा दुर्घटना भएको थियो । जसमा दुईको मृत्यु र एक घाइते भएका थिए । आधुनिक उपकरणले सुसज्जित देशकै सबैभन्दा सुविधा सम्पन्न र सर्वाधिक सुरक्षित मानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै पाँच ठूला दुर्घटना भएका छन् । पहिलो ठूलो दुर्घटना १४ जनवरी १९९५ मा तत्कालिन शाही नेपाल वायुसेवा निगमको जहाज दुर्घटना हुँदा २ जनाले ज्यान गुमाएका थिए । २१ अप्रिल २००४ मा बुद्ध एयरको जहाज दुर्घटना हुँदा १ जनाको ज्यान गएको थियो । ४ मार्च २०१५ मा टर्किस एयरको वाइडबडी अवतरणका क्रममा रनवे भन्दा बाहिर जाँदा दुर्घटनामा प¥र्यो तर कुनै मानवीय क्षति भने भएन । तर विमान अड्किएर ४ दिनसम्म विमानस्थल बन्द भएको थियो । त्यस्तै, मार्च २०१८ मा बंगलादेशबाट आएको युएस–बाङ्ला एयरलाइन्सको जहाज पनि अवतरणका क्रममा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा चालक दलसहित ७१ यात्रुमध्ये ५१ जनाको ज्यान गएको थियो । पछिल्लोपटक मानवीय क्षति हुने गरी बुधबार (९ साउन ०८१) सौर्य एयरको जहाज दुर्घटनामा परेको हो ।
नेपालको हवाई क्षेत्र नै निकै भौगोलिक अवस्थाका कारणले सवेदनशील मानिन्छ । यसका अलवा जहाज अवतरणको क्रममा रन–वेबाट चिप्लिने, टायर पड्किने, इन्जिन फेल हुने, आगो निस्कने, ल्यान्डिङ गियर अड्किनेजस्ता कारण र समस्याले साना–ठूला दुर्घटना धेरैपटक भएका छन् । भौगोलिक अवस्था, उडानका क्रममा जहाज अनियन्त्रित हुनु, मिड एयर कोलिजन, मानवीय त्रुटी, पुराना जहाज खरिदलाई विभिन्न विगतका प्रतिवेदनले समेत औंल्याएका छन् । प्राधिकारणको २०२२ को सुरक्षा प्रतिवेदनअनुसार सन् २०२१ मा नेपालको हवाई क्षेत्रमा देखिएका ९८६ जोखिमहरुमध्ये ४३ प्रतिशत संगठनको कारण भएको उल्लेख गरिएको थियो। त्यस्तै, २० प्रतिशत जोखिम प्राविधिक, १८ प्रतिशत वातावरणीय कारण, ८ प्रतिशत मानवीय कारण र ११ प्रतिशत अन्य कारणले गर्दा जोखिम देखिएको प्रतिवेदनमा उल्लेख छ । नेपाली आकाशलाई सुरक्षित, मर्यादित र हवाई उड्यनको सहज गन्तव्यका लागि कडा रुपमा प्रस्तुत हुन आवश्यक देखिन्छ । अब आउने प्रतिवेदन, विगतमा दिइएका प्रतिवेदन र देखिएको वस्तुस्थितिका आधारमा सुरक्षित, भरपर्दो र विश्वासिलो बनाउनुपर्ने दायित्व सरकार र सम्बन्धितहरुको रहेको देखिन्छ ।