प्रकृतिले मानिसलगायत अन्य प्राणी र वनस्पतिलाई खाने, काम गर्ने, आराम गर्ने र सुत्ने अलग अलग समय प्रदान गरेको छ । उसैले समयमा खान, खेल्न, शारीरिक परिश्रम गर्न, रमाउन र गहिरो निद्रा लिएर स्वस्थ रहने व्यवस्था मिलाएको छ । प्रकृतिले मानिस लगायत पशुप्राणी र वनस्पतिलाई बाँच्न र स्वस्थ जीवन जिउन सहज होस् भनेर नै रात र दिन भएको हुनु पर्दछ । जसरी हामीलाई पोषिलो खाना आवश्यक हुन्छ, शुद्ध हावा र पानी आवश्यक हुन्छ त्यसरी नै गहिरो निद्रा पनि आवश्यक हुन्छ । संसारका धेरै मानिसहरु निद्रा नलाग्ने समस्याबाट ग्रसित छन् ।
मानव जाती अरु प्राणी भन्दा धेरै सक्रिय रहने, लामो समय काम गर्ने र सफलता हात पार्ने दौडमा हुन्छ । ऊ रातदिन नभनी काममा व्यस्त रहन्छ । समयमा स्वस्थवद्र्धक खानेकुरा खान र समयमा सुत्न या निदाउँनसम्म विर्सिन्छ । यस्तो मेहेनतबाट उसले आर्थिक र सामाजिक हैसियत त बनाउँछ तर स्वास्थ्य भने धेरैको बिग्रिसकेको हुन्छ । यसै प्रसंगमा दलाई लामाले भन्नु भएको कुरा राख्न चाहन्छु । ‘मानिस सम्पति कमाउन, समाजमा आप्mनो नाम कमाउन रात दिन नभनी काम गर्छ । समयमा खान र सुत्न विर्सिन्छ । खुसी हुन र रमाउन विर्सिन्छ । गहिरो निद्रा लिन विर्सिन्छ । जब शरीर विरामी पर्न थाल्छ, त्यही कमाएको सम्पति लिएर उपचारमा लाग्छ । केही छाडेर धेरैले न जीवनको आनन्द लिन पाउँछन्, न स्वस्थ रहन सक्छन् । अन्त्यमा पैसा पनि सकिन्छ स्वास्थ्य पनि पूर्ण ठिक हुँदैन ।’ हो आजको समयमा धेरै मानिसको यही अवस्था छ ।
निद्रा के हो ? ः
निद्रा एक प्रकारले केही समयकालागि जीवनका सबै कुराहरु विर्सिएर विश्रामको अवस्था हो । प्रकृतिद्वारा नियोजित तथा निर्धारित स्थितिको नाम हो निद्रा । यसलाई कति विद्वानले त एक प्रकारको छोटो मृत्यु हो भनेका छन् । औसत ६ देखि ८ घण्टासम्म निधाउँदा हामी कुनै पनि प्रकारको दुःख, पीडा, भोक, प्यास, स्वासप्रश्वास, धडकन या अन्य केही महसुस गर्न सक्दैनौं । शरीर एक प्रकारले मानौं मृत जस्तो अवस्थामा रहन्छ । तर धिमा रुपमा स्वासप्रश्वास, मुटुको धड्कन, एकदमै कम मात्रामा पाचनक्रिया र शरीररको वृद्धि विकास भने चलिरहन्छ । यो अवस्थामा हामीले हामीभित्र रहेका या गुम्सिएर बसेका जीवनमा कुनैबेला महसुुस गरेका या नगरेका घटनाहरु सपना मार्फत बाहिर आउँछन् । यसलाई आत्माको जागरण भनेर पनि कति विद्वानले व्याख्या गरेको पाइन्छ । त्यसैले निद्रा भनेको शरीर र मनमस्तिष्कको शुद्धिकरण, शक्ति सन्तुलन र रसरागहरुलाई सामान्य अवस्थामा ल्याएर भोलिकालागि नयाँ जीवन प्रदान गर्ने प्राकृतिक नियम हो । निद्रा लगाउने हर्मोन उत्पादन गर्ने ग्रन्थीको नाम हो पिएनएल । यो ग्रन्थी जीवनभर सक्रिय रहन्छ । तर उमेरसँगै केही कम सक्रिय रहँदा वुढेसकालमा कम समय निद्रा लाग्छ ।
निद्रा कसरी र किन लाग्छ ?
यस विषयमा विभिन्न अनुसन्धानहरु गरिए । निदाएका मानिसहरुका शरीरमा अनेक प्रकारका परीक्षणहरु गरिए । शास्त्रहरुको गहिरो अध्ययन गरियो । अन्त्यमा निद्रा हाम्रो शरीरको एउटा महत्वपूर्ण आवश्यकता हो, प्रकृतिद्धारा नियोजित तथा निर्धारित स्थितिको नाम हो भन्ने पत्ता लाग्यो । आजसम्मको अध्ययन र अनुसन्धान अनुसार हाम्रो शरीरमा उत्पादन हुने ल्याक्टिक एसिड नामक तत्वले शरीरमा सक्रियता ल्याउँछ । यसको उत्पादनमा कमी भएमा शरीरमा थकाई महशुस हुन्छ । यो तत्व विशेष गरेर विहान र दिउँसो धेरै उत्पादन हुन्छ र हामी काममा मन लगाउँछौं । अथवा काम गर्न मन लाग्छ । यसको उत्पादनमा कमी आएमा आलश्यता आउँछ । निद्रा लगाउने हर्मोन हो मेलाटोनिन । यो हर्मोन बेलुका हँुदै गएपछि वढदै जान्छ र ल्याक्टिक एसिड कम हुँदै जान्छ । त्यसैले जति बेलुका हुँदैगयो शरीर सिथिल हुदै जाने र निद्रा लागेको महशुस हुन्छ ।
मेलाटोनिन हर्मोनको उत्पादनमा कमि आउने विभिन्न कारण हुन्छन् । आजकल धेरै मानिसमा शारीरक परिश्रम त छँदैछ मानसिक तनाव अनि मादिरा लगायत गरिष्ट भोजन गर्ने अथवा शारीरिक परिश्रम शून्य भएको अवस्थामा पनि यो हर्मोनको निस्कासन कमी हुन पुग्छ । जसका कारण निद्रा नलाग्ने सम्भावना वढी रहन्छ । निद्रा नलाग्ने अरु कारणमा सुत्ने समयको एकरुपता नहुनु हो । सुत्ने समय भनेको साँझ परेपछिको २ घण्टापछि सबैभन्दा उत्तम मानिन्छ । पहिले पहिले यही हुन्थ्यो । मानिसहरु बेलुकाको ८ नबज्दै ओच्छयानमा गई सक्थे । विजुली वत्ती थिएन । टुकी निभाएपछि अन्धकार हुन्थ्यो । जति अन्धकार र सुनसान हुन्छ त्यती नै मेलाटोनिन हर्मोन रिलिज हुन्छ जसले गहिरो निद्रा लगाउन सघाउँछ । तर आजको समय त्यस्तो छैन । खाना खाएको कमसेकम २ घण्टापछि मात्र सुत्नु उत्तम मानिन्छ त्यसभन्दा ढिलो गर्दा त्यतिबेला सम्ममा प्राकृतिक रुपमा निस्कने मेलेटोनिन हर्मोन पनि विचलित हुन्छ । कारण गहिरो र कमसेकम ६ घण्टा सुताई नहुन सक्छ । फेरि विहानको आप्mनो दैनिकी कतिबेला सुरु हुने वाला छ त्यही अनुसार शरीर सक्रिय हुने लेक्टिक एसिडको सिक्रिसन वढ्न थाल्छ । त्यसैले पनि विहान चाडै निद्रा खुल्छ र हामी उठ्न वाध्य हुन्छौं । यसरी दिनैजसो यही क्रिया दोहोरिन गएमा हाम्रो स्वास्थ्य कस्तो होला ? हामी कल्पना गरौ । आजकल ८० प्रतिशत मानिसमा यही चलिरहेको छ ।
निदाउन अपनाइने तरिकाहरु धेरै छन् । जस्तै चाँडै सुत्ने । सुत्ने ओच्छयान सफा र सिरानी पूर्व या दक्षिण हुनु पर्छ । सुत्ने खाट या पलङलाई सुत्नकालागि मात्र प्रयोगमा ल्याउनु पर्छ । धेरै अग्लो र बिझाउने सिनानी हुँनु हँुदैन । सुत्ने कोठामा बाहिरको उज्यालो सकेसम्म नआउने र बत्ति निभाउँदा पूरै अध्यारो हुनुपर्छ । उज्यालो चाहिने नै भए रातो बल्ब राख्नुपर्छ । यसले मेलोटोनिन हर्मोन उत्पादनमा सघाउँछ । सुत्दा साँघुरोगरी या घुर्ने साथी भए निद्रा बिग्रिन सक्छ । सजिलै निद्रा नआउने मानिसले चाडै सुत्नमा जोड गर्नु राम्रो हुन्छ । साँझ परेपछि विशेष गरेर कफी पिउनु हुँदैन । यसले मेलाटोनिनलाई कम गराउँछ । सुत्ने कोठाको तापक्रम १६ देखि २० डिग्री सेल्सियस भएमा उत्तम मानिन्छ ।
सुत्नुअघि मेडिटेसन गर्नु, दुई घण्टा अगाडि मनतातो पानीले नुहाउँनु राम्रो मानिन्छ । सुत्नुअघि सकारात्मक कुराहरु मनमा ल्याउनु, सेवा, दान र अरुको सहयोग जस्ता कुराको सञ्चार भएमा मन खुसी हुन्छ । यसले शरीरमा सकारात्मक प्रभाव वढी देखिन्छ र कोर्टिसोन नामक तनाव वढाउने हर्मोन लेवल शरीरमा घटेर जान्छ । मेलाटोनिन हर्मोन वढेर आउँछ र मिठो निद्रा लाग्छ । कुनै सुन्दर मुभी हेर्ने या सकारात्मक पुस्तक पढने गर्नु पनि निद्रा ल्याउने उपाय हुन् । यसरी नै सुत्ने पोजिसनको पनि ठूलो भूमिका रहन्छ । सबै भन्दा राम्रो देब्रे कोल्टे सुत्नुलाई मानिन्छ । यसले शरीरमा रक्तसञ्चार पनि नियमित राख्छ । मुटुको गति नियन्त्रण गर्छ । पाचन राम्रो हुन्छ र सबै भन्दा राम्रो भनेको गहिरो निद्रा लाग्छ । डराउने सपनाहरु कमै देखिन्छ । दोस्रो उत्तम उत्तानो सुत्नु हो । मोटा मानिस र नाकको समस्या हुनेहरु यो पोजिसनमा घुर्न सक्छन् । तर पनि दाहिने कोल्टे र घोप्टो सुत्नु भन्दा राम्रो मानिन्छ । दाहिने कोल्टे सुत्नु उत्तम मानिदैन । यो सुताइले पाचन विग्रिने र रक्तसञ्चारमा समस्या आउँने हुन्छ ।
वैज्ञानिक अनुसन्धान अनुसार शरीरमा कम र खुकुला कपडा लगाएर सुत्नु पर्छ । अझ विना वस्त्र सुत्नु उत्तम मानिए पनि पूर्वीय सभ्यतामा यसलाई राम्रो मानिदैन । धेरै मानिसमा निद्रा नलाग्ने मनोवैज्ञानिक कारणहरु पनि हुन सक्छन् । वंशानुगत समस्याहरु पनि हुन सक्छन् । कसैलाई डराउने सपना आएका कारण, यौन असन्तुष्टिका कारण, पारिवारिक तनाव या एक्लै बस्नु पर्ने कारणले पनि निद्रा नआएको हुन सक्छ । यस्तो भएमा कारणहरुको विस्तारै सामाधान खोज्नु पर्दछ ।
उमेर अनुसार कति घण्टा निदाउनु पर्छ ?
हुन त हरेक मानिसमा यति नै घण्टा सुत्नु पर्छ भन्ने हुदैन । उसको काम, शारीरिक सक्रियता र खाना अदिमा पनि भर पर्दछ । पश्चिमा मुलुकका धेरै मासिहरु २ देखि ४ घण्टा मात्र निदाउँछन् । बाँकी समय काम र रमाइलोमा विताउँछन् र पनि उनीहरु स्वस्थ देखिन्छन् । तर पनि औसतमा भर्खर जन्मिएको नानी १६ देखि १८ घण्टासम्म निदाउँछ । क्रमशः उमेरसँगै ४ वर्षको बच्चा ११ देखि १२ घण्टा निदाउँछ । विद्यालय जाने बच्चा १० देखि ११ घण्टा युवक ८ देखि १० घण्टा निदाउँछ भने वयस्क ७ देखि ८ घण्टा अनि वुद्धवुद्धा ५ देखि ६ घण्टा औसतमा निदाउँछन् या निदाउनु पर्छ । यसमा पनि गहिरो निद्रा भए केही कम समयले पनि निद्रा पुग्छ ।
त्यसैले निद्रा भनेको जीवनको सबैभन्दा महत्वपूर्ण आवश्यकता हो । कस्तो निदाउँने र कति निदाउँने भन्ने कुरा हाम्रै हातमा हुन्छ । केही असहज अवस्था बाहेक हाम्रो जीवनको मालिक हामी नै हौं । हामीले जसरी चलायो, जे सोच्यो, जे खायो शरीरले त्यसैको प्रतिक्रिया दिने हो । हामीले असल सोच र सामान्य तर सफल जीवन जिउने बाटो अँगाल्यो भने स्वास्थ्य पनि राम्रो रहन्छ । निद्रा पनि गहिरो आउँछ । खुसी जीवन पनि जिउँन सकिन्छ ।
(डा.न्यौपाने दमकका होमियोप्याथिक चिकित्सक हुन् )