सम्पादकीय

खानेकुरालाई रसायनबाट जोगाउन आवश्यक

यो बेला आँप पाक्ने सिजन सुरु छ । तर बजार २ साता अघिदेखि नै पाकेको अवस्थाको देखिने आँप निस्किसको छ । जलवायु परिवर्तनका कारण फलफूल फल्ने र पाक्ने सिजन फरक पर्न थालेको भएपनि आँपको प्रसंगमा भनें अर्कै विषय हो । आँप पनि चाँडै पाक्दै जान थालेको अवस्था भएपनि कृत्रिम रुपमा आँप पकाउने कुराले मानिसको स्वास्थ्यमा प्रक्ष्यक्ष असर पारेको छ । अर्थात यो बेला रसायनिक दबाई हालेर आँप पकाएर ल्याउँदै बेच्दै गरिएको अवस्था बुझेपछि दमक नगरपालिका कार्यालयले त्यस्तो काम नगर्न नगराउन सम्बन्धित पक्षलाई सार्वजनिक सूचना गरेर जानकारी गराएको छ ।

दमक बजारमा अप्राकृतिक रुपमा पकाइएका फलफुलको कारोबार भइरहेको सूचना पाएपछि दमक नगरपालिका कार्यालयले सम्बन्धित व्यवसायीहरुलाई सचेत गराएको छ । विशेष गरी अहिले बजारमा निस्किएको आँप र केरालाई लक्षित गर्दै रसायन प्रयोग परि आँप र केरा पकाएर नबेच्न र त्यस्तो बस्तु नखान दुबै पक्षलाई दमक नगरपालिकाले त्यस्तो सचेत गराएको हो । सिजन सुरु हुनु भन्दा अघि नै बजारमा पाकेका फलपूmलहरु पर्याप्त देखिन थालेपछि उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिएर सचेत गराइएको दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले उल्लेख गरेकी छन् । औषधी हालेर कृत्रिम रुपमा पकाइएका फलपूmलले मानव स्वास्थ्यलाई असर गर्ने भएकोले त्यस्ता फलपूmलहरु बिक्री नगर्न व्यवसायीलाई समेत आग्रह गरिएको भन्दै उनले उपभोक्ताले पनि फलपूmल किन्दा सचेतता अपनाउन सुझाव दिइएको छ ।

नगरपालिकाको अनुगमन समितिले नियमित अनुगमन गरिरहेको भन्दै अप्राकृतिक रुपमा पकाइएका फलफु भेटिए जफत गरिने र त्यस्ता व्यवसायीलाई कारबाही समेत गरिने भन्दै निर्देशन नै दिइएको छ । सूचनामा क्याल्सियम कार्वाइड तथा अन्य मानव स्वास्थ्यका लागि हानिकारक रसायनको प्रयोग गरी पकाइएका आँप, केरा तथा अन्य फलपूmलहरुको बिक्री वितरण नगर्न भनिएको छ । प्राकृतिक रुपमा परिपक्व भएपछि मात्रै त्यस्ता फलपूmलहरु बोटबाट झारेर उपभोक्ता माझ लैजान र प्राकृतिक रुपबाट आँप पकाउँदा बेसार, प्याज र प्राकृतिक धुँवाको प्रयोग गर्न सुझाइएको छ । एउटा लटका सबै आँपहरु एकै प्रकारबाट उस्तै रंगमा पाकेको देखिनु, फलको बोक्रा पहेंलो हुनु तर भित्री फल राम्रोसँग पाकेको नहुनु, फलको प्राकृतिक बास्ना नहुनु, पहेंलो भएर पाकेको फलमाथि कालो धब्बाहरु देखिएमा त्यस्तो फल अप्राकृतिक ढंगबाट पकाइएको हुने पनि जारी सूचनामा उल्लेख छ ।

उपभोक्ताले स्वच्छ र स्वस्थ खानेकुरा खान पाउने अधिकार हनन् गर्न पाइँदैन । बिक्रेताले प्रदुषित खाद्य बस्तु बेच्न पाउँने कुरै हुँदैन । तर पनि बजारमा छ्याप्छ्याप्ती खान अयोग्य अवस्थाका खाद्य बस्तुको निर्वाध जसोगरी बिक्री वितरण भइरहेको देखिँदै आएको छ । पालिकाहरुले यसरी सूचना जारी गरेर केही हदसम्म सचेत गराउन कोशिष गरेपनि यसखाले सूचना र अनुगमन तथा कारबाहीले निरन्तरता पाउँन नसक्दा उपभोक्ताको स्वास्थ्यमाथि व्यापारिक अस्वच्छता हावी भएर वातावरण नै अमानवीय बन्न पुग्ने गरेको छ । यसखाले सचेतनालाई निरन्तरता दिँदै अनुगमन् र कारबाहीको पक्षले अझ निरन्तरता पाउँनु आवश्यक छ । नत्र यस्तै अवस्था दोहोरिइरने हुन्छ । यसका लागि स्वयम् उपभोक्ता नै सचेत हुनुपर्ने अवस्था छ ।

Author

You may also like